ललितपुर, १४ असोज । नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको साढे २ करोड डोज खोप नेपाल आउने भएको छ । रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडीआईएफ) ले कोरोना भाईरसको खोप नेपाल पठाउने घोषणा गरेको छ ।
आरडीआईएफले ‘नेपालको औषधि वितरक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सलाई २५ मिलियन अर्थात साढे २ करोड ‘स्पुतनिक–भी’ दिन सहमत भएको हो ।
‘स्पुतनिक–भी’ नोवेल कोरोना भाइरसविरुद्धको भ्याक्सिन हो । यो भ्याक्सिन आरडीआईएफको सहयोगमा सञ्चालित गामालेया नेशनल रिसर्च सेन्टरले उत्पादन गर्दैछ ।
दोस्रो चरणको परीक्षण पुरा हुनासाथ गत साउन अन्तिम साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोनाविरुद्ध रुसले पहिलो भ्याक्सिन बनाएको घोषणा गरेका थिए । त्यसयता ‘स्पुतनिक–भी’ चर्चामा छ । तर यसले अझै परीक्षणको सबै चरण पुरा गरिसकेको भने अझै छैन । ‘स्पुतनिक–भी’ को तेस्रो चरणको परीक्षण आगामी अक्टोबर–नोभेम्बरमा पूरा हुने अपेक्षा गरिएको छ । यो परीक्षणबाट ‘स्पुतनिक–भी’ कोरोना भाइरसविरुद्ध प्रभावकारी भएको प्रमाणित भएका विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले उत्पादनका लागि स्वीकृति दिनेछ ।
उत्पादन भएपछि नेपालमा ल्याउन र प्रयोग गर्न पनि नेपाल सरकारको अनुमति लिनुपर्छ । नेपालमा प्रयोग गर्न स्वीकृति दिएको औषधि वा भ्याक्सिन छ भने मात्रै विभागले सम्पूर्ण कागजी प्रकिया सुरु गरेर ल्याउन अनुमति दिन्छ ।
नेपालमा कुनै कम्पनीले भ्याक्सिन ल्याउँछु भन्दैमा ल्याउन तयति सहज भने छैन । त्यसको लामो प्रकिया पूरा गर्नुपर्ने हुन्छ र स्पुतनिक–भीका लागि नेपाल सरकारसंग कुनै पनि प्रक्रिया नै सुरु भएको छैन ।’
कोरोना भाइरसविरुद्ध १४० वटा खोप परीक्षणको चरणमा छन् । त्यसमध्ये ९ वटा खोप अन्तिम चरणको परीक्षणमा छन् । करोडौं डलर खर्च गरेका चीन, बेलायत, रुसी कम्पनीहरूबीच खोप निर्माण नहुँदै बजार ओगट्ने प्रतिस्पर्धा पनि चलिरहेको छ । सुरुमा नेपालका लागि रुसी राजदूतले राजनीतिक भेटवार्ताहरूमा नेपालले चाहे ‘स्पुतनिक–भी’ दिने बताए, ट्रायल गर्न लबिङ समेत गरे । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञहरूले विश्व स्वास्थ्य संगठन लगायतले प्रश्न उठाएको भन्दै ‘स्पुतनिक–भी’ ट्रायल र प्रयोगको विपक्षमा उभिएपछि यो अगाडि बढेन । अहिले ट्रिनिटी फर्मास्युटिकल्स नामक एउटा निजी कम्पनीसँग सम्झौता भएको हो ।
ट्रिनिटी फर्मास्युटिकल्ससँग सम्झौता भएको घोषणा गर्दा पनि उसले एसिया, मध्यपूर्व, दक्षिण अमेरिका र युरोपका ५० भन्दा बढी देशले ‘स्पुतनिक–भी’ खोपका लागि आवेदन दिएको दाबी गरेको छ । उसको दाबी छ, ‘मेक्सिकोसँग ३.२ करोड, ब्राजिलसँग ५ करोड, भारतसँग एक करोड र उज्बेकिस्तानसँग ३.५ करोड डोज भ्याक्सिनका लागि सम्झौता भइसकेको छ ।’
नेपालले पाउने अधिकतम खोप भनेको कुल जनसंख्याको २० प्रतिशत हो । त्यो पनि पहिलो चरणमा ३ प्रतिशत र दोस्रो चरणमा १७ प्रतिशत आउनेछ । यस्तो बेला किनेर खोप लगाउनेहरू धेरै हुनेछन् । अहिले सम्झौता गरेपछि भोलि डब्लुएचओले अनुमति दिनासाथ खोप ल्याउन सकियो भने गजबको ब्यापार हुने भयो । बंगलादेश लगायतका कम्पनीले पनि यस्तै गरेका छन् ।
आरडीआईएफको वक्तव्यमा पनि ट्रिनिटीका निर्देशकले भनेका छन्, हामी ‘स्पुतनिक–भी’को अन्तिम चरणको परीक्षणको प्रतीक्षामा छौं । जति छिटो सरकारले यो भ्याक्सिनलाई अनुमति दिन्छ, हामी बजारमा उपलब्ध गराउँछौं ।’
र याे पनि हेराै