काठमाडौँ । दैलेखको ठाटीकाँध गाउँपालिका दैलेखका अन्य स्थानीय तह भन्दा पनि पछाडी परेको पालिका हो । दैलेखको पश्चिममा पर्ने ठाटीकाँध गाउँपालिका र ठाटीकाँध गाउँपालिकाको पनि पिछडीएको वडा हो ठाटीकाँध -३ नम्बर वडाको माझखर्क बिशाला ।
पहिले स्वास्थ्य, शिक्षा लगायत सबैको अभाव झेल्दै आएको माझखर्क संघीयतापछि भने यहाँको मुहार फेरिएको छ । घरआँगनमा मोटरबाटो पुगेको छ । मोटरबाटोसँगै पहिलेभन्दा अहिले यहाँको मुहार फेरिएको छ । पहिले कच्ची भवनमा पढाई हुँदै आएको माझखर्कमा रहेको श्री कृष्ण आधारभूत विद्यालयको पनि मुहार बद्लिएको छ । वर्षौदेखि भोग्दै आएको दयनीय अवस्थाको अन्त्य भएको छ ।
२०३२ सालमा स्थापना भएको यो विद्यालयले लामो समयसम्म शिक्षा प्रदान गर्न जर्जर र जोखिमयुक्त भवनको भर गर्नुपरेको थियो । कमजोर संरचना, पत्थरको छानो, र कच्ची भौतिक अवस्थाले विद्यार्थीलाई सुरक्षित र सहज वातावरणमा अध्ययन गर्न असहज भएकोे थियो । तर, अब विद्यालयको मुहार फेरिएको छ ।
हाल विद्यालयमा दुइवटा भवनका आठवटा नयाँ कोठाहरू निर्माण गरिएका छन, जसका लागि २०७८÷ ०७९ मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत चार कोठे भवनका लागि ३६ लाख रुपैयाँ बजेट छुट्याइएको थियो ।
त्यस्तै थप चारकोठे भवनका लागि प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०८०÷०८१ मा ५० लाख रुपैयाँ बजेट उपलब्ध गराएको ठाटीकाँध गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमख नेत्र थापाले बताए ।
उनका अनुसार शौचालयको समस्या समाधान गर्न पालिकाको पहलमा नेपाल सरकारको सशस्त्र अनुदान सहयोगमार्फत नयाँ शौचालय पनि निर्माण गरिएको छ । भने एमसिडियस संस्थाको सहयोगमा विद्यालयमा पिउनेपानीको बन्दोबस्त गरिएको छ ।
पक्की भवनमा सहज पठनपाठन
२०३२ सालमा स्थापना भएको विद्यालयमा हाल ६८ छात्र ६८ जना छात्रा गरेर जम्मा १३६ जना अध्यनरत रहेको श्री कृष्ण आधारभूत विद्यालयका शिक्षक भिम बहादुर भण्डारीले बताए । उनका अनुसार बालविकास कक्षा १ देखि कक्षा ८ कक्षासम्म रहेको विद्यालयमा १० जना शिक्षक कार्यरत छन् ।
पहिले विद्यालयमा राम्रो भवन नहुँदा निकै समस्या रहेको र अहिले भवन बनेपछि सहज भएको शिक्षक भण्डारीको भनाई छ ।
पक्की भवन थिएन पठनपाठनका लागि असहज र असुरक्षित सँगै सानो कोठाका कारण सिकाईमा प्रभाव परिरहेको थियो,’उनले भने, ‘अहिले पक्की भवन निर्माणसँगै विद्यार्थीमा सिकाइको प्रेणा जगाएको र नयाँ संरचना बनेसँगै शिक्षामा गुणस्तरीय सुधार ल्याउने आशा गरिएको छ ।’
नयाँ भवन निर्माण भएपछि विद्यालयका १३६ जना विद्यार्थी अहिले सुरक्षित र व्यवस्थित भवनमा अध्ययन गर्न पाउँदा अत्यन्तै उत्साहित छन । नयाँ भवन बनेपछि विद्यार्थीहरूलाई चिसो, गर्मी र वर्षाको समस्याबाट मुक्त भएको छ । अभिभावकहरू पनि आफ्ना छोराछोरी सुरक्षित वातावरणमा अध्ययन गर्न पाएकोमा सन्तुष्ट देखिन्छन । अब विद्यालयको छानो भत्किने डर छैन, ढुक्क भएर छोराछोरीलाई विद्यालय पठाउँछौं, स्थानीय अभिभावकले भने ।
शैक्षिक गुणस्तरमा सुधारको अपेक्षा
नयाँ संरचनाले मात्र होइन, सुविधाको विकासले पनि शिक्षाको गुणस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको सोही विद्यालयमा कार्यरत शिक्षक भण्डारी बताउँछन् ।
कक्षा ८ सम्म अध्ययन हुने यो विद्यालयमा निर्माण गरिएको पक्की भवनले अभिभावकहरूको विश्वास पनि बढेको स्थानीय अभिभावक तथा विद्यालय व्यवस्थापन समिति पूर्व अध्यक्ष नेवलसिंह भण्डारी बताउँछन् । ‘नयाँ भवनले विद्यार्थीहरूलाई सिकाइमा केन्द्रित गर्न मद्दत गरेको छ । पहिले असुरक्षित भवनले ध्यान भंग गथ्र्यो अहिले ढुक्क छौँ ।’
भवन निर्माणले भावी दिनमा विद्यालयको शैक्षिक सुधारका क्षेत्रमा थप कार्यक्रम सञ्चालन गर्न ऊर्जा मिलेको उनको भनाइ छ । ‘विद्यालयमा यो भवन बन्नु हाम्रा लागि गौरवको कुरा हो’, उनले भने, ‘यसले विद्यालयलाई थप हौसला मिलेको छ, अबका दिनमा गुणस्तर सुधारमा योजनाबद्धरुपमा थप काम गर्छौँ ।’
विद्यालय निर्माण हुनुमा स्थानीय सरकार, प्रदेश सरकार, र समुदायको पनि उत्तिकै सहकार्य रहेको यहाँका स्थानीय अभिभावक बताउँछन् ।
विद्यालयमा घेरवारको आवश्यक्ता
पहिले चुहिने छानोबाट पक्की भवन निर्माण भएसँगै यहाँको समाज तथा अभिभावक निकै उत्साहित छन् । दुइवटा भवन निर्माणसँगै विद्यालयमै पक्की शौचालय छ ।
विद्यालयको आँगनमै बालमैत्री धारा जडान गरिएको छ । तर, विद्यालय वरिपरि घेरवार नहुँदा गाइबस्तुको हैरानी खेप्नुपरेको छ । विद्यालयमा घेरबार नभएको र घेरबारको आवश्यक्ता रहेको शिक्षक भण्डारी बताउँछन् । पहिले भन्दा विद्यालयको मुहार धेरै फेरिएको छ तर, पनि विद्यालयमा घेरवार छैन,’उनी भन्छन्, ‘विद्यालय वरिपरि घेरवार नहुँदा विद्यालयसमयभित्र समेत गाइबस्तु गएर असहज हुने गरेको छ ।’
विद्यालय नजिकै रहेको सरस्वतीको मन्दिर अहिले जिर्ण अवस्थामा छ । सरस्वती मन्दिरको निर्माण र विद्यालय वरिपरि घेरवारको आवश्यक्ता रहेको शिक्षक भण्डारीले बताए ।