सुर्खेत । दैलेखको नारायण नगरपालिका– ४ की साढे दुई वर्षीया बालिका कसुम कटुवाल २२ असोज २०७८ मा कर्णाली प्रदेश अस्पताल सामान्य उपचारको लागि सुर्खेतमा भर्ना भइन् । नाकमा मकैको दाना अड्किएर श्वासप्रश्वासमा समस्या आएपछि थप जटिलता नहोस् भनेर परिवारले जिल्ला अस्पताल दैलेख पुर्याएका थिए । तर, दैलेख अस्पतालमा उक्त मकैको दाना निकाल्ने औजार नभएपछि प्रदेश अस्पताल सुर्खेतमा रेफर गरिएको थियो । परिवारका सदस्यले कुसुमको सहज उपचार हुने आशासहित प्रदेश अस्पताल सुर्खेत पुर्याएका थिए । अस्पताल भर्ना गरिएकी कसुमलाई खासै समस्या नरहेको तर, नाकमा अड्किएको मकैको दाना निकाल्न असहज भएको र आईसीयू खाली नभएको भन्दै अस्पतालले त्रिवि शिक्षण अस्पताल लैजान सुझाएको थियो ।
यद्यपि आईसीयू खाली भएमा प्रदेश अस्पतालमै उपचार हुने आश्वासन अस्पतालले दियो । अस्पतालको आश्वासनमा परेका परिवारले नजिकै उपचार हुन्छ भने किन काठमाडौं लैजाने भन्दै आईसीयू खाली हुने आशामा बसे । तर, २३ असोज २०७८ को राति कुसुमको उपचारमा संलग्न चिकित्सकहरूले अकस्मात् उनको मृत्यु भएको घोषणा गरे ।
केही समय अघिसम्म बोलचाल गर्ने बालिकाको एक्कासि मृत्यु भएको खबर पाएपछि आफन्तहरू अचम्मित भए । डाक्टरको लापर्वाहीले मृत्यु भएको भन्दै आफन्तले विरोध जनाए । तर, अस्पताल मान्न तयार भएन । आक्रोशित आफन्तले अस्पतालभित्रका भौतिक संरचना तोडफोड गरे । बालिकाको उपचारका क्रममा ओभर डोज औषधि प्रयोग गरिएको आफन्तको आरोप थियो । उतिबेला बालिकाको अप्रेसन गर्नुअघि बेहोस बनाउन लगाइने एनेस्थेसिया औषधिको मात्रा बढी दिएपछि मृत्यु भएको आफन्तको आरोप थियो ।
त्यस्तै सुर्खेतको पञ्चपुरी नगरपालिका– २, स्थायी ठेगाना भई वीरेन्द्रनगर नगरपालिका– ४ मा बस्दै आएकी जानकी रेग्मीलाई २९ भदौ २०८० मा सुत्केरी ब्यथा लाग्यो । उनी प्रदेश अस्पतालको प्रसूति वार्डमा भर्ना गरियो । सोही दिन उनी प्रसूति वार्डमा सुत्केरी भइन् ।
सुत्केरी भएपश्चात् एक्कासि समस्या देखा परेपछि उनलाई अप्रेसन वार्डमा लगेर शल्यक्रिया गरियो । तर, ३१ भदौमा अस्पतालले उनलाई एक्कासि मृत्युको घोषणा गरिदियो । ‘छोरा जन्मेपछि बुहारीलाई जनरल वार्डमा राखियो, त्यतिबेलासम्म अवस्था सामान्य थियो,’ मृतक जानकीका ससुरा भन्छन, ‘छोरालाई दूधसमेत खुवाएकी थिइनन्, सोही वार्डमा एक्कासि बेहोस भइन, अनि उनलाई आईसीयूमा राखियो । आईसीयूमा राखिएकी बुहारीलाई अस्पतालले एक्कासि मृत घोषणा गरिदियो ।’
बच्चा जन्माएको २४ घण्टामा सुत्केरीको मृत्यु हुनु अस्पतालको लापर्वाही प्रमुख कारण रहेको उनको बुझाइ छ । ‘प्रदेश राजधानीको सुविधासम्पन्न अस्पतालमा आउँदा पनि सुत्केरी सुरक्षित हुन नसक्नु आफैँमा विडम्बना हो,’ उनी भन्छन, ‘के कारणले मृत्यु भएको हो भन्ने अस्पतालले अहिलेसम्म पनि स्पष्ट जवाफ दिन सकेको छैन ।’
अस्पतालले सुत्केरी अवस्थामा गरिने अप्रेसनमा बिरलै घट्ने नयाँ घटना भएको जवाफ दिए पनि जानकीका ससुरा अस्पतालको लापर्वाहीले नै आफ्नी बुहारीको मृत्यु भएको दाबी गर्छन । केही महिना अघि पश्चिम दैलेखको आठबिस नगरपालिका– ५, पीपलकोटकी २२ वर्षीया भिमा गुरुङ बलामी पेट दुखेको भन्दै उपचारका लागि सुर्खेत आइन् । उनी सामान्य चेकजाँचका लागि मात्रै सुर्खेत आएकी थिइन् ।
