काठमाडौँ । छ वर्ष अघि २०७५ फागुन १० मा १२ वर्षिय सुरमान र ३२ वर्षका शिवराज शाहीको विवाह भयो । त्यस्कै अर्को दिन फागुन १२ गते १२ वर्षिय मयाराम शाहीसँग ३४ वर्षिय दल बहादुर शाहीको विवाह भयो । १२ वर्षको कलिलै उमेरमा विवाह गरेकी सुरमान शाही र १२ वर्षिय मयाराम शाहीको टाउकोमा एउटा सिंगो जिम्मेवारी थपियो । बाआमासँग खुशीसाथ बसेकी सुरमान र मयाराम शाहीको पारिवारिक जिम्मेवारी सुरु भयो ।
विवाह गरेका नयाँ दम्पती एकअर्कामा घुलमिल हुँदै आफ्नो संसार बसाउँदै थिए । दुर्भाग्य २०७८ वैशाख ११ गते सुरमानका श्रीमान शिवराज शाहीले ३६ वर्षको उमेरमा संसार त्यागे । शिवराजले संसार त्यागेको तीन महिना पछि २०७८ श्रावण १८ गते मयाराम शाहीका श्रीमान दल बहादुर शाहीले ३८ वर्षको उमेरमा उनले पनि संसार छाडे । त्यसपछि कलिलै उमेरमा एकल भइन् सुरमान र मयाराम शाही । कलिलै उमेरमा बिवाह गरेर कलिलै उमेर श्रीमान गुमाउने राउटे युवतीको जीवन दयनीय छ ।
१२ वर्षको उमेरमा विवाह गरेकी सुरमान शाही र १२ वर्षको उमेरमा नै विवाह गरेकी मयाराम शाही श्रीमानको मृत्युपछि १४ वर्षको उमेरबाट एकल जिन्दगी बिताउँदै आएकी छन् । अब उनीहरुले जिन्दगीभर नै एकल भएर जिन्दगी बिताउँनुपर्नेछ ।
१२÷१५ वर्षको उमेरमै बिवाह गरेर १६÷१८ वर्षको उमेरमा श्रीमान गुमाउने राउटे समुदायका युवतीहरुले जिन्दगीभर एकल राउटे समुदायमा पछिल्लो समय कलिलै उमेरमा श्रीमानको मृत्यु भएपछि एकल हुने राउटे समुदायका महिला युवतीहरुको यो अवस्थाले उनीहरु पीडादायी जीवन बाच्न बाध्य छन् । एकल हुने यो संख्या घट्दै जानुपर्नेमा बढ्दै गएको तथ्यांकले देखाउँछ ।
भर्खरको बिहे गरेर श्रीमानसँग बसेर खुशी हुने यो समयमा कलिलै उमेरमा एकल भएर जीवन बिताउनु परेको उनीहरु बताउँछन् । पहिले बिहे गर्दा यस्तो होला सोचेकै थियनौँ,सुरमानले भनिन्, बिहे गर्दा त खुशी थियौँ, यसैगरी खुशी भएर बसौँला सोचेको थियौँ । तर,बिहे गरेको केही समयमै बिरामी परेर बित्नुभयो ।’
सोसेक नेपालले दिएको तथ्यांक अनुसार राउटे समुदायमा एकल महिलाको संख्या १६ जना रहेको छ । जस्मा एकल महिलामा १६ वर्ष उमेर समूहका २ जना, २३ वर्षको एकजना, २१ वर्ष उमेरसमुहका एकजना, ३२ देखि ३४ वर्ष उमेर समुहका एकजना, र ३५ वर्ष देखि ८२ वर्ष उमेरसमुहका ११ जना एकल महिला रहेको सोसेक नेपालद्वारा संचालित राउटे परियोजनामा कार्यरत जोडि शिक्षक लाल बहादुर खत्री बताउँछन् ।
समुदायमा अत्यधिक मदिरा सेवनका कारण श्रीमानहरुको मृत्यु भएपछि उनीहरू सानै उमेरमा एकल बनेका खत्री बताउँछन् । अध्यधिक मदिरा सेवनका कारण मृत्यु भएर एकल हुने गरेको देखिन्छ,उनले भने, ‘केहीको बिरामी परेर मृत्यु हुने गरेको छ ।’
