काठमाडौँ । जंगलमा फिरन्ते जीवन बिताउँदै आएका नेपालका घुमन्ते जातिमध्येको एक राउटे समुदाय । यो समुदाय पश्चिम नेपालका कर्णाली प्रदेश र आसपासका विभिन्न जंगलहरूमा बसोबास गर्ने गर्छन् ।
कुनै बेला घुमन्ते फिरन्ते जीवन बिताउँदै आफूले बनाएका काठका भाँडाकुँडा गाउँघरमा अन्न चामलसँग साटेर जीविका चलाउदै आएका थिए । तर, पछिल्लोे समय उनीहरूमा भएको परिर्वतनसँगै उनीहरूको पेसा पनि संकटमा पर्दै गएको छ ।
कुुनै समय अन्य समुदायको समाजसँग त्यति नजिक नपर्ने जंगलमै फिरन्ते जीवन बिताउने राउटेहरू अहिले समाजसँग घुलमिल हुन थालेका छन् । योसँगै उनीहरूको पेसा संकटमा पर्दैै गएको छ । लोपोन्मुख राउटेको जनसंख्या पनि निकै न्यून छ । राउटे समुदायमा हाल १३७ जना सदस्य रहेका छन् ।
भुल्दै परम्परागत मान्यता र प्रचलन
कुनै बेला गैर–राउटे समुदायसँग घुलमिल हुँदैनथे । काठका घरायसी सामग्री बनाउने उनीहरू अन्नसँग साट्थे । पैसा छोए पाप लाग्छ भन्थे । पैसा छुनु हुँदैन भन्ने मान्यता यो समुदायमा थियो । कन्दमुल खान्थे । जंगली जनावरको सिकार गर्थे । अरु समुदायसँग व्यापारको जस्तो मात्र सम्बन्ध रहन्थ्यो, काठका सामग्री दियो त्योबापत खाद्य वस्तु लियो ।
जंगलमा फिरन्ते जीवन बिताउने नेपालको एक मात्रै राउटे समुदायका तीन मान्यता छ । खेतीपाती नगर्ने, लेखपढ नगर्ने र एउटै ठाउँमा नबस्ने । अझ कुनै सदस्यको मृत्यु भए तत्कालै बसेको बस्ती छाडेर अर्को ठाउँमा बसाइँ सर्ने चलन यो समुदायमा छ । तर पछिल्लो समय यो समुदाय आफ्ना परम्परागत मान्यता र प्रचलनलाई भुल्दै गएको छ ।
समाजसँग घुलमिल भएसँगै राउटे समुदायका बालवालिकाहरुले विद्यालय नगएपनि बस्तिमै अक्षर चिन्न थालेका छन् । स्कुल नगए पनि समुदायमै ‘जोडी शिक्षक’सँग खेलका माध्यमबाट राउटे समुदायका बालबालिकाले अक्षर चिन्न थालेका । कुनै समय पैसा छोए पाप लाग्छ भन्ने यो समुदाय अहिले सरकारले दिने सामाजिक सुरक्षा भत्तामा निर्भर छ । र बाटोमा हिड्दै गरेको अवस्थामा समेत पैसा माग्नसम्म पछि पर्दैनन् ।
पहिले बजारिया बस्तुको प्रयोग नगर्ने र जंगलमा बसेर जंगलका गिठा भ्याकुर, लगायतका जंगली फलफूल र जडिबुटी खाने यो समुदाय पछिल्लो समय बजारका बजारिया वस्तुकमा मोह बढाउदै गएका छन् । पछिल्लो समय राउटे समुदायको मृत्यु संस्कारमा पनि परिवर्तन देखिन थालेको छ ।
परम्परागत मान्यतालाई समयानुकूल परिमार्जन परिरहेका छौँ : मुखिया शाही
समुदायका कुनै सदस्यको मृत्यु हुनेबित्तिकै बस्ती छाड्नुको सट्टा मृत्यु संस्कार नसक्दासम्म अर्को ठाउँ नसर्ने चलन अपनाइएको छ । आफूहरूले परम्परागत मान्यतालाई समयानुकूल परिमार्जन गरिरहेको राउटे समुदायका मुखिया सूर्यनारायण शाही बताउँछन । राउटे समुदायले यो मान्यता त्यागेको जम्मा सात महिना मात्र भएको उनको भनाइ छ ।
मुखिया सूर्यनारायणका अनुसार राउटे समुदायका महामुखिया महिनबहादुर शाहीको गत असोजमा दैलेखको भैरवी गाउँपालिका–३ लैनचौरमा ६८ वर्षको उमेरमा मृत्यु भएको थियो,उनले भने, ‘उहाँले आफ्नो मृत्युअघि समुदायका सबैलाई बोलाएर वृद्धा पत्नी दुनी शाही हिँडडुल गर्न नसक्ने भएकाले आफ्नो काजकिरिया बस्ती नसरेरै गर्न भन्नुभयाको थियो ।’
राउटे समुदायमा छोराछोरी नभए पत्नीले समेत पतिको काजकिरिया गर्ने चलन छ । महिनबहादुरका दुई छोरा नारायण र शिवराजको पहिल्यै मृत्यु भइसकेको थियो ।
महामुखियाले बस्ती नसरेर आफ्नो काजकिरिया गर्न भनेकाले सोहीअनुसार गरिएको र त्यसयता कोही बिते पनि बस्ती नसर्ने गरेको मुखिया सूर्यनारायणले बताए । ‘महामुखियाले आफ्नो १३ दिने कर्म बस्ती नसरेरै गर्नू भनेपछि त्यसयता पहिलेको मान्यता तोडेका छौं,’ उनले भने, ‘आजभोलि १३ दिनको कर्म सकेपछि मात्रै अर्को ठाउँमा बस्ती सर्ने गरेका छौं ।’
गएको बुधबार राउटे बस्तीमा ५५ वर्षका मानबहादुर शाहीको मृत्यु भयो । दैलेखको गुराँस गाउँपालिका–१ मैनखोलामा बस्दै आएको यो समुदाय २८ गतेसम्म अर्को ठाउँमा बस्ती सर्ने छैनन् ।
चार दिनअघि नै समुदायका दुई युवक र दुई युवतीको विवाहको मिति तय भइसकेको थियो । एउटै समुदायभित्र तीनवटा गोत्र रहेका छन । फरक गोत्रअनुसार विवाहको कर्म चल्छ । राउटे समुदायमा टीकाटालो भएर विवाहको मिति तय भइसकेपछि समुदायमा कसैको मृत्यु भए पनि विवाह रोक्ने चलन छैन । २८ गते कलम र कृष्णबहादुरको विवाह हुँदैछ । ‘पहिले २८ गते विवाह कार्यक्रम सकाएपछि मात्रै बुधबार मृत्यु भएका मानबहादुरको मृत्यु संस्कार सुरु हुन्छ,’ उनले भने, ‘पहिले भइदिएको भए बस्ती सरेपछि मात्रै विवाह हुन्थ्यो, मृत्यु संस्कारको कर्म चल्थ्यो।’
असोजयता राउटे समुदाय १४ ठाउँमा बस्ती सरेको छ । यो अवधिमा राउटे समुदायका १० जनाको मृत्यु भएको छ । समुदायमा हाल १३७ जना सदस्य रहेका छन् ।
मृत्यु संस्कारमा मदिरा र सिकार
समुदायका कसैको मृत्यु भए राउटे समुदायले मृतकलाई गाड्ने गर्छन । १३ दिनसम्म उनीहरू मृत्यु संस्कार गर्नेगरेको सोसेक नेपालद्वारा राउटे समुदायमा संचालित जोडि शिक्षक लाल बहादुर खत्री बताउँछन् ।
राउटे समुदायले मृत्यु संस्कारमा सुकेको मासु उनीहरूले प्रयोग गर्दैनन्। त्यसैले मृत्यु भएको दिनदेखि १० दिनसम्म उनीहरू सिकार खेल्न जंगल जान्छन, बाँदर मारेर ल्याउँछन् र घरअनुसार त्यसको भाग लगाउँछन १३औं दिनका दिन प्रत्येक घरबाट मृतकको घरमा मासु र आफैंले उत्पादन गरेको मदिरा लगेर जान्छन् । ‘मृतकको घरमा सबैले मदिरा र मासु लगेर जाने र पूजाआजा गरेर चोखिने कर्म पूरा हुन्छ,’ खत्रीले भने ।
मदिरा सेवनले समुदायनै संकटमा
मदिरा सेवनले राउटे समुदाय नै संकटमा पर्दै गएको छ । समुदायका पुरुष महिला देखि बालवालिकाले समेत मदिरा सेवन गर्ने गर्छन । पहिले आफ्नै बस्तिमा आफैले उत्पादन गरेको मदिरा सेवन गर्ने यो समुदायले अहिले बाहिरको मदिरा सेवन गर्दा उनीहरु दैनिकजसो कम्जोर हुँदै गएका छन् ।
राउटे समुदायका महिलाहरुले समेत अत्यधिक रुपमा मदिरा सेवन समेत गर्छन । समुदायको गर्भवति भएको समