ललितपुर, १९ कात्तिक । नापी विभागले नेपालको कुल क्षेत्रफल अब १ लाख ४८ हजार ६ दशमलव ६७ वर्गकिलोमिटर हुने प्रस्ताव गरेको छ । विभागले भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको भूमि समेटेर तयार पारिएको क्षेत्रफलको प्रस्ताव भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाएको छ ।
नेपालको नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा
नापी विभाग स्रोतका अनुसार प्रोजेक्सन सिस्टमबाट मुलुकको क्षेत्रफल पुनर्मापन गर्दा ८ सय २५ दशमलव ६७ वर्गकिलोमिटर बढी आएको हो । विभागले टिप्पणी उठाएर मन्त्रालयमा पठाएको पत्रमा अतिक्रमित भूमिको छुट्टै क्षेत्रफल कति हो भन्नेबारे भने उल्लेख गरिएको छैन । ‘नेपालको क्षेत्रफल पहिले नै त्रुटिपूर्ण रहेछ, पुनर्मापन गर्दा समग्रमा बढी आयो,’ ‘यसको मतलब बढेको ८ सय २५.६७ वर्गकिलोमिटर भूमि भारतले अतिक्रमण गरेको हो भन्ने अर्थ लाग्दैन ।’
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा ३ सय ३५ वर्गकिलोमिटरभन्दा धेरै छ । भारतबाट अतिक्रमणमा परेको भूमिबाहेक नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर थियो । नेपाल सरकारले पहिलोपटक २०३२ सालमा नक्सा जारी गर्दा यो क्षेत्रफल पनि सँगै सार्वजनिक गरिएको थियो ।
सरकारले गत जेठ ७ गते नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गर्दा अबको क्षेत्रफल कति हुन्छ भनेर उल्लेख गरेको थिएन । त्यतिखेरै नापी विभागलाई पत्र लेखेर नयाँ क्षेत्रफलको जानकारी जतिसक्दो छिटो उपलब्ध गराउन निर्देशन दिइएको थियो । विभागले केही दिनअघि मात्रै सबै नापनक्साको प्राविधिक काम सकेर प्रस्तावित क्षेत्रफल मन्त्रालयमा पठाएको हो ।
विभागले पठाएको क्षेत्रफलबारे मन्त्रालयका सचिव टेकनारायण पाण्डेको नेतृत्वमा रहेको नापनक्सा समितिले छलफल गर्नेछ । त्यसपछि मन्त्रालयले फाइल मन्त्रिपरिषद् बैठकमा पेस गर्नेछ । ‘अहिले विभागबाट थप क्षेत्रफलसहितको नेपालको नक्साबारे टिप्पणी उठेर आएको छ, अब एकरदुई दिनमा नाप नक्सा समितिको बैठक बसेर मन्त्रिपरिषद्मा पठाउने निर्णय मन्त्रालयलय गर्छ । ‘आधिकारिक क्षेत्रफल मन्त्रिपरिषद्ले पारित गरेपछि मात्रै सार्वजनिक हुनेछ ।’
संविधानको धारा ४ को उपधारा (२) (क) मा संविधान प्रारम्भ हुँदाको बखतको क्षेत्र र (ख) मा संविधान प्राप्त भएपछिको क्षेत्रलाई नेपालको क्षेत्र मानिने व्यवस्था छ । नक्साको नयाँ क्षेत्रफल मन्त्रिपरिषद्बाट पारित भए संविधानको यही धाराअनुसार क्षेत्रफल पनि अद्यावधिक गरिने कान्तिपुरमा बिनु सुवेदीले लेखेका छन् ।
र याे पनि हेराै
- आज थपिए ३ हजार ११४ जना संक्रमित, थप ३ हजार १४२ जना डिस्चार्ज
- बाइडेनले ट्रम्पलाई पराजित गर्न सक्लान ?
- चुनाव हारे डोनाल्ड ट्रम्प जेल जान सक्छन् !
- आज बढ्यो सुनको मूल्य ?
- प्रहरीकै शिकार भइन् १५ वर्षीया बालिका