राउटेको संस्कारअनुसार उनीहरूले दोस्रो विवाह गर्न पाउँदैनन ।राउटे समुदायमा रास्कोटी, स्ववंशी र कल्याल गरी ३ किसिमका शाहीहरूको बसोबास छ । उनीहरूबीच एक अर्काको थरमा मात्र विवाह हुन्छ । समुदायमा कल्यालको संख्या धेरै भएकाले स्वबंशी र रास्कोटी थरका किशोरीको कलिलै उमेरमा विवाह हुने गरेको लाल बहादुर खत्री बताउँछन् । एउटै थरका युवाहरू धेरै हुँदा बालविवाह र अनमेल विवाह धेरै हुने गरेको उनले जानकारी दिए ।
अलमेल र बालविवाहका कारण राउटे युवतीहरू सानै उमेरमा एकल बन्दा र उनीहरूले दोस्रो विवाह गर्न नपाउँदा राउटेको जनसंख्या घटिरहेको सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापा बताउँछन् । ‘समुदायमा कसैको १२ वर्ष नपुग्दै विहे हुन्छ भने कोहीको ४०, वर्षसम्म विवाह नै हुँदैन,’ उनले भने, ‘युवालाई पनि अर्को थरको छोरी जन्मिए १०÷१२ वर्ष पुग्ने बेलासम्म विवाह कुनुपर्ने बाध्यता छ ।’
समुदायमा श्रीमान् गुमाएका महिलाले विहे गर्नु अपराध मानिने राउटे समुदायका मुखिया सूर्यनारायण शाही बताउँछन । उनका अनुसार बस्तीमा अहिले राउटेको संख्या १ सय ३७ मात्र छ । १३७ अनुसार बाँकी त्यसमध्ये ७३ जना कल्याल, ४३ जना रास्कोटी र २१ जना स्वंवंशी थरका छन । जहाँ महिलाको संख्या ७४ छ । भने पुरुष ६३ जना मात्र रहेका छन् । त्यसमध्य पनि स्वबंशीमा पुरुषको संख्या थोरै रहेको छ । जम्मा ११ जना संख्या मात्रै छ ।
‘कल्याल समुदायका युवायुवतीले रास्कोटी र स्वबंशीका छोराछोरी नहुँदा बिहे गर्ने उमेर पुग्दा समेत पनि विहे गर्न पाएका छैनन,’ उनी भन्छन, ‘समुदाय बाहिर विवाह गर्न मिल्दैन, यहाँ युवायुवतीको उमेर नै मिल्दैन ।’
राउटे समुदायमा २०७५ देखि जोडि शिक्षकका रुपमा सहजकर्ताको रुपमा कार्यरत दुर्गा खत्रीले कल्याल समुदायमा विवाह गर्ने उमेर पुगेका १७ जना युवाको विवाह नभएको बताइन । कतिको बिहे हुन बाँकी छ । बिहे गर्न उमेर पुगेका युवतीहरु ७ जना , १५ वर्ष माथिको पुरुषहरु ९ जना रहेका छन् ।
पछिल्लो समय राउटे समुदायले अत्यधिक मदिरा सेवन गर्ने गरेको र यस्को नियन्तण गर्न राज्यले ध्यान नदिएको समुदायमा कार्यरत खत्रीको भनाई छ । समुदायले अत्यधिक मदिरा सेवन गर्ने कुरालाई कुनै सरकारले गम्भिरतापूर्वक लिएको पाइँदैन,उनी भनछन्, राज्यले उपलब्ध गर्ने भत्तालाई तीन महिनाको एकैपटक बितरण गर्दा राउटे समुदायमा मदिराका लत बढ्दै गएको र यसप्रति राज्य गम्भिर भएर नसोच्ने हो भने राउटे समुदाय इतिहासमा मात्र सिमित हुनेछ ।’
निरन्तर घट्दै जनसंख्या
नेपालमा लोपोन्मुख फिरन्ते जातिका रूपमा रहेको राउटे समुदायको जनसंख्या पछिल्ला वर्षमा तीव्र गतिमा घट्दै गइरहेको छ । राष्ट्रिय मानवअधिकार आयोगले घुमन्ते–फिरन्ते राउटेको मानवअधिकार अवस्थाका विषयमा गरेको अध्ययन प्रतिवेदन २०८१ ले राउटेको जनसंख्या प्रत्येक वर्ष घट्दै गएको देखाएको छ । आयोगले पछिल्लो ६ वर्षको अवधिमा राउटे समुदायमा गरेको तुलनात्मक अध्ययनमा जन्मदरभन्दा मृत्युदर बढेको पाइएको छ ।
