काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ बजार नजिक आज बिहान दुईवटा सवारीसाधन आपसमा ठोक्किँदा यात्रुबाहक बस त्रिशुली नदी किनारमा खसेको छ ।
बाँकेको नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबाहक बस चितवनको फिस्लिङ नजिकबाट त्रिशुली नदी किनारमा खसेको हो । दुर्घटनामा २० जना घाइते भएका छन् । केही यात्रु गम्भीर घाइते भएको र पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार भे १ ख ४०६२ नम्बर बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ०१–०२९ च ३७२० नम्बरको कार आज बिहान साढे ७ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ नजिकै ठोक्किएका थिए ।
बस त्रिशुली नदी किनारमा खसे पनि कार भने सडक किनारमै छ । कारमा सवार २ जना र बस चालकको अवस्था गम्भीर छ । अन्य केही यात्रुहरु पनि घाइते भएका र उनीहरुलाई अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनकी इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार कारमा सवार पाँच जना गम्भीर घाइते छन्। बसमा ४५ जना यात्री थिए । सबै यात्रीको अवस्था सामान्य छ । गम्भीर घाइते भएका कारमा सवार सबैलाई उपचारका लागि चितवन पठाइएको गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल बिपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक श्रीकृष्ण श्रेष्ठको कमान्डमा मेडिकल टिमसहित ३५ जनाको सुरक्षा फौज घटनास्थलमा पुगेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
‘घाइतेमध्ये ११ जनालाई उपचारार्थ भरतपुरतर्फ पठाइएको छ,’ उनले भने, ‘बाँकी सामान्य घाइते स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।’ कारलाई जोगाउन खोज्दा बस त्रिशुली नदीमा किनारमा खसेको प्रहरीले जनाएको छ ।