ललितपुर, १० असोज । खुमलटारस्थित ललितपुर ऊर्जा विकास प्रालिका सञ्चालक राजन न्यौपाने पछिल्ला दुई साता इन्भर्टर र ब्याट्रीको ब्यापार देखेर चकित छन् । नहुन् पनि किन ? पछिल्ला केही वर्षहरुमा संस्थागत कार्यालयहरुमा टेन्डर हालेर व्यापार गर्दै आएको कम्पनीमा आजभोलि काउन्टरबाटै बिजनेस हुन थालेको छ । न्यौपानको अनुभवमा इन्भर्टर र ब्याट्रीको ब्यापार विगतको तुलनामा दोब्बर बढेको छ ।
‘हामी पहिला सोलारको ब्यापार बढी गर्थ्यौं । लोडसेडिङ हटेपछि त्यसको ब्यापार सुक्यो । कार्यालयहरुलाई इन्भर्टर र ब्याट्री बेच्न बढी केन्द्रित भयौं’ उनी भन्छन्, आजभोलि फेरि घरायसी ग्राहक पनि इन्भर्टर खोज्न आउन थाल्नुभएको छ ।’ यसले काउन्टरबाटै हुने व्यापार बढेको छ, जुन महिनाको एकदेखि दुई लाख रुपैयाँसम्मको हुने उनको अनुमान छ ।
बजारमा इन्भर्टर मात्रै होइन, जेनेरेटरको ब्यापार पनि विगतको तुलनामा दोब्बर भएको छ । टेकुको मनकामना मेसिनरीका सञ्चालक सुन्दर थापा पनि जेनेरेटर ब्यापार दुई हप्तायता चल्मलाएको बताउँछन् । लाइन आउने जाने क्रम बढेपछि दिनमा २–३ वटासम्म जेनेरेटर बिक्री हुन थालेको छ । ‘लोडसेडिङको समयमा दिनको १०–१२ वटासम्म बेच्थ्यौं, बीचमा यो ब्यापार ठप्प थियो,’ उनी भन्छन् ‘अहिले फेरि व्यापार बढ्न थालेको छ ।’
डिल्लीबजारमा जेनेरेटर कारोबार गर्ने ‘सिभ्मन’ कम्पनीका सञ्चालक अमन पोद्धार जेनेरेटरको ब्यापार बढेको सहजै स्वीकार गर्छन् । पछिल्ला १० दिनयता जेनेरेटरको ब्यापार चलायमान भएको उनको अनुभव छ । ‘बितेको ३ वर्ष यो बिजनेसमा कुनै उत्साह थिएन, जसोतसो चलेको थियो,’ उनले भने, ‘अहिले सबै ब्यापार बढेको सुनेको छु, मेरोमा पनि शतप्रतिशत बढेको छ । ’
ब्यापार बढेर मौज्दातमा रहेका जेनेरेटर बिक्री हुन थालेपछि पोद्धारले अनलाइन विज्ञापन नै गरेका छन् । बानेश्वरमा ब्याट्रीको ब्यापार गर्दै आएका धिरज न्यौपानेको अनुभव पनि त्यस्तै छ । विगत केही हप्तायता ब्याट्रीको ब्यापार ५० प्रतिशत बढेको उनको भनाइ छ । धिरजका दाजु राजकुमार पछिल्ला दिनमा घर तथा अफिसमा इन्भर्टर जोडेने र ब्याट्री फेर्ने ग्राहक विगतको तुलनामा निकै बढेको बताउँछन् ।
टेकुमा ४० वर्षदेखि ब्याट्री ब्यापार गर्दै आएका सत्य मामा ब्याट्री ट्रेड वर्क्सका सञ्चालक सत्य तण्डुकार पनि इन्भर्टर तथा ब्याट्रीको ब्यापारको सुस्तता समाप्त भएको बताउँछन् । ‘कारोबार बढेको छ, पुरानो लयमा त हैन’ उनी भन्छन्, ‘एक डेढ हप्ताका ग्राहक हेर्दा उपभोक्ता आत्तिएको हो जस्तो देखिन्छ ।’ अनलाईनखबर बाट साभार