ललितपुर, २७ भदौ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोहोरिने निश्चित भएको छ । ऊर्जा मन्त्रालयले शुक्रबार घिसिङलाई नै दोस्रो कार्यकालका लागि नियुक्ति गर्नेगरी प्रस्ताव तयार पारेको छ । सो प्रस्ताव आइतबार बस्ने मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी भएको छ ।
स्रोतका अनुसार कुलमानलाई फेरि नियुक्ति गर्ने पक्षमा नरहेका प्रधानमन्त्री केपी ओली समेत अन्ततः राजी भएका छन् । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसँग भएको छलफलपछि उनी कुलमानलाई नै नियुक्त गर्न राजी भएका हुन् । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको ४ वर्षे कार्यकाल आइतबार सकिँदै छ । लोडसेडिङबाट आक्रान्त जनतालाई लोडसेडिङ अन्त्य गराएर उज्यालो दिएका घिसिङको पक्षमा अहिले आम जनता उभिएका छन् ।
सातौँ तहको इन्जिनियरबाट (२०५१ सालमा) नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा नियुक्त भएका थिए । उनी नियुक्त भएको २ महिनापछि कात्तिकको लक्ष्मीपूजाको दिनदेखि काठमाडौँ उपत्यकाबासीले लोडसेडिङको मार खेप्नु परेको छैन । अरुले लक्ष्मी पूजा मनाइरहँदा उनी स्युचाटारको भारप्रेषण केन्द्रमा लोडसेडिङ हुन नदिन अनवरत खटिरहेका घिसिङले ३१५ मेगावाट सम्मको माग धान्न सफल भएर आम मानिसको मन जितेका थिए ।
यसैबीच घिसिङलाई पुनर्नियुक्ति दिन केही कानुनी समस्या भने रहेको बताइएको छ । सो समस्या समाधानका लागि विद्युत प्राधिकरणको ऐन नै संशोधन गर्नुपरेपनि गरेर निर्णय गर्ने बताइएको छ ।
कुलमान नै किन चाहन्छन् आम मानिस ?
आम जनता कुलमान घिसिङप्रति कति आशक्त छन् भन्ने उदाहरण एकाएक दोस्रो कार्यकालमा सरकारले नियुक्ति गर्ने प्रसंगलाई लिएर भाइरल भएको बधाईबाट पुष्टि हुन्छ । एकाएक सामाजिक सञ्जालमा कुलमान घिसिङलाई बधाईको ओइरो आयो तर कुलमानको पुनर्नियूक्तिको प्रसंगनै झुट थियो ।
मन्त्रिपरिषदले कुलमानलाई दोस्रो कार्यकालको लागि नियुक्त गरेको भन्दै उत्साहका साथ बधाइ दिन थाले मानिस ।मन्त्रिपरिषदको बैठकमा यस्तो कुनै प्रस्ताव लगिएको थिएन । खैर जेहोस तर उनी आम मानिसको मन मष्तिस्कमा बसिसकेका छन् भन्ने गतिलो उदाहरण हो बधाइ दिन गरिएको हतारो ।
कलाकार सिताराम कट्टेल(धुर्मुस)ले पनि सामाजिक सञ्जालमा मन्त्रिपरिषदको निर्णय स्वागतयोग्य भन्दै बधाइ दिन भ्याए । यता डा.राम उप्रेतीले पनि राम्रो काम गर्दा जनताले माया गर्छन् भन्दै घिसिङलाई बधाई दिए । सामाजिक सञ्जालमै प्रकाश बस्नेतले पनि कुलमानलाई अल्छी भन्दै ४ बर्षमा एक दिन पनि बत्ति काट्न जागर नगरेको भनेर लेखे ।
फेरि पनि यस्तै अल्छी गर्नु भन्दै उनले बधाई दिए । यी त सामाजिक सञ्जालका प्रतिनिधि उदाहरण मात्र हुन् । कतिपयले गलत समाचार नै भएपनि सबैले बधाइ दिएपछि सरकारलाई एक प्रकारको दबाब महसुस हुने विश्लेषण पनि गरे । केही व्यक्तिले त फोटोको फ्रेम नै बनाएर कुलमानको फोटो सहित तिमी छौ र त देश उज्यालो छ भन्दै प्रोफाइल बनाइरहेका छन् । कुलमान प्रतिको आममानिसको आशक्त सामाजिक सञ्जालमा अहिले छरपष्ट देख्न सकिन्छ ।
कुलमान कसरी आम मानिसको मन मतिष्कमा बस्न सफल भए ?
भोलि अर्थात भाद्र २९ गते घिसिङको कार्यकाल सकिँदैछ । उनको कार्यकाल सकिनै लाग्दा अधिकांश उनको पुरागमन हुनुपर्ने माग गर्छन् । तर केही जमात उनी आफै लोकप्रिय भएकाले उनले अन्य क्षेत्रमा पनि उत्तिकै अवसर पाउनेछन् । यसैमा मरिमेट्नु पर्ने कारण नरहेको बताउँछन् । तर लोडसेडिङको प्रत्यक्ष मार खेपेका आम मानिस त्यही लोडसेडिङदेखि त्रसित छन् ‘कतै कुलमान बाहिरिएपछि पुरानै प्रवृत्ति दोहोरिएर फेरि सास्ती पाउनुपर्ने त होइन ?’
