कञ्चनपुर । महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला गरिएको छ । गत बिहीबारदेखि निकुञ्ज प्रशासनले पर्यटकका लागि शुक्लाफाँटामा जङ्गल सफारी खुला गरेको हो ।
गत असारमा आएको बाढीका कारण पर्यटक पथमा क्षति पुगेका कारण यस वर्ष ढिलो गरी पर्यटकका लागि निकुञ्ज खुला गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए ।
अन्य वर्षको भन्दा यस पटक ढिलो गरी हामीले जङ्गल सफारी खुला गरेका छौं, उनले भने, निकुञ्जभित्र पर्यटक पथमा रहेका सबै पुल र बाटोमा बाढीले क्षति गरेको र मर्मतका लागि समय लागेका कारण ढिलो गरी पर्यटकका लागि निकुञ्ज खुला गरिएको हो ।
उनले बाढीले सडक र काठे पुलहरू बाढी क्षति गरेको बताए । अहिले पनि सहायक बाटाहरूमा ग्राभेललगायत काम गर्न बाँकी छ, संरक्षण अधिकृत ऐरले भने, निकुञ्ज कार्यालयले पर्यटन प्रवर्द्धनका लागि काम गरिरहेको छ ।
तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफल रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गाका लागि प्रख्यात छ । निकुञ्जको विशाल घाँसे मैदानमा दुई हजार बढी बाह्रसिङ्गाको झुण्ड देख्न पाइन्छ । त्यसैगरी, निकुञ्ज पाटे बाघका लागि पनि प्रख्यात छ । निकुञ्जले गरेको पछिल्लो गणनाअनुसार यहाँ बाघको सङ्ख्या ४४ पुगेको छ ।
त्यसैगरी, गैँडालगायत दुर्लभ वन्यजन्तुका लागि पनि निकुञ्ज प्रसिद्ध छ । वन्यजन्तु मात्रै नभई दुर्लभ वनस्पतिका लागि पनि प्रसिद्ध ठाउँ हो शुक्लाफाँटा ।
निकुञ्जमा १२ प्रजातिका घस्रने वन्यजन्तु रहेका छन् भने २० प्रजातिका उभयचर, २४ प्रजातिका माछा, ३५ प्रजातिका पुतली, २०१३ को गणनाअनुसार ८०/९० वटा नीलगाई र चार सय ४९ प्रजातिका चरा रहेको निकुञ्ज कार्यालयले जनाएको छ ।