काठमाडौँ । पोखराको प्राइम बहुउदेश्यीय सहकारी संस्थाको ठगी प्रकरणमा फरार थप तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका–१ घर भई कास्कीको पोखरा महानगरपालिका–१८ बस्ने ५५ वर्षीय धनकुमारी गुरुङ, पोखरा–८ बस्ने ४७ वर्षीय सीताकुमारी गुरुङ र पोखरा –३ तेर्सापट्टी बस्ने वर्ष ४७ वर्षीय जीवन सार्की रहेका छन्।
बिहीबार पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत पेश गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले बताए। सहकारीको रकम अपचलन गरेर उनीहरु फरार थिए।
पोखरा महानगरपालिका– ४ गैरापाटनमा कार्यालय रहेको प्राइम सहकारीले एक अर्ब ५४ करोड १५ लाख आठ हजार १४२ रुपैयाँ ८५ पैसा रकम अपचलन गरेको छ।
सहकारीको रकम अपचलन प्रकरणमा जेठ १ गते ८ जना पक्राउ परेका थिए। त्यसपछि जेठ ७ गते थप एक जना फरारलाई प्रहरीलाई पक्राउ गरेको थियो।
सहकारीका अध्यक्ष, शेयर सदस्य र कर्मचारी पक्राउ परेका हुन्। सहकारीका निर्वतमान अध्यक्ष निदेशप्रसाद कोइराला, अध्यक्ष शंकर कार्की, प्रबन्धक निरु थापा, कर्मचारी प्रमुख सुरेन्द्रमणि पौडेल, कानुनी सल्लाहकार इन्द्रप्रसाद बराल, कोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा अधिकृत सुनिल थापा, शेयर सदस्य मानबहादुर गुरुङ, उत्तम मगर यसअघि नै पक्राउ परेका हुन्। तीमध्ये ७ जनालाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाएको छ।