कुनै सयम यस्तो पनि थियो हरेक दिन लोडसेडिङको तालिका सार्वजनिक हुन्थ्यो, त्यो पनि १८र१८ घण्टा । साँझ पर्यो कि सर्वसाधारण वैकल्पिक उज्यालोको जोहो गर्न हतारिन्थे । लोडसेडिङकै कारण विद्यार्थीले रातको समयमा पढ्न पाउँदैनथे भने उद्योगधन्दाहरु पूर्ण क्षमतामा चल्न पाउँदैनथे ।
जतिबेला बत्ति आउनेभन्दा जाने समय धेरै थियो अर्थात लोडसेडिङले अन्धकार बनेको थियो । दैनिक १८ घण्टासम्म लोडसेडिङ भोगेका नेपालीलाई कुलमानको आगमनपछि लोडसेडिङ हुने समस्याबाट मुक्ति मिलेको छ । अध्याँरो नेपाललाई उज्यालो छरेर हरेक दिन लोडसेडिङको तालिका हेर्न पर्ने अवस्थाबाट आम सर्वसाधारणले मुक्ति पाए । घिसिङको फेक टिव्टर अकाउन्टमा पुनःनियुक्तिको विषय आएपछि समाचार भाइरल बनेको थियो ।
कुलमानको उज्यालो यात्रा
सातौं तहको इन्जिनियरबाट (२०५१ सालमा) नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा नियुक्त भएका थिए । उनी नियुक्त भएको २ महिनापछि कात्तिकको लक्ष्मीपुजाको दिनदेखि काठमाडौ उपत्यकाबासीले लोडसेडिङको मार खेप्नु परेन । अरुले लक्ष्मी पुजा मनाइरहँदा उनी स्युचाटारको भारप्रेषण केन्द्र पुगे र लोडसेडिङ हुन नदिन अनवरत खटिरहे । ३१५ मेगावाट सम्मको माग धान्न सफल भए ।
कुलमानले सबैभन्दा पहिला उत्पादन भएको एक चौथाइ विद्युत चुहावट हुने गरेकोमा पहिलो वर्षमा तीन प्रतिशतले घटाए । यसले नै उनलाई उज्यालोको यात्रामा अनवरत साथ दिइरह्यो । आर्थिक वर्ष २०७२ र ०७३ मा केन्द्रिय विद्युत प्रणालीमा २५.७८ प्रतिशत विद्युत चुहावट थियो । घिसिङको कार्यकालको पहिलो वर्षमा तीन प्रतिशत विद्युत चुहावट घट्यो । अहिले २०७६र०७७ सम्म आइपुग्दा विद्युत चुहावट १५.१७ प्रतिशतमा सिमित छ । १ प्रतिशत विद्युत चुहावट नियन्त्रण गर्दा प्राधिकरणलाई ७० करोडभन्दा बढी फाइदा हुनेछ । सधंै घाटामा जाने प्राधिकरणले गत आवमा ११ अर्ब नाफा कमाएको छ ।
कुलमान नै किन चाहन्छन् आमजनता ?
तर यता केही विद्युतका क्षेत्रमै काम गर्नेहरु भने विद्युत नियमन आयोगले विद्युतको महसुल बृद्धि गरिदिएका कारण प्राधिकरण नाफामा गएको बताउँछन् । हुन त प्राधिकरणको प्रतिस्पर्धी कोही छैनन । त्यसैले उसले नाफा गर्न सकेको छ । त्यसमा पनि कुलमानको व्यवस्थापकिय क्षमताका कारण उनको आगमनदेखि नै प्राधिकरण नाफामा गएको छ ।
विद्युत नियमन आयोगले २०७२ माघमा डेडिकेटेड फिडरमार्फत ग्राहकले प्रयोग गर्ने विद्युत र २०७३ साउनमा सबै उपभोक्ताले प्रयोग गर्ने विद्युतको शुल्कमा समायोजन गरेको थियो । उनी आउनु ठिक अगाडि समायोजन गरेकाले पनि प्राधिकरणलाई नाफामा लैजान सहज भएको केही जानकारहरु बताउँछन् । यता केही विद्युत उत्पादकहरु भने प्राधिकरणले उत्पादकसँग सस्तोमा किनेर आफुले महंगोमा बेचेपछि नाफा गरेको आरोप लगाउँछन् ।
तर अब आम नेपाली जनता फेरि देश लोडसेडिङ भएको हेर्न चाहाँदैनन । कुलमान बाहिरिए कहाँ जालान् र उनका ठाउँमा कस्ता व्यक्ति आउलान भन्ने चासो र चिन्ता दुबै छ । उज्यालो बनाउने कुलमान निरन्तरताको आवाज धेरै उठेको छ । र त्यहि आवाजकै कारण घिसिङले निरन्तरता पाउने पक्का भएको रातोपाटिले लेखेको छ ।