ललितपुर, विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण भए नभएको पुष्टि गर्न नेपालमा हालसम्म करिब ५५० वटा परीक्षण गरिएको र ती सबै परीक्षणमा सङ्क्रमण नपाइएको सरकारी अधिकारीहरूले जनाएका छन्।
गत ज्यानुअरीको १३ तारिखमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा एक जना व्यक्ति आफैँ परीक्षण गराउन आएको र उनमा उक्त सङ्क्रमण भएको पुष्टि भएता पनि अन्य घटना भने नभेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख चिकित्सक वासुदेव पाण्डेले बीबीसीलाई बताए।
उनका अनुसार नेपालमा हाल ६ जनालाई आइसोलेसन अर्थात् बिरामीका लागि छुट्टै कक्षको व्यवस्था गरेर राखिएको छ । तीमध्ये चार जनालाई टेकुस्थित अस्पतालमा राखिएको छ भने दुई जनालाई पाटन अस्पतालमा राखिएको छ ।
चिकित्सकहरूका अनुसार अस्पताल भर्ना भएकाहरू विदेशबाट नेपाल आएका हुन् । “उनीहरूको आवश्यक परीक्षण सुरु गरी सकिएको छ। रिपोर्ट आउनासाथ उनीहरूमा सङ्क्रमण रहे नरहेको पुष्टि हुनेछ,“ पाण्डेले भने।
हाल ती बिरामीहरूलाई एन्टी भाइरल औषधी दिइएको बताइएको छ । अधिकारीहरूका अनुसार चिनियाँ विशेषज्ञहरूसँग पनि सहकार्य गरिराखिएको छ र आवश्यकता अनुसार ’कन्फरेन्स कल’को माध्यमबाट उनीहरूको अनुभव र त्यहाँ चलाइएको औषधी पनि नेपालमा प्रयोगमा ल्याउन सकिने अवस्था छ।
यसबाहेक चीनबाट फर्किएका एकजना विद्यार्थीमा कोरोनाभाइरसको आशङ्का गर्दै आइसोलेसनमा राखिएको धनगढीस्थित सेती प्रादेशिक अस्पतालका चिकित्सकहरूले जनाएका छन्।
चीनबाट नेपाल फर्काइएका नेपालीहरूको खरिपाटीस्थित क्वारन्टीनमा रगत र खकारका नमुना परीक्षण गरिएको थियो । चीनमा अध्ययन गरिरहेका १९ वर्षे पुरुषमा छाती दुख्ने, रुघा खोकी लाग्ने र ज्वरो देखापरेपछि उनलाई बिहीवार आइसोलेसनमा राखिएको डाक्टर जगदीश जोशीले बीबीसीलाई जानकारी दिए ।
“पछिल्लो १५ दिनमा हामीले अन्य तीन जनालाई आइसोलेसनमा राखिसकेका छौँ। सबैको रिपोर्ट सामान्य आएपछि घर पठाइसकिएको छ,“ जोशीले भने।
“हिजो भर्ना गरिएका बिरामीको पनि नमुना परीक्षणका लागि पठाइँदै छ। उनको अवस्थामा क्रमिक सुधार देखिन थालेको छ।