विराटनगर । लगातारको वर्षाका कारण विराटनगर जलमग्न भएको छ । मङ्गलवार बिहानदेखि विराटनगरमा पानी परिरहेको छ ।
मंगलबार दिउँसो विराटनगरमा पानी रहे पनि रातीबाट लगातार पानी परिरहेको छ । पानीका कारण विराटनगरका विभिन्न टोल डुबेको छ । पानीको निकास थुनिएका कारण धरान विराटनगर सडक खण्डको ढाटमा सडकबाटै पानी बगेको छ । आयल निगम क्षेत्र डुबानमा छ । विराटनगरको रानी क्षेत्रमा पनि घरहरू डुबेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार लगातारको वर्षाको कारण मोरङका धेरै ठाउँ जलमग्न भएको प्रहरीले जनाएको छ। लगातार पानी परिरहेको कारण अझै विवरण आई नसकेको र आउने क्रम सुरु भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले जानकारी दिए ।
उनका अनुसार विराटनगरका केही बस्तीहरू डुबानमा परेका छन् । विराटनगर महानगरपालिका वडा नम्बर १९ को सरदार टोलका १० घर विस्थापित भएको एसपी कार्कीले जानकारी दिए ।
खोलाको बाढी विराटनगर महानगरपालिका ६ स्थित खोला आसपासका बस्तीमा पस्दा करिब ५ सय घरमा पसेको वडा नम्बर ६ का अध्यक्ष हरिशचन्द्र सहनीले जानकारी दिए ।
वडा नम्बर १२ को बस्तीमा केसलिया खोलाको बाढी पसेको छ । वडा अध्यक्ष हिरालाल कामतका अनुसार खोला किनारका ६० बढी घर डुबानमा परेका छन् ।
एकातिर अत्यधिक वर्षा भएको र अर्कोतिर पानीको निकास नहुँदा सडक र घर डुबानमा परेको हो । वडा नम्बर १२ र १९ मा भने करिब एक सय परिवार विस्थापित भएका छन् । उनीहरूलाई स्थानीय विद्यालयमा पुनस्स्थापन गरिएको विराटनगर महानगरपालिकाको द्रुत प्रतिकार्य टोलीका संयोजक अर्जुन थपलियाले जानकारी दिए ।
अहिले विभिन्न ठाँउमा पानी निकास खुलाउने कार्य भइरहेको छ । मंगलबार बिहान ८ बजेर ४५ मिनेट देखि बुधबार बिहान ८ बजेर ४५ मिनेट सम्म २४ घण्टामा विराटनगरमा ३ सय ६१ मिलिमिटर पानी परेको छ ।
विराटनगर एयरपोर्टस्थित जलवायु तथा मौसम विज्ञान फिल्ड कार्यालयका मौसम सहायक राजेश झाका अनुसार विराटनगरमा यस वर्षको मनसुनको सबैभन्दा बढी पानी परेको हो ।