सिमकोट । हिमाली जिल्ला हुम्ला यस वर्ष रोपाइँ सम्पन्न भएको छ। अधिकांश धानखेती गर्ने जग्गामा सिँचाइको ब्यवस्था हुनु र वर्षा पनि भएका कारण अधिकांश जग्गामा रोपाइँ गर्न सम्भव भएको हो।
चंखेली गाउँपालिका– ४ की किसान बासना शाहीले धेरै धान खेती हुने दार्म जिउलामा रोपाइँ कार्य सम्पन्न भएको बताइन्। उनले आफ्नो गाउँपालिकामा सतप्रतिशत रोपाइँ कार्य किसानले सकेको बताउदै सिंचाई सुबिधा भएको कारण र पानी पनि परेकोले रोपाइँ काम समय मै गर्न पाएको बताईन। उक्त जिउलामा दुई हजार रोपनी भन्दा बढी जग्गामा धान खेती हुने गरेको छ। यता सर्केगार्ड गाउँपालिका– ३ को उनापानी गाउँका किसान कमल महताराले गाउँभरि सवै रोपाइँ कार्य सम्पन्न भएको बताए।
गतवर्ष साउन १२ गते गएको पहिरोले सिंचाई कुलो भत्काए पनि त्यसलाई मर्मत गरिएको कारण सिचाई सुबिधा भएको कारण चाँडै रोपाइँ कार्य भएको हो। यस वर्ष अधिकांश किसानले रोपाइँ कार्य सम्पन्न गरि सकेको कारण हाल वर्षा पनि भएकाले झनै सहज भएको हो। यता ताँजाकोट गाउँपालिका– ३ का किसान जगत शाहीले गाउँपालिका भरि सतप्रतिशत खेतमा रोपाइँ कार्य भएको बताउदै हाल किसानले मैजारो समेत गरि सकेको बताए ।
लामो खडेरी परेको भएपनि सिंचाई सुबिधा गाउँपालिका भर भएको कारण पनि रोपाइँ गर्न संम्भव भएको हो। कृषि बिकास कार्यालयका प्रमुख बखतबहादुर खड्काले जिल्लाभर सबै खेतमा धान रोपाइँ गर्ने कार्य पुरा भएको बताए। सिंचाई सुबिधा हुनु र पछिल्लो समय पानी पनि परेको कारण रापाईमा सहज भएको हो।
जब कि गतवर्ष यो अवधिमा ८७ प्रतिशत खेतमा सिंचाई कार्य सम्पन्न भएको थियो। प्रमुख खड्काले जिल्लाभर मार्सी धान खेती हुने गरेको र अधिकांश खेतमा सिंचाई सुबिधा पुगेको कारण समय मै रोपाइँ काम पुरा भएको बताए। समयमै धान रोपाइँ कार्य सम्पन्न भएकाले किसानहरु खुसी भएको गाउँपालिकाबाट खवर आएको उनले बताए।
केही जग्गामा भने परम्परागत कुलोबाट पनि सिंचाई सुबिधा पुगेको उनले बताइन् । हुम्ला जिल्लामा एक हजार हेक्टर जग्गामा धान खेती हुने गरेको छ। हुम्ला जिल्लामा धान खेती नाम्खा गाउँपालिका बाहेक अन्य सिमकोट, खार्पुनाथ, सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकामा हुने गर्छ। हुम्लामा उत्पादन हुने सवै धान मार्सी रहेको छ। किसानहरुले भने रोपाइँ कार्य परम्परागत रुपमा गर्दै आएका छन्।