ललितपुर, १२ भदौ । विगत २४ घण्टामा नेपालमा ९२७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
देशभरि सङ्क्रमण पुष्टि हुने व्यक्तिको सङ्ख्या ३६,४५६ पुगेको छ। सो अवधिमा कोभिड–१९ देखिएका थप १२ जनाको मृत्यु भएको सरकारले पुष्टि गरेको छ। यो एकै दिन मृत्यु पुष्टि भएको सबैभन्दा ठूलो सङ्ख्या हो।
एक चिनियाँ नागरिकसहित देशभरि १९५ जनाले कोरोनाभाइरससँग सम्बन्धित कारणले ज्यान गुमाइसकेका छन्। अहिले देशभरि १६,०१९ जनामा सक्रिय सङ्क्रमण भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रवार अपराह्ण आयोजित दैनिक प्रेस ब्रीफिङमा बताए।
मन्त्रालयतले भदौ ११ गते बिहीवार १,१११ जनामा सङ्क्रमण देखिएको पुष्टि गरेको थियो। त्यसअघि भदौ २ गते सङ्क्रमितको सङ्ख्यामा पहिलो पटक १,००० नाघेको थियो।
चौबीस घण्टाको अवधिमा १०,२२९ वटा नमुनाको परीक्षण गरिएकोमा १६९ जना सङ्क्रमणमुक्त देखिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए। अहिलेसम्म २०,२४२ सङ्क्रमितहरू निको भइसकेको सरकारको तथ्याङ्कले देखाउँछ। देशभरि क्वारन्टीनमा ८,९३९ जना छन्। तीमध्ये सुदूरपश्चिम र गण्डकी प्रदेशमा हुनेको सङ्ख्या बढी छ।
यसअघि भदौ ५ गते सरकारले ८३८ जनामा सङ्क्रमण र ११ जनाको मृत्यु भएको पुष्टि गरेको थियो।
भदौ ७ गते थपिएका सङ्क्रमितको सङ्ख्या ८१८ थियो। भदौ ९ गते थप ८५५ जनामा सङ्क्रमण र सात जनाको मृत्यु तथा भदौ १० गते ११ जनाको मृत्युसहित ८८५ जनामा सङ्क्रमण पुष्टि भएको थियो। यसअघि असार ४ गते ६७१, असार १० गते ६२९, असार १९ गते ७४०, साउन २७ गते ६३८, साउन ३२ गते ६४१ र भदौ ८ गते ७४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो।
त्यसैगरी विगत २४ घण्टामा काठमाडौं उपत्यकामा ४१५ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ३५० जना, ललितपुरमा ११ जना र भत्तपुरमा ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।