काठमाडौँ । राउटे समुदायका युवा बिर्ख बहादुर शाहीको निधन भएको छ । ६ महिनादेखि बिरामी परेका २२ बर्षिय शाहीको गएराती निधन भएको हो । गएको भदौं ३१ गते मृतकलाई उपचारको लागि प्रदेश अस्पताल सुर्खेत लगिएको थियो ।
उपचार हुन नसकेपछि राउटे बसोबास गरेको स्थान गुराँस गाउँपालिका –१ सिमेलसाल लैजादैै गर्दा राती ९ बजे बाटोमै निधन भएको राउटे परियोजनाका स्वास्थ्य कर्मी विनोद बिसीले बताए । मृतक युवा शाही विगत ६ महिना देखी विरामी थिए,’उनले भने, ‘ उनी र उनको परिवारले उपचार गर्न मानेको थिएनन् । हामीले सम्झाई बुझाई गर्दा जान मानेपछि उपचारको लागि अस्पताल गएका थियौँ ।’
अस्पताल लैजानको लागि गुराँस गाउँपालिकाको सहयोगमा प्रदेश अस्पताल सुर्खेत लगिएको थियो । खगार चेक गर्दा क्षयरोग (टिबी) रोग देखिएको बिसीले बताए । ‘उपचारमा संलग्न चिकित्सकले सरुवा टिबी भएको बताएको उनको भनाई छ । क्यान्सर पो होकी भनेर मासु लिएर चेक गर्न खोज्दा राउटे मन्जुर भएनन् । अस्पताल डिस्चार्ज गरिदियो । फर्किदै गर्दा बाटोमा मृत्यु भएको हो,’बिसीले भने ।
राउटे युवा शाहीको खकार जाँज गर्दा क्षयरोग(टिबी) पुष्टी भएको प्रदेश अस्पताल सुर्खेतका एमडी जनरल फिजिसियन डा उमाकान्त जोशीले बताए । बिरामीलाई कम्तिमा दुइतिन हप्ता अस्पतालमा राखेर निरन्तर औषधी, पोषणयुक्त खाना दिएर सन्चो हुने अवस्था थियो,’उनले भने, ‘तर, बिरामीको बुबाआमालेनै दैलेख लैजान्छौँ उतै औषधी खान्छौँ र डिस्चार्ज गर्दिनुस भनेर अनुरोध गर्नुभयो । त्यसपछि अस्पतालले डिस्चार्ज गरेर पठाएको हो ।’
मृतक युवा कल्याल जातीका मुखिया वीरबहादुर शाहीका साँईला सन्तान हुन् । यस अघि मृतकका दाजु कपिल शाहीको ६ बर्ष अघि मृत्यु भएको थियो । २०७२ सालमा कपिल अछामको भैरवस्थानको कुजेडामा आगोले पोलिएका थिए । कपिल वीरबहादुर शाहीका जेठा छोरा हुन् ।
मृतक बिर्खबहादुर शाही सँगै राउटेको जनसंख्या घटेर १३४ मा झरेको छ । हाल यो समुदाय गुराँस गाउँपालिका –१ को सिमेसालमा बसोबास गरिरहेका छन् । २०७५ असार देखी यता यो समुदायमा ४३ जनाको मृत्यु भएको छ भने ३१ जनाको मात्र जन्म भएको राउटे परियोजनामा कार्यरतजोडी शिक्षक लाल बहादुर खत्रीले बताए ।