काठमाडौँ । दक्षिण एशियाका लगभग अन्तिम घुमन्ते जाती हो राउटे समुदाय । पहिले नजिकका गाउँहरुमा अन्नसँग आफूले बनाएका काठका सामाग्रिसँग साटेर जिविकोपार्जन गर्दै आएका राउटे समुदाय पछिल्लो समय भने परनिर्भर हुँदै गएका छन् । सरकारले उपलब्ध गर्ने भत्ताले उनीहरु परनिर्भर हुन थालेका छन् ।
सरकारले प्रति व्यक्ति मासिक चार हजार उपलब्ध गराउने भत्तालाई तीन महिनाको एकैपटक बितरण गर्नाले पनि राउटे समुदाय परनिर्भर हुन बल पुगिरहेको छ । तीनवटै तहका सरकारले राउटे समुदायको संरक्षणमा चासो नदेखाउँदा दिनहुँजसो राउटे समुदाय परनिर्भरतर्फ धकेलिरहेका छन् । राउटे समुदायलाई स्थानीय सरकारले मदिरा सेवनमा कडाई नगर्दा र तीन महिनाको भत्ता एकै पटक बितरण गर्दा राउटे समुदायनै मदिरामा लिप्त हुन थालेको राउटे समुदायमा कार्यरत जोडि शिक्षक लाल बहादुर खत्री बताउँछन् ।
मदिरा सेवन लगायत विभिन्न कारणले राउटे समुदायमा २०७५ असार १७ गते देखि यता हालसम्म ४० जनाको मृत्यु भइसकेको खत्रीले बताए ।
जन्मदर भन्दा मृत्युदुर बढ्दो
पछिल्लो समय राउटे समुदायमा जन्मदर भन्दा मृत्युदर बढ्दो अवस्थामा रहेको छ । सोसेक नेपालले दिएको तथ्यांक अनुसार राउटे समुदायमा २०७६÷ ७७ मा ४ जनाको जन्म भएको थियो भने १० जनाको मृत्यु भएको छ ।
त्यस्तै २०७७ ÷७८ मा ७ को जन्म ६ जनाको मृत्यु, २०७८÷ ७९ मा जन्म शून्य, मृत्यु २ जना, २०७९÷ ८० मा ४ जनाको जन्म ८ जनाको मृत्यु, २०८० ÷८१ मा १ जनाको जन्म र १ को मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।
मदिराले ओछ्यानमै थला पर्दै राउटे, उपचार गर्न मान्दैनन्
राउटे समुदायका बिर्ख बहादुर शाही २१ वर्षको भए । पहिले हसटपुस्ट राउटे समुदायका एक युवामा मानिन्थे उनी । तर,अहिले ओछ्यानबाट उठेर यताउता हिड्डुल गर्न समेत सक्दैनन् । सानै उमेरबाट अध्यधिक मदिराको सेवन थालेका उनले मदिराको सेवन बढाउँदै लिए । जस्का कारण उनको अहिले स्वास्थ्य अवस्था नाजुक रहेको राउटे समुदायमा कार्यरत लाल बहादुर खत्री बताउँछन् । उनका अनुसार पहिले बिर्ख बहादुर राटे समुदायका स्वस्थ्य र खाइलाग्दो ज्यान भएका थिए । तर,अहिले उनै ओछ्यानमा पल्टेको पाँच महिना जति भयो । उपचार गर्न मान्दैनन् ।
पहिले उनी स्वस्थ हुँदा कर्णाली र सुदुपश्चिम प्रदेशका जिल्लाहरुमा डुल्दै प्रदेश तथा स्थानीय तहमा गएर पैसा सहयोग माग्दै उठेको सबै पैसा मदिरामा खर्च गर्दथे । उठेको पैसाले अत्यधिक मदिरा सेवनले उनको स्वास्थ्य अवस्था एकदमै नाजुक रहेको राउटे समुदायमा कार्यरत स्वास्थ्यकर्मी बताउँछन् । चैत्र महिनादेखि ओछ्यानमै थला परेको र उनलाई क्षयरोग भएको आसंका गरिएको स्वास्थ्यकर्मीको भनाई छ । बाहिर लिन र खकार पनि जाँच गर्न पनि नदिएको उनको भनाई छ ।
राउटे समुदायकै अर्का बिरामी हुन सुरेन्द्र शाही । उनी ३५ वर्षको भए । उनको पनि अत्यधिक मदिराका कारण स्वास्थ्य अवस्था कमजोर भएर (प्यारालाइसेस) पक्षघात भएको बताइएको छ । उनको स्वास्थ्य अवस्था दिनहुँ कमजोर हुँदै गइरहेको छ । बिरामी भए स्वास्थ्य संस्था जान नमान्ने उनीहरुका लागि समुदायमै स्वास्थ्यकर्मी छन् तर,पनि उनीहरुले उपचार गर्न नमान्ने गरेको खत्रीको भनाई छ ।
राउटे समुदायका बिर्ख बहादुर र सुरेन्द्र मात्र नभएर राउटे समुदायनै मदिरामा लिप्त हुन थालेको छ । सरकारले भत्ताबापत दिने पैसाले राउटे समुदायमा मृत्युदर बढेको र जन्मदर घट्दै गइरहेको सोसेक नेपालद्वारा राउटे समुदायमा संचालित राउटे परियोजनामा कार्यरत जोडि शिक्षक लाल बहादुर खत्री बताउँछन् । म प्रत्येक दिन राउटे दम्पतीसँग भेटेर मदिराकै कारण तपाईँहरुको जनसङया घटेको र कुनै बच्चा नजन्मेको भनेर मदिरा नपिउन आग्रह गर्छु,’ उनी भन्छन, ‘केही समय मान्छन् पुन सरकारले चार महिनाको भत्ता एकैपटक हातमा थुर्पादिन्छ त्यस्ले गर्दा पनि धेरै पैसा देखेपछि मदिरा पिउन थाल्छन् ।’
एकैपटक मोटो रकम पाउँदा सदुपयोग भन्दा दुरुपयोग बढी
राउटे समुदायलाई सरकारले नै सिध्याउन लागि परेको खत्री बताउँछन् । सरकारले बितरण गर्ने भत्ता तीन महिनाको एकै पटक बितरण गर्ने गर्दछ जस्ले गर्दा राउटेलाई पैसा फालाफाल हुन्छ त्यस्ले गर्दा उनीहरुले त्यो पैसा मदिरामा खर्च गर्ने गरेका छन् ।
जबसम्म सरकारले राउटे समुदायको हित चाहदैन तबसम्म संघ संस्थाले जति गरेपनि केही नहुने जोडि शिक्षक खत्री बताउँछन् ।
सरकारले पहिले महिनाहरुजस्तै यहि असारको अन्तिम साता पनि तीन महिनाको भत्ता एकैपटक बितरणमा निरन्तरता दिएको छ । राउटे समुदायमा १३७ जनालाई १२ हजारका दरले १६ लाख ४४ हजार भत्ता बितरण गरिएको जोडि शिक्षक लाल बहादुर खत्रीले बताए । सरकारले तीन महिनाको भत्ता एकैपटक बितरण गर्ने कुराले राउटे समुदायले पैसाको सदुपयोग भन्दा पनि मदिरामा दुरुपयोग बढाएको उनको भनाई रहेको छ ।
सामाजिक सुरक्षा भत्ता लगायतका ३÷३ महिनामै निकासा हुने र त्यो भत्ता समुदायमा बितरण गर्नुपर्ने बाध्यता रहेको गुराँस गाउँपालिका अध्यक्ष टोप बहादुर बिसी बताउँछन् । 'नियमित रुपमा भत्ता आउँदैन हामी तीन महिनाको भत्ता एकैपटक दिन बाध्य छौँ’,उनले भने ।
राउटे समुदायको शिक्षा स्वास्थ्यम लगायतका अन्य कुराहरुको लागि राउटे बस्तिमा कार्यरत कर्मचारीहरु हटाउने निर्णय गरेका छौँ’,उनले भने, ‘उहाँहरुले कुनै पनि व्यवस्थापनको काम गर्न नसकेका कारण उहाँहरुलाई हटाउने निर्णय गरेका छौँ ।’
राउटे समुदायमा सोसेक नेपाल दैलेखबाट चारजना खटाइएको छ । उनीहरुले व्यवस्थापनमा राम्रो नगरेका कारण उनीहरुलाई हटाएर पालिका वा सामाजिक विकास मन्त्रालयबाट अन्य व्यवस्था गर्ने अध्यक्ष बिसीको भनाई छ ।
परिचयपत्रबाट राउटेको प्रभु बैङ्कमा खाता खोलि सकिएको र राउटे समुदाय जुनसुकै पालिकामा गएपनि सोही ठाउँको पालिकासँग समन्वय गरे आवश्यक्ता अनुसार पैसा बितरण गरेर मदिरा नियन्तण गर्न सकिन्छकि भनेर लागि परेका छौँ,अध्यक्ष बिसीले भने, त्यो कुरा भएन भने मदिरा नियन्तण गर्न खाद्यन्न बितरण गरेर हुन्छ कि भन्ने कुरा पनि सोचिहेका छौँ ।’