ललितपुर, ०७ मंसिर । केहि अस्पतालहरुमा गलत उपचार वा डाक्टरहरुको लापरवाहिका कारण बिरामीको मृत्यु भएका समाचारहरु हामिले धेरै सुन्ने र पढ्ने गरेका छौ । अहिलेको यो माहामारी कोभिड–१९को बेला मृत्यु हुनेको संख्या एकातिर भएतापनि कस्ता डाक्टरहरुले विरामिको हेरचाह गरीरहेका छन् भन्ने प्रश्नचाहिँ उठेको छैन ।
कुनै बेला अस्पताल र डाक्टरलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले निगरानीमा राखेर ठूलो कारबाही नै चलाएको थियो। त्यसबेला सीआईबी प्रमुख थिए हालका नेकपाबाट ललितपुर–१ का प्रतिनिधि सभा सदस्य नवराज सिलवाल ।
दर्जनौ फर्जी प्रमाणपत्रधारी डाक्टर पक्राउ गरिएका थिए जसका गलत उपचारका कारण नागरिकले मृत्युशैया देख्नु परेको थियो। नक्कली डाक्टरहरूको विगविगी बढिरहेको उजुरी दिनप्रतिदिन बढ्दै गएपछि मेडिकल काउन्सिलले सीआईबीलाई अनुसन्धानका लागि अनुरोध गरेको थियो ।
अर्काको नाममा काउन्सिलमा परीक्षा दिन आएकालाई पनि सीआईबीले पक्राउ गरेको थियो। काउन्सिलको परीक्षा हलमा नक्कली विद्यार्थी भेटिनुले नक्कली डाक्टरले कसरी काउन्सिलको प्रमाणपत्र लिन्छन् भन्ने कुराको पुष्टि गरिन्थ्यो ।
यो अप्रेशनमा सीआईबी मात्र केन्द्रित भएन । महानगरीय अपराध महाशाखाले पनि सक्रियता देखायो, र त्यसबेला महाशाखाका एसएसपी थिए पूर्वआईजी सर्वेन्द्र खनाल । खनालकै कमाण्डमा धमाधम पक्राउ हुन थाले नक्कली इन्जिनियर पनि ।
२००६ मा भक्तपुर इन्जिनियरिङ कलेजमा इन्जिनियररिङ पढ्न पुगेका सन्तोष लामा २०१० सम्म ८ सेमेस्टर पढ्दा प्रायः सबैमा फेल भए । २०१० मा पास आउट भएर इन्जिनियर बन्ने लामाको सपना चकनाचुर हुँदै गयो । कसरी हुन्छ साम, दाम, दण्ड, भेद अपनाउन पुगेका लामाको ललितपुरका अंकित खड्कासँग चिनजान भयो । जसको काम पैसा लिएर नक्कली प्रमाणपत्र बनाउने थियो ।
अंकितले पोखरा विश्वविद्यालयमा आफ्नो राम्रो सम्बन्ध भएको आश्वासन दिँदै आफूले इन्जिनियरिङ पास गराउने र त्यसका लागि खर्च भने साढे २ लाख लाग्ने लामालाई बताए । चकनाचुर भएको सपना फेरि पूरा हुने सम्भावना देखेपछि लामाले अंकितले भनेबमोजिम उक्त रूपैयाँ बुझाए । रूपैयाँ बुझाएको केही दिनमै उत्कृष्ट नम्बरसहितको प्रमाणपत्र लामाको हातमा पर्यो।
ललितपुर गाबहालका २९ वर्षीय अंकित पेसाले कम्प्युटर डिजाइनर हुन् । एक व्यक्तिको सक्कली प्रमाणपत्र स्क्यान गरेर अंकितले त्यही आधारमा अरू नक्कली प्रमाणपत्र बनाउन थालेको अनुसन्धानबाट खुलेको थियो । एक जनाबाट २ देखि ७ लाखसम्म असुल्दै आएका अंकितले बनाएको प्रमाणपत्रमा विश्वविद्यालयको रजिस्ट्रेसन नम्बरलगायत विवरण भने सक्कली नै हुने गरेको पूर्वआईजी सर्वेन्द्र खनालले बताए ।
नोटरी पब्लिकका सञ्चालक दण्डपाणी अधिकारी (दर्ता नम्बर १७९०), अम्बिकाप्रसाद मेयाङ्बो (दर्ता नम्बर १२३), गोपालदत्त पाण्डे (दर्ता नम्बर ०९५), विदुर खतिवडा (दर्ता नम्बर १३८७)ले नक्कली शैक्षिक प्रमाणपत्रको फोटोकपीलाई ठीक छ, भनेर प्रमाणित गरिदिने गरेको पनि खुलेको थियो।
नक्कली इन्जिनियर सन्तोष लामाको सूचना अपराध महाशाखाले पायो । लामालाई पक्राउ गरेपछि प्रमाणपत्र बनाउने गिरोहको पहिचान भयो । गिरोहको पक्राउसँगै दर्जन नक्कली इन्जिनियर प्रहरी हिरासतमा पुगे।
कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा एमबिबिएस अध्ययनरत विद्यार्थीलाई पढाइरहेको अवस्थामा डाक्टर बिनिता यादव पक्राउ परेकी थिइन् । रुसबाट एमडी पास गरेकी यादवलाई ब्युरोको अनुसन्धानका क्रममा नक्कली प्रमाणपत्र पेस गरेको पाइएपछि अनुसन्धानको दायरामा तानिएकी थिइन् । नक्कली डाक्टरमा झापा विर्तामोडस्थित दुर्गा प्रसाईको बिएन्डसी अस्पतालमा कार्यरत रामबाबु गिरी, गोल्डेन अस्पताल विराटनगरमा कार्यरत मोहम्मद अरुल हक, कोसी अञ्चल अस्पतालमा कार्यरत तुलसी महतो, ग्लोबल अस्पताल सिरहामा कार्यरत मोहम्मद अहमद सिद्धिकी समेत पक्राउ गरिएका थिए।
जनकपुर अञ्चल अस्तालमा कार्यरत सन्तोष यादव, चानसी मेडिकल हलमा कार्यरत कल्याण विश्वास, कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा कार्यरत विनिता यादव, अजित मेडिकल हल जनकपुरमा कार्यरत भगवान केवट मल्लाह, रामजानकी डेन्टल क्लिनिक जनकपुरमा कार्यरत शैलेन्द्र महतो, स्वास्थ्य सेवा क्लिनिक कपिलवस्तुमा कार्यरत अबल हुसेन र ग्वार्कोस्थित ग्लोबल अस्पतालमा कार्यरत श्यामबाबु साह समेतलाई प्रहरीले पक्राउ गरेको थियो।
र याे पनि हेराै