काठमाडौँ । राउटे समुदायका रपिल शाही कखरा सिक्नकै लागि जोडि शिक्षक लाल बहादुर खत्री र दुर्गा खत्रीको कोठामै पुग्छन् । लाल बहादुर खत्री र दुर्गा खत्री जोडि शिक्षक हुन् । पहिले कखरा लेख्नको लागि कापी कलम दिदा च्यातेर फाल्ने उनी अहिले कखरा सिक्न र नाम लेख्न सिक्ने इच्छा लागेको बेला शिक्षक खत्रीको कोठामै पुग्छन् ।
पहिले पढाइ प्रति खिन्नता प्रकट गर्ने राउटे बालबालिकामा पढाइ प्रति चासो बढ्न थालेको राउटे समुदायमा कार्यरत जोडि शिक्षक लाल बहादुर खत्री बताउँछन् । पहिले राउटे बालबालिकालाई पढाउन निकै मुस्किल हुन्थ्यो,’उनले भने, ‘पढ्को लागि कापि कलम दिए च्याते हिड्दिने, कलमको नीम घोटेर फाल्ने समस्या थियो । अहिले नाम लेख्न सिकाइदेउ भन्दै कोठामै आउने गर्छन ।’
राउटे समुदायका अर्को बालक हुन बन्दविर शाही । सुरु सुरुमा बन्दविर शाही पनि पढ्न भनेपछि मान्दैन थिए । अहिले उनी पनि कखरा लेख्न पढ्न आउन थालेको छ । बस्तिबाट आमा बुबालाई छलेर भए पनि पढ्ने लेख्ने इच्छा भएपछि जोडि शिक्षक खत्रीको कोठामै पुग्ने गर्छन उनी ।
एइ आइएन लक्जेमबर्गको साझेदारी,गुराँस गाउँपालिकाको समन्वय, सोसेक नेपालद्वारा राउटे समुदायमा राउटे परियोजना संचालन भएपश्चात् राउटे बालबालिकाहरु नाम लेख्न सक्ने भएका छन् । पहिले शुद्धसँगै नाम सम्म नभन्न सक्ने राउटे बालबालिकाहरु अहिले नाम लेख्न सक्ने भएको जोडि शिक्षक लाल बहादुर खत्री बताउँछन् ।
जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायका स्पष्ट तीन मान्यता छन, लेखपढ नगर्ने, एकै ठाउँमा नबस्ने र खेतीपाती नगर्ने ।
सदियौँदेखि यो मान्यतालाई अंगाल्दै आएको राउटे समुदाय अहिले परिवर्तन उन्मुख छ । राउटे बालबालिका पूर्खाको मान्यताविपरित अक्षर चिन्न थालेका छन् ।
दैलेखको गुराँस गाउँपालिका–१ को मैनीखोलामा बसेका राउटे समुदायकी ६५ वर्षिया मनिशा शाहीको निधन पश्चात् हाल गुराँस गाउँपालिका -१ कै सिमेसालमा सरेका छन् । राउटे समुदायका बालबालिका बस्तीदेखि टाढा गएर जोडी शिक्षकहरुसँग अक्षर चिन्ने प्रयास गर्छन् ।
मुखियाहरुले पढेको थाहा पाए गाली गर्छन,’ राउटे बालक रपिल शाहीले भने, ‘त्यहीँ भएर बस्तीदेखि ढाटा लुकीलुकी अक्षर चिन्न थालेका छौं ।’ घुमन्ते राउटे समुदायका लागि सोसेक नेपालले जोडी शिक्षक राखेको छ । राउटे बालबालिकाहरु तिनै जोडी शिक्षकसँग अक्षर चिन्छन् । घुमन्ते जीवन विताउने यो समुदायको संख्या एक सय ३४ छ ।
१८ वर्षमुनिका राउटेहरुको संख्या ६४ छ । समुदायका २२ जना बालबालिकाले आफ्नो नाम लेख्न सक्ने भएका छन् । उनीहरु अक्षर चिन्नका लागि जोडी शिक्षकसँग आउने गर्छन् । ‘अहिले आफ्नो नाम लेख्ने र पैसा गन्न सक्ने भएका छौं,’ राउटे बालक रपिल शाहीले भने, ‘स्कूलै गएर पढ्ने रहर थियो, हाम्रो समुदायले जान दिँदैन ।’
एउटै स्थानमा नबस्ने भएकाले यो समुदाय जहाँजहाँ गयो जोडी शिक्षकहरु पनि उनीहरुसँगै जाने गर्छन् । ‘बस्ती सर्दाबाहेकको समयमा राउटे समुदायका बालबालिका पढ्न आउँछन, उनीहरुलाई खेल्ने सामाग्री दिएर अक्षर चिनाउने गरेका छौं,’ जोडी शिक्षक खत्रीले भने, ‘बालबालिकामा पढ्ने रहर ठूलो छ, तर, अभिभावकको दबाबका कारण उनीहरु खुलेर पढ्न आउँदैनन् ।’ जंगलबाट दाउरा ल्याउने, काठ काट्ने र खेल्ने बहाना बनाएर राउटे बालबालिका जोडी शिक्षकसँग आउने गर्छन् ।
‘समुदायका मुखियाले आफ्नो मान्यताविपरितका कामहरु गर्नुहुन्न भनेर उर्दी जारी गरेकाले पनि बालबालिकाहरु लुकेर आउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘राउटे समुदायका बालबालिकामा पढ्ने चाहना अत्याधिक हुँदाहुँदै पनि त्यहीँ मान्यताले उनीहरुलाई रोकेको छ ।’
लोपोन्मुख राउटे समुदाय नेपालको एक मात्रै भ्रमणशील समुदाय हो । समुदायका कोही मान्छे मर्ने बित्तिकै उनीहरु ठाउँ छाड्छन् । यसले गर्दा समुदायका बालबालिका नियमित पढ्न पाउँदैनन् । सुरुमा बालबालिकालाई पढाउनका लागि जोडी शिक्षकले धेरै समस्या झेल्नुप¥यो । बालबालिका पढ्न आउन मान्दैनथे । जोडी शिक्षक भन्ने वित्तिकै मुखियाहरुले बस्तीमा प्रवेश दिँदैनथे ।
‘सुरुसुरुमा काठ काट्न र सिकार खेल्न सँगै जंगल गएर पनि अक्षर चिनायौं,’ उनले भने, ‘अहिले भने खोजीखोजी पढ्नका लागि आउँछन् ।’
राउटे समुदायका बालबालिकाहरुले अक्षरसँगै कागजबाट पुतली, माछा, तारा, घरलगायतका खेलौनाहरुमा रंग भर्न थालेको सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले बताए ।