२०७५ सालमा एक सय ४९ रहेको राउटेको जनसंख्या अहिले घटेर एक सय ३७ मा झरेको छ । यस अवधिमा राउटे समुदायका १२ जनाको मृत्यु भएको तथ्यांकले पुष्टि गर्छ । २०७५ सालमा एक सय ४९ रहेको राउटेको संख्या एक जनाले घटेर २०७६ मा एक सय ४८ पुगेको थियो । २०७७ मा पुनः तीन जना घटेर एक सय ४५ मा झर्यो ।
यस्तै, २०७८ मा एक जना घटेर एक सय ४४ भएको राउटेको संख्या २०७९ मा फेरि एक जनाको मृत्यु भएर एक सय ४३ मा सीमित भयो । २०७९ देखि १५ माघ २०८० सम्म घुमन्ते-फिरन्ते राउटेको जनसंख्या ६ जनाले घटेर एक सय ३७ भएको छ, जसमा महिला ७४ र पुरुष ६३ रहेका छन् ।
यो समुदायमा नयाँ जन्ममा लामो अन्तराल भएको पाइएको छ, जसमा साढे दुई वर्षको अवधिमा २०८० साउन र भदौमा दुई शिशु (बालिका) को जन्म भएको छ । राज्यको यथोचित ध्यान पुग्न नसक्नु, कमजोर जनस्वास्थ्य, कुपोषण, उपचारमा पहुँच नहुनु/नराख्नु, प्रजनन स्वास्थ्य अभाव, गुणस्तरहीन परम्परागत आवासमा बसोबास, मौसमअनुकूल लत्ताकपडा अभाव, स्वच्छ खानेपानी तथा सरसफाइको अभावजस्ता कारणले राउटेको जनसंख्या ऋणात्मक बन्दै जान थालेको आयोगको अध्ययनमा उल्लेख छ ।
नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र, १९६६ अनुसार राज्यले कुनै पनि अवस्थामा कुनै पनि नागरिकलाई आफ्नो जीवन धान्ने उपायबाट वञ्चित गराउन पाइँदैन ।
आदिवासी जनजातिसम्बन्धी महासन्धि, १९८९ (अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि नम्बर १६९) ले पनि फिरन्ते नागरिक र घुमन्ते किसानहरूको अवस्थाउपर विशेष ध्यान दिनुपर्ने राज्यको दायित्वका रूपमा व्याख्या गरेको छ । यी व्यवस्था राउटेको हकमा कार्यान्वयन हुन नसक्नु पनि उनीहरूको संख्या घट्नुको कारक बनिरहेको छ । नेपाल सरकारले लोपोन्मुख आदिवासी जनजातिमा सूचीकृत यो समुदायप्रति राज्यको जिम्मेवारी थप सुदृढ नहुने हो भने एउटा प्रथाजनित परम्परासहितको पृथक समुदाय पृथ्वीबाटै लोप हुने प्रवल सम्भावना रहेको आयोगले गरेको अध्ययनको निष्कर्ष छ ।
नेपालको घुमन्ते–फिरन्ते लोपोन्मुख अल्पसंख्यक आदिवासी जनजाति राउटेहरू अक्सर कर्णाली प्रदेशका विभिन्न जिल्लामा घुमफिर गर्दै बसोबास गर्दै आएको छ । राउटे सुदूरपश्चिम प्रदेशको अछाम, कर्णाली प्रदेशको जाजरकोट, दैलेख, सल्यान र सुर्खेत तथा लुम्बिनी प्रदेशको दाङसम्म पुग्ने गर्छन् । राउटे समुदायमा ४७ प्रतिशत नागरिक १८ वर्षमुनिका छन् ।
आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६६ अनुसार बालबालिकाको हेरचाह र शिक्षाको दायित्व राज्यको हुने हुँदा सम्भव भएसम्म व्यापक सुरक्षा र सहायता दिनुपर्ने व्यवस्था न्यूनतम पनि कार्यान्वयनमा आउन सकेका छैनन् । घुमन्ते-फिरन्ते राउटे समुदायमा तीन जना अपाङ्गता लिएर बाँचिरहेका छन् भने १६ जना एकल महिला (श्रीमान् गुमाएका) छन् । यो संख्या कूल महिलाको १८ प्रतिशत हो ।
हाल लोपोन्मुख जातिका रूपमा रहेको राउटे समुदाय बसोबास दैलेखको गुराँस गाउँपालिका-१ को टिमीले खोलास्थित कर्णाली राजमार्गको छेउमा रहेको छ ।