काठमाडौँ । दैलेखको दुल्लू नगरपालिका वडा नम्बर -१ डुङेश्वर स्थित नमुना बस्तिका देविसरा बादीलाई पहिले पानी लिन १ घण्टा लाग्थ्यो । उनको दिनचर्या नै खोलाको पानी लिनमा बित्ने गर्दथ्यो । तिर्खा मेटाउन कै लागि खोलाको दुषित पानी भए पनि पानी लिनका लागि आधा घण्टा र पानी भरेर फर्किन १ घण्टा लाग्ने गरेको थियो ।
एकीकृत जलस्रोत परियोजना (हेल्भेटास), यूनिसेफ नेपाल, दुल्लू नगरपालिकाको साझेदारी, सोसेक नेपालको सहजिकरण र स्थानीय श्रमदान समेत गरि करिब ७१ लाख संयुक्त लगानीमा नमुना बस्तिमा २२ वटा धारा जडान गरिएको सोसेक नेपालका सव ईन्जिनियर डम्बर केसीले बताए ।
उनका अनुसार नमुना बस्ति सहित डुङेश्वर बजार समेत गरि जम्मा १०६ वटा धारा निर्माण गरिएको उनी बताउँछन् ।
नमुना बस्तिमा अहिले खानेपानीका धारा घरघरमा पुगेपछि नमुना बस्तिका बादी समुदाय खुशी सँगै दंग छन् । पहिले पानीको चरम समस्या भोग्दै आएका बादी समुदाय बस्तिमै पानी पुगेपछि खानेपानीको समस्याबाट छुटकारा हुने बादी समुदायका अगुवा हिरासिंह बादी बताउँछन् । उनका अनुसार पहिले दुषित पानी पिउने हुँदा निकै समस्या थियो । तर, अहिले त्यो समस्या हटेको उनी बताउँछन् ।
पहिले पानी नहुँदा शौचालयमा प्रयोग गर्ने पानी समेत थिएन । शौचालयमा प्रयोग गर्ने पानी नहुँदा यो समुदायलाई निकै समस्या थियो तर, पछिल्लो समय पानी पुगेपछि सरसफाई लगायतका कुरामा सहज भएको उनी बताउँछन् ।
पहिले सहरी विकास मन्त्रालय र कारितास नेपालको साझेदारीमा नमुना बस्तिसँगै थाप्ले खोलाबाट बस्तिमा पानी ल्याइएको थियो । पहिरोका कारण मुहाननै बगाएपछि वादी समुदायले लामोसमय देखि खानेपानीको समस्या झेल्दै आएका थिए ।
अहिले भुवापानी खानेपानी योजना अन्र्तगत बस्तिमा पुन पानी पुग्दा यो समुदाय हािर्षत भएको छ । पहिले पुरानो पानीको मुहाननै पहिरोले बगाउँदा आफूहरुलाई ठुलो समस्या भएको हिरासिंह वादी बताउँछन् । पानीको मुहाननै पहिरोले बगाउँदा निकै समस्या भयो',उनले भने, 'पानीको प्यास मेटाउँदा घण्टौँ हिडेर रेवती खोला र लोहोरे खोलाको दुषित पानी पिउँथ्यौँ अहिले नगरपालिका र सोसेकको पहलले शुद्ध पिउने पानी पिउन पाउँने भयौँ ।'
बस्तिमै शौचालय र फोहोर फाल्ने खाल्डो
बस्तिमा पानीको जाहो भएसँगै थप शौचालय समेत निर्माण गरिएको सव ईन्जिनियर केसीको भनाई छ । बस्तिमा पहिले संघिय सरकार र कारितास नेपालको साझेदारीमा बस्तिसँगै १० वटा सामुहिक शौचालय निर्माण भएपनि जिर्ण अवस्थामा थिए',उनले भने, 'अहिले बस्तिमा १५ वटा नयाँ शौचालय निर्माण गरिएको छ ।’
नमुना बस्तिका बादी समुदायमा पिउने पानीको जोहो भएसँगै सरसफाईमा पनि ध्यान दिन थालेकाछन् । पहिले पानीको समस्याका कारण सरसफाईमा चासो नदिएका बादी समुदायले बस्तिमा पानी पुगेसँगै सरसफाइमा ध्यान दिन थालेको हिरासिंह बादी बताउँछन् । उनका अनुसार बस्तिका प्रत्येक घरमा सरसफाइसँगै फोहोर फाल्ने खाडल समेत निर्माण गरिएको उनी बताउँछन् ।