काठमाडौँ । रुकुम पश्चिममा परम्परागत लाखे नाच आज बिहिवारबाट सुरु हुँदै छ । बिहिवारबाट सुरु हुने नाच श्रीकृष्णजन्माष्टमीको भोलीपल्ट भदौ ११ गतेसम्म चल्ने लाखे नाच संरक्षण समितिका उपाध्यक्ष केशव नेपालीले बताए ।
आजबाट श्री कृष्णजन्माष्टमीको भोलीपल्टसम्म खलङ्गा, बागबजार, सेरिगाऊ, सल्ले लगायतका बजार क्षेत्रमा हरेक दिन नाच देखाइने छ । श्रीकृष्ण सहित राक्षसको स्वरूपमा बनाइने खप्पर, कालिकाको वस्त्र सहित व्यक्तिलाई श्रृंगारेर नचाउने गरिन्छ ।
कंसलाई कुखुरा भोग दिएर सुरु हुने लाखे जात्रा श्रीकृष्णजन्माष्टमीको भोलीपल्ट कंसलाई नै मारेर समापन गर्ने गरिन्छ । बोकालाई कंस मानेर बलि दिएपछि लाखे नाचको औपचारिक समापन भएको मानिन्छ । जात्राको अन्तिम दिन सदरमुकाम खलङ्गाको बराहटाकुरामा मेला लाग्छ ।
जात्रा सुरु भएदेखि खलङ्गा सहित अन्य बजार क्षेत्रमा हरेक दिन नाच देखाउने गरिन्छ भने अन्तिम दिन बराहटाकुरामा मेला सहित नाच देखाउँदै लाखे मारेर जात्राको औपचारिक समापन गर्ने गरिन्छ ।
द्वापर युगको अन्त्यतिर वासुदेव र देवकीको आठौँ गर्भबाट विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले कंसलाई मारेको सम्झनामा रुकुम पश्चिममा २०४० साल देखि हरेक वर्ष लाखे जात्रा मनाउँदै आएको लाखे नाच संरक्षण समितिका उपाध्यक्ष नेपालीले बताए ।
भगवान् कृष्णलाई मार्न कंसले बहिनी पूतनालाई प्रयोग गरेको र पूतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर जिल्लामा हरेक वर्ष लाखे नाच्ने परम्परा रही आएको छ ।