ललितपुर, १७ भदौ । विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमण थप १,१२० जनामा देखिएको र १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो वृद्धिसँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ४१,६४९ पुगेको छ।
यससँगै कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २५१ पुगेको छ। बुधवार अपराह्ण आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले देशभरि १८,१०८ सङ्क्रमित भएको बताए।
तीमध्ये ७,६१५ जना घरमै र १०,४४३ जना संस्थागत आइसोलेशनमा छन्। अहिले काठमाण्डू उपत्यकासहित विभिन्न जिल्लामा सङ्क्रमितहरू फेला परेका हुन्। सरकारको तथ्याङ्कअनुसार अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्।
विगत २४ घण्टामा १११२ जना पीसीआर विधिबाट परीक्षण गर्दा रोगमुक्त देखिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए। अहिलेसम्म झन्डै ५६ प्रतिशत सङ्क्रमितहरू अर्थात् २३,२९० जना निको भइसकेका छन्। देशभरि क्वारन्टीनमा ६,७६६ जना छन्।
भदौ १४ गते १,२२१ जनामा सङ्क्रमण पुष्टि भएको थियो। त्यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो। मन्त्रालयतले भदौ ११ गते बिहीवार १,१११ जनामा सङ्क्रमण देखिएको पुष्टि गरेको थियो। त्यसअघि भदौ २ गते सङ्क्रमितको सङ्ख्या पहिलो पटक १,००० नाघेको थियो।
विगत २४ घण्टामा काठमाडौं उपत्यकामा ३८८ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसमध्ये काठमाडौंमा ३५० जना, ललितपुरमा २९ जना र भत्तपुरमा ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । आज १११२ जना निको भएर डिस्चार्ज भएका छन् ।
त्यसैगरी कोरोना भाईरस (कोभिड–१९) संक्रमणबाट पाटन अस्पतालमा उपचाररत ललितपुरकी एक महिलाको मृत्यु भएको छ । ७० वर्षिय उक्त महिलालाई केहिदिन देखि लगातार रुघाखोकि र ज्वरो आएपछि तीनदिन अगाडि पाटन अस्पतालको आईसियु कक्षमा राखि उपचार गरिएको स्रोतले बताएको छ । उहाँको बुधबार बिहान चार बजे निधन भएको हो । अहिले नेपाली सेनाले शव व्यावस्थापन गर्न लागेको अस्पतालले जनाएको छ ।
- एकैदिन एक हजारभन्दा बढी सङ्क्रमित थपिए, ११ जनाको मृत्यु
- ब्रेकिङः एकैदिन काठमाडौंमा ४८१ जनामा संक्रमण पुष्टि
- उपत्यकामा निषेधाज्ञा बढाउने तयारी
- पूर्वन्यायाधीशको कोरोना संक्रमणबाट मृत्यु
- कोरोनाविरुद्धको भ्याक्सिनलाई अनुमति दिन हतार