काठमाडौँ । सहकार्य अर्थात सहकारिताले आपसमा मिलेर काम गरौं भन्ने भावना जगाउँछ । ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने सिद्धान्तबाट प्रेरित भई व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक हित तथा सामाजिक समुन्नतिको लागि गरिने एकताबद्ध प्रयास नै सहकारी हो । पछिल्लो दिनहरुमा सहकारीका माध्यमबाट स्वावलम्बि बन्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
त्यही मध्यकी एक हुन् सर्लाहीको गोडैता गाउँपालिका ८ कि मिना देवि ठाकुर । उनले २०७६ मा चमेलीबाट ५० हजार ऋण लिदै दुइ मेसिन खरिद गरेर ४ जनालाई मेसिन चलाउन सिकाइन् । ऋण नलिनुपहिले एउटा मात्र मेसिन भएको उनले चमेलीबाट ऋण लिएर मेसिन थपेसँगै उनले सिलाई कटाई सिक्नेका लागि तालिम समेत दिने गरेकी छिन् ।
अहिले उनलाई सिलाईकटाई सिकाउन भ्यानभ्याइ भएको छ । सिलाई कटाई सिक्नका लागि मिना देविकोमा सिक्नेहरुको लर्को लागेको देख्दा अझै अरु मेसिन थप्ने योजनामा रहेको उनी बताउँछिन् । चमेली बचत तथा ऋण सहकारी संस्थासँग आवद्ध नहुनु पहिले एउटा मात्र मेसिन थियो त्यसैले मुस्किलले गुजारा चलेको थियो', उनले भनिन्, 'चमेलीबाट आवद्ध भएर चमेलीबाट ऋण लिएर मेसिन थपेपछि मेरा दिनहरु बद्लिएका छन् ।’
उनले भनेजस्तै पहिले घरमा एउटा मात्र मेसिन राखेर सिलाई बुनाइको काम गर्ने उनलाई चमेलीबाट ऋण लिएर मेसिन थपेसँगै अहिले उनलाई सिलाई कटाई सिकाउन भ्याइनभ्याइ भएको छ । पालिकाहरुले आयोजना गरेको सिलाई कटाई तालिममा समेत उनले प्रशिक्षकका रुपमा समेत काम गर्दै आइरहेकी छिन् ।
सहकारीबाट अढाइ लाख ऋण लिएर चलाइरहेकी उनले कमाउँदै सहकारीको ऋण तिर्दै थप मेसिनहरु थप्ने योजनामा रहेको उनी बताउँछिन् । सहकारीबाट बिनाधितो ऋण लिएर एउटा मेसिनबाट थपेर पाँचवटा सम्म मेसिन थपेकी उनले सिकाउने माग बढ्दै जादा अन्य मेसिन थप गर्ने योजनामा रहेको उनी बताउँछन् ।
मेसिन थप्दै पाँच वटा सम्म पुर्याएको छु',उनले भनिन्, 'अहिले महिनामा चार देखि पाँचजनालाई सिकाउँछु । अहिले छोरा काठमाडौँमा र छोरीलाई बर्दिबासमा पढाइरहेको छु । सहकारीबाट लोन लिएर कारोबार गर्दै यहाँसम्म पुगेको छु ।’
सहकारीबाट ऋण लिइसकेपछि सहकारीका कार्यक्रममा आवतजावत बढ्दै गएको र सहकारीबाट ऋण लिएपछि जीवनको बाटो नै बद्लिएको उनको भनाई छ ।
मिना देविका श्रीमानले पहिले ग्रिल उद्योग संचालन गरेका थिए । कोरोना भाइरस (कोभिड -१९) कारण भएको लकडाउनका कारणे सोचेजस्तो व्यावपार भएन । व्यवपार नभएपछि ग्रिल उद्योग बन्द गरेर श्रीमान बिदेश गए । यता मिना देविको सहकारीबाट ऋण लिएपछि सहकारीकका बैठकहरुमा आवतजावत बढ्दै गयो । आवतजावतसँगै उनको परिचय बढ्दै गयो । परिचय बढ्दै गएपछि उनकोमा सिक्नेको संख्या पनि बढ्दै गएको उनको भनाई छ ।
अहिले मिनादेविले सिलाईकटाई तालिम दिएबापत तीन महिनाको तालिम शुल्क एक हजार देखि पाँच हजारसम्म तिर्ने गरेको उनी बताउँछन् । उनले सिकाएका धेरै मान्छेहरु कसैले आफ्नै सिलाई कटाई सम्बन्धि टेलर्सहरु संचालन गरेका छन् भने धेरैले रोजगारी पाएका छन् ।
पहिले कमजोर आर्थिक अवस्था भएको उनको अहिले आर्थिक अवस्था पनि बद्लिदै गएको छ । व्यवसाय सुरु गरे देखि समाजले हेर्ने दृष्टिकोण पनि बद्लिदै गएको उनी बताउँछिन् । पहिले एउटा मान्छे आउथ्यो सिलाई कटाई सिक्नलाई अहिले त सिक्न भनेर धेरै मान्छेहरु आउँछन् यहाँ',उनले भनिन्, ‘दिनहुँजसो सिक्नको लागि आइरहन्छन्, तर,आफूसँग थप मेसिन छैन अझै मेसिन थप्ने योजनामा छु ।’
सदस्यहरूको अग्रसरता र स्वामित्वमा स्थापना हुने सदस्यहरूकै रेखदेखमा सञ्चालन हुने तथा आर्जित लाभको उपभोग पनि सदस्यहरूले नै सदस्य केन्द्रित एवम् प्रजातान्त्रिक कार्य संस्कार सहितको संरचना सहकारी हो । तर, पछिल्ला दिनहरुमा च्याउसरी उम्रिएका सहकारी सेवामुखी भन्दापनि नाफामुखी बन्न थालेपछि वास्तबिक केहि गरौं भनेर लागिपरेका सहकारीहरुलाई समेत अफ्ठ्यारो परेको चमेली बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी निर्देशक भरत साह बताउँछन् ।
सहकारी संस्थाहरु गरिबी निवारणको सारथी बनिरहेका समयमा कतै सहकारीले आफ्ना सदस्यबाट करोडौं रकम उठाएर भागेका घटनाले अन्य सहकारीहरु मकैमा घुन पिसिएझै पिसिनुपरेको साह बताउँछन् ।