काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही असार १६ देखि २० गतेसम्म राजधानीमा गर्न लागेको पार्टीको राष्ट्रिय महाधिवेशनका लागि मंगलबार साँझ मतदाता नामावली प्रकाशन गर्ने भएको छ ।
नेपाल प्रज्ञाप्रतिष्ठानको सभा हलमा हुने दशौं राष्ट्रिय महाधिवेशनमा मतदान गर्ने प्रतिनिधिको विवरण प्रकाशन गर्न लागिएको पार्टीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।
पार्टी मातहतका सम्बन्धित कमिटीले सोही नामावलीका आधारमा महाधिवेशन प्रतिनिधिका लागि मनोनयन दर्ता, मनोनयन दर्ता भएका उम्मेदवारहरूको सूची यही असार ५ गते प्रकाशन गर्ने कार्यतालिका छ ।
योग्यता नपुगेका उम्मेदवारविरुद्ध उजुरी दिने, उजुरी छानबिन गर्ने मनोनयनपत्र दर्ता भएका उम्मेदवारहरूको नामावली पनि सोही दिन प्रकाशन गरिने छ । बुधबार नै उम्मेदवारको नाम फिर्ता लिने, सर्वसम्मति नभए मतदान गर्ने, मतदान सकिएलगत्तै मतगणनाको समयसीमा निर्धारण गरिएको छ । सम्बन्धित कमिटीले केन्द्रलाई मतपरिणाम सार्वजनिक गरेपछि त्यसको अभिलेख केन्द्रमा पठाउनुपर्ने छ ।
देशभर एक लाख पचास हजार संगठित सदस्य रहेको पार्टीले १ सय २५ संगठित सदस्यबराबर एक प्रतिनिधि छनोट गरिने जनाएको छ । आसन्न राष्ट्रिय महाधिवेशनमा संगठित सदस्यमध्ये करिब १ हजार ८ सय प्रतिनिधि छनोट गरिने छ ।
महाधिवेशनका लागि केन्द्रीय तहका नेता र केन्द्रीय आयोगका सदस्यहरू स्वतः प्रतिनिधि छनोट गरिने छ । विभिन्न निर्वाचन क्षेत्र तथा समूहबाट प्रतिनिधि चुनिएर आउनेछन् ।
दलित, युवा महिलालगायत केही प्रतिनिधि समानुपातिक प्रतिनिधित्वको मापदण्डबाट सहभागी हुने व्यवस्था गरिएको छ । पार्टीनिकट जनवर्गीय सङ्गठनमा आबद्ध सदस्यको सदस्यताका आधारमा प्रतिनिधि छनोटका लागि सङ्ख्या निर्धारण गरिएको छ ।