वीरेन्द्रनगरको एक निजी अस्पतालमा सामान्य चेकजाँच गराउँदा पाठेघरमा केही समस्या भएको देखियो । त्यसपश्चात् उनी देशकै उत्कृष्ट मानिएको प्रदेश अस्पताल जाने निधो गरिन् ।
अघिल्लो दिन बिहानै उनी अस्पताल भर्ना भएकी उनी हिँडेरै अस्पताल पुगेकी थिइन् । अस्पतालमा चेकजाँच गराउँदा चार महिनाअघि प्रसूति गराउँदा बखत पाठेघरमा केही सालनाल रहेको चिकित्सकहरूले जानकारी दिए । भिमाको पेटमा केही महिनाको बच्चासमेत थियो । अप्रेसन गरेर पाठेघर सफा गर्नुपर्छ भनेका चिकित्सकले भिमालाई एक्कासि केही समयपछि नै मृत घोषणा गरिएको थियो ।
अप्रेसन गरेर पाठेघर सफा गर्नुपर्छ भनेका चिकित्सकले भिमालाई एक्कासि केही समयपछि नै मृत घोषणा गरिदिएपछि उनका आफन्तले वीरेन्द्रनगर सुर्खेतमा आन्दोलन र दैलेखको आठबिस नगरपालिका–५, स्थित कर्णाली राजमार्ग अवरुद्ध गरेर आन्दोलन गरेका थिए ।
प्रदेश अस्पताल सुर्खेतमा डाक्टरको लापर्वाहीका कारण फेरी एकजना सुत्केरीको मृत्यु भएको छ । सुर्खेतको वीरेन्द्रनगर ६ बस्ने १८ वर्षीया शर्मिला सुनार सुत्केरी व्यथा लागेपछि आइतवार दिउँसो प्रदेश अस्पताल पुगेकी थिइन् । अस्पताल प्रशासनका अनुसार शर्मिलालाई अस्पताल भर्ना गर्दा ज्वरो आएको थियो ।
डाक्टरले सामान्य अवस्था भनिरहेका बेला एक्कासी सोमबार बिहान साढे ३ बजे मृत्युको खबर दिएको आफन्तले बताएका छन् । शर्मिलाको मृत्यु भएपछि आफन्तहरू बिहानैदेखि अस्पताल परिसरमा आन्दोलन गरिरहेका छन ।
चिकित्सकको लापरबाहीका कारण शर्मिलाको मृत्यु भएको आफन्तको आरोप छ । सुत्केरीको मृत्युको खबर दिनुअघि अस्पतालबाट प्रहरी बोलाइएको, घटना रोक्न प्रहरी परिचालन गरिएको भन्दै उनिहरुले अप्रेसनमा सहभागी डाक्टरहरूलाई कारबाहीको माग गरेका छन । पीडितहरूले आन्दोलन गरेपछि प्रदेश अस्पतालमा एक सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ ।
अस्पतालको लापर्वाहीका कारण मृत्युवरण गरेको भनी आफन्तद्वारा आरोप लगाइएका प्रतिनिधिमूलक यी घटनाहरू स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्ट भनिएको कर्णाली प्रदेशको राजधानी सर्खेत स्थित प्रदेश अस्पताल सुर्खेतका हुन् । कर्णाली प्रदेशको स्वास्थ्य मेरुदण्ड मानिएको प्रदेश अस्पताल विवादमा तानिदै जान थालेको विभिन्न समयमा हुने बिरामीको मृत्यु र आफन्तले लगाउने आरोपले पुष्टि गर्दै गएको छ ।
प्रदेश अस्पताल सुर्खेतका मेडिकल रेकर्डर अधिकृत एवंम सूचना अधिकारी विनोद बस्नेतले सुत्केरीको उपचारको क्रममा सोमबार बिहान ३ बजेदेखि ४ बजेको समयमा मृत्यु भएको जानकारी दिए । ‘सुत्केरीलाई ज्वरो आइरहेको रहेछ,’ उनले भने, आइतबार दिउँसो अस्पताल भर्ना भएर सुत्केरी भएपछि रक्तस्राव बढी भयो । बच्चाको धड्कन चलेको थिएन । बच्चा मृत जन्मिएको थियो । सुत्केरीलाई धेरै रक्तस्राव भएका कारण बेहोस भएपछि आईसीयूमा राखेर उपचार गरिरहेको बेला उपचारकै क्रममा मृत्यु भएको हो ।’
शर्मिलालाई अस्पताल भर्ना गरेपछि बच्चा नचलेको र राती मृत बच्चा जन्मेको अस्पताल प्रशासनले जनाएको छ । यता प्रशासनले अहिले सुत्केरीका आफन्तहरू र अस्पताल प्रशासन छलफल रहेको जनाएको छ ।