ललितपुर, ८ भदौ । पछिल्लो २४ घण्टामा ७४३ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी काठमाडौं उपत्यकामा २२४ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको छ ।
विगत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणबाट आठ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। सो अवधिमा १०,२३४ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएकोमा थप ७४३ जनामा कोरोनाभाइरस पुष्टि भएको छ ।
यससँगै नेपालमा कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु हुने मानिसको सङ्ख्या १५७ र सङ्क्रमितको कुल सङ्ख्या ३२,६७८ पुगेको छ। सङ्क्रमितहरूमध्ये ४,५६१ जना घरमै र बाँकी ९,१५४ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले बताएको छ।
अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्। मन्त्रालयका अनुसार अहिलेसम्म कुल १८,८०६ सङ्क्रमित निको भएका छन्। सक्रिय सङ्क्रमितमध्ये १३२ जना सघन उपचार कक्षमा र १५ जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।
गत भदौ २ गते कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्यामा १,०१६ अर्थात् अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि भएको थियो।
त्यसैगरी भदौ ५ गते सरकारले ८३८ जनामा सङ्क्रमण भएको र ११ जनाको मृत्यु भएको पुष्टि गरेको थियो। भदौ ७ गते थपिएका सङ्क्रमितको सङ्ख्या ८१८ थियो। यसअघि असार ४ गते ६७१, असार १० गते ६२९, असार १९ गते ७४०, साउन २७ गते ६३८ र साउन ३२ गते ६४१ जनामा सङ्क्रमण पुष्टि भएको थियो।