ललितपुर, १३ असोज । बलात्कारजस्तो जघन्य अपराधमा पीडकलाई कडा कानुनी कारवाही नुहँदा पीडित पक्षले एकपछि अर्को पीडा झेल्नुपर्ने, एउटै पीडकबाट धेरैजना पीडित हुनुपरेको जस्ता घटना प्रकाशमा आइरहेका छन् ।
खासगरी ग्रामिण भेगमा अगुवाहरुले बलात्कारका घटनालाई लेनदेनका आधारमा मिलापत्र गराउनाले कतिपय पीडितले न्यायको अनुभूति गर्न नपाएको सरोकारवालाहरु नै बताउँछन् । यसरी मिलापत्र गराउँदा एकातिर पीडकले धनसम्पत्तिको बलमा उन्मुक्ति पाउने गर्दछ र अर्को अपराधका लागि उसले आत्मबल बढाउँछ भने पीडित पक्षले त्यही समाजमा तिरस्कार र दुव्र्यवहार झेल्नुपर्ने अवस्था निम्तिन्छ ।
आफूलाई गाउँका अगुवा ठान्नेहरुले विभिन्न प्रलोभन तथा धाकधम्की दिएर पीडितलाई मिलापत्रका लागि दबाब दिने गरेको पाइन्छ । परिणामस्वरुप कतिपय पीडितले आत्महत्या गरेका उदाहरण पनि छन् ।
त्यस्तै धनुषा जिल्लामा यादव थरकी किशोरी गाउँकै दुईजना युवा (दाजुभाइ) बाट लगातार तीन वर्षदेखि बलात्कृत हुँदै आइरहेकी थिइन् । गाउँका अगुवाहरुले घटना गुपचुप राख्न पीडित पक्षलाई दबाब दिएपछि पीडित युवती अहिले मानसिक रोगी भएकी छिन् र उसको उपचार भइरहेको छ ।
सप्तरी डाक्नेश्वरीकी अर्की १७ वर्षीय किशोरी गाउँकै युवाबाट बलात्कृत भइन् । गाउँमै सो घटनालाई मिलाउन दबाब पर्यो । बलात्कारीलाई जरिवाना गरेर त्यो घटनालाई जबर्जस्ती दबाउन खोजियो । पीडित पक्षलाई प्रहरीमा गएर उजुरी गर्न पनि रोकियो । अन्ततः ती किशोरीले आत्महत्या गरिन् ।
यी दुई घटना त प्रतिनिधिमुलक मात्र हुन् । तराई मधेशका गाउँघरमा यस्ता घटना दिनदिनै भइरहेका हुन्छन् । त्यसमध्ये थोरै घटनामात्र बाहिर आउँछन्, धेरैजसो घटनालाई भित्रभित्रै दबाउने गरेका पाइन्छ ।
कतिपय घटनालाई पीडित पक्षको परिवारले नै बाहिर ल्याउन मान्दैन । समाजमा इज्जत, प्रतिष्ठामा असर पर्छ भन्दै छोरी बलात्कृत भएको घटनालाई कतिपयले लुकाउने गरेको भेटिन्छ । उल्टै आफ्नो छोरीचेलीलाई धाकधम्की दिएर त्यस्ता घटना बाहिर नल्याउन अभिभावकले नै दबाब दिने गरेकोसमेत पाईन्छ । कतिपय अवस्थामा गाउँघरमा आफ्नो इज्जत, प्रतिष्ठा बचाउनका लागि आफ्नै छोरीचेलीको हत्या गर्ने गरेको घटना पनि प्रशस्त रातोपाटिमा समाचार छ ।
र याे पनि हेराै