सुर्खेत । कात्तिक महिना लागेपछि किसानलाई मार्सी धान भित्र्याउन भ्याइनभ्याइ भएको छ । बर्षे खेती मार्सी धान भित्र्याउने बेला किसान निकै ब्यस्त छन् ।
जुम्लामा धानसँगै सिमी, आलु, गाईबस्तुका लागि घाँस (खर) समेत बटुल्नुपर्छ । आकाशमा बादल देखा परेपछि जुम्लाको तातोपानी गाउँपालिका ३ को लाछु जिउलाको मार्सी धान भिज्ने चिन्ता किसानलाई छ ।
तातोपानी ३ का कृष्णहरी अधिकारीले जिउलामा मार्सी धान पाकेर लटरम्मै भएका बेला आकाशमा बादल मडारिदा आफूहरुलाई चिन्ता बढेको बताउनुभयो । उहाँले पाकेको धान पानी पर्दा सबै झर्ने भएकाले किसानलाई थप ब्यस्तता बढाएको सुनाए । खाना खाने पनि समय छैन । हामी सबै खेतमा जानु परेको छ । एकातिर पानी पर्ने चिन्ता छ भने अर्कोतर्फ आधा किसानले धान सेहारिसकेपछि गाईबस्तु खेतमा छोडिदिने चिन्ता छ ।
घरमा काम गर्ने धेरै सदस्यका लागि अलि सहज भए पनि दुई जनासम्म मात्र काम गर्न सक्ने परिवारका लागि समस्या भएको अधिकारीको भनाइ छ । स्थानीय कलवहादुर रावलले सरकारले बिषादी नहाल्न भने पनि जङगल धेरै हुने चिन्ताले बिषादी हाल्ने गरेको बताए ।
करिब ७०० वर्षअघि जुम्लीहरुका इष्ट देवता चन्दननाथले भारतको कास्मिरबाट मार्सी धानको बीउ ल्याएको विश्वास गरिन्छ । यसको सक्कली बीउ अनुसन्धानका लागि कृषि अनुसन्धान केन्द्रमा राखिए पनि अन्यत्र हराइसकेको छ ।
मार्सी विश्वको अग्लो स्थानमा फल्ने धानको रूपमा लिइन्छ । कृषि विज्ञहरुका अनुसार चिसो हावापानीमा उत्पादन हुने खाद्यान्न र फलफूल निकै स्वादिलो हुन्छन् । त्यसैले जुम्लालगायत हिमालको तल्लो भेग र उच्च पहाडमा फल्ने मार्सी धानको भात निकै मिठो र स्वादिलो हुन्छ । यसको चामलको भात खाँदा धेरै बेरसम्म भोक लाग्दैन । स्वादिलो, आडिलो र स्वस्थकर हुन्छ । मार्सी धानको चामल खैरो रङ्गको हुन्छ ।
खैरो देखिने भएकाले कसैकसैले यसलाई रातो चामल पनि भन्छन् । उच्च रक्तचाप, मधुमेहलगायतका बिरामीलाई यो चामलको भातले निकै फाइदा हुने भएकाले शहरमा यसको माग पनि बढी नै हुने गरेको छ । यहाँका किसान बताउँछन् । यो चामलको माग शहरबाट बर्सेनि बढेर आएको छ ।