ललितपुर, ०४ मंसिर । पूर्वनिर्धारित तालिकाअनुसार बुधबार दिउँसो १ बजे बालुवाटारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक बस्नुपर्ने थियो । तर, सचिवालय बैठककै समयसँग जुधाएर दिउँसो १ बजे मन्त्रिपरिषद बैठक बस्ने खबर प्रधानमन्त्री कार्यालयले मन्त्रीहरुलाई दियो ।
ओली पक्षधर नेताहरुले बुधबारको सचिवालय बैठक सार्न र टार्न खोजेको आशंका प्रचण्ड–माधव पक्षका नेताहरुले गरिरहेका थिए । त्यहीबेला क्याबिनेट बैठक र पार्टीको बैठक जुधाइएकोमा घनश्याम भुसाललगायतका केही मन्त्रीले आपत्ति जनाए । अन्ततः प्रधानमन्त्री ओली केही पछाडि हटे र मन्त्रिपरिषद बैठकको तालिका पछि धकेलियो । ओली पक्षका सबै नेताहरु सचिवालय बैठकमा सहभागी भए ।
कात्तिक २८ गतेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीमाथि विभिन्न आरोपहरु लगाउँदै लिखित प्रस्ताव पेस गरेपछि प्रधानमन्त्री ओली आक्रोशित बनेका थिए । बालुवाटारमा मंगलबार बसेको ओली पक्षका नेताहरुको भेलाले प्रचण्डको प्रस्ताव फिर्ता नभएसम्म बैठकमा सहभागी हुनुको अर्थ नहुने निश्कर्ष निकालेको थियो ।
ओली पक्षका नेताहरु शंकर पोखरेल, सूर्य थापा, गोकुल बास्कोटा लगायतको ‘स्टाटस’ लाई आधार मान्ने हो भने त प्रचण्डले प्रस्ताव फिर्ता नलिँदासम्म बैठक त के, प्रचण्ड–माधव पक्षसँग सम्वादै नहुनेजस्तो देखिएको थियो ।
बुधबारको सचिवालयले मंसिर १३ गते सचिवालय, १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।
तर, बुधबार प्रधानमन्त्री ओली संयमित एवं सकारात्मकरुपमा प्रस्तुत भए । उनले एक कदम पछाडि सर्दै प्रचण्डको प्रस्तावको जवाफ दिन तयार रहेको सचिवालय बैठकमा बताए । अन्ततः प्रधानमन्त्री ओलीको यो ‘स्टेप’ लाई सचिवालयले सर्वसम्मतिले स्वीकार गर्दै जवाफी प्रस्ताव तयार पार्नका लागि १० दिनको समय दिने सर्वसम्मत निर्णय गरेको छ ।
बुधबार बसेको सचिवालय बैठकले मंसिर १३ गते सचिवालय, १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । र, १३ गतेको बैठकमा प्रधानमन्त्री ओलीले प्रचण्डको काउन्टरमा अर्को प्रस्ताव पेस गर्ने सर्वसम्मति जुटेको छ । सचिवालयको बैठकपछि नेकपा उपाध्यक्ष वामदेव गौतमले आजको बैठकमा राम्रो संकेत देखिएको बताए ।
त्यसैगरी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीलाई सकारात्मक मोड दिएको र अध्यक्ष कमरेड केपी शर्मा ओलीले म अर्को प्रस्ताव ल्याउँछु भनेर भनिसकेपछि त्यो अत्यन्तै सकारात्मक कदम रहेको उनले बताए ।
र याे पनि हेराै