बुटवल, १८ असोज । प्रदेश ५ को राजधानी दाङ बनाउने प्रस्तावको विरोधमा बुटवलमा निषेधाज्ञा तोड्दै बिहानैबाट प्रर्दशन शुरु भएको छ । स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा तोड्दै त्यहाँका विभिन्न ठाउँमा प्रर्दशन शुरु भएको हो ।
राजधानि दाङ बनाउने प्रस्तावको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल काँग्रेसले रुपन्देही बन्दको आह्वान गरेको छ । त्यहाका व्यवसायिक संघ संस्थाले राजधानी सार्ने प्रस्तावको विरोध गर्दै बुटवलको चौराहादेखि ट्राफिकचोकसम्म र्याली निकालेका छन् ।
अहिले बुटवलमा निषेधाज्ञा र बन्दका कारण सार्वजनिक र निजी सवारी कुनै पनि चलेका छैनन् । प्रर्दशनकारीहरुले रुपन्देहीको तिलोत्तमा, सैनामैना,भैरहवा लगायतका विभिन्न ठाउँमा जम्मा भएर आन्दोलन गरेका छन् । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिबार राति सूचना जारी गर्दै असोज १८ गते आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र तोकेको छ ।
त्यसैगरी प्रदेश नं. ५ को स्थायी राजधानी कपिलवस्तु बनाउन माग गर्दै रिले अनशन सुरु गरिएको छ । बुद्धकालीन महत्व बोकेको सिद्धार्थ गौतमका बाबु शुद्धोधनको ऐतिहासिक राजधानी रहेको स्थान कपिलवस्तुलाई राजधानी बनाउनु पर्ने भन्दै सदरमुकाम तौलिहवाको जिल्ला प्रशासन कार्यालय अगाडि स्थानीय अनशनमा बसेका हुन् ।
अनशन बस्नेहरुमा समाजसेवी रउफ अहमद खा, सुदीप पौडेल, अशोक कुमार गुप्ता, सन्तोष कसौधन र बृजेश भटरा छन् । प्रदेशको नाम ‘बुद्ध प्रदेश’ र राजधानी कपिलवस्तु हुनुपर्ने मागसहित अनशन बसेको रउफ अहमद खाले बताएका छन् ।
प्रदेश नं. ५ को परासीदेखि बर्दियासम्मको जनतालाई पायक पर्ने स्थान कपिलवस्तु नै भएको उनको भनाइ छ । कपिलवस्तुलाई राजधानी नबनाउँदासम्म रिले अनशन जारी रहने उनीहरुले बताएका छन् । उनीहरुले प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङमा बनाउने प्रस्ताव फिर्ता लिन माग समेत गरेका छन् ।
तर प्रशासनको निर्देशनको उल्लङ्घन गर्दै बुटवलमा व्यवसायीक संघ संस्थाको र्यालीलाई सम्बोधन गर्दै बुटवल उद्योग वाणिज्य संघ अध्यक्ष खेम हमालले राजधानी सार्ने प्रस्तावको विरोध गर्दै बुटवलमा राजधानी निर्णयको कडा आन्दोलन गर्ने चेतावनी दिए ।
र याे पनि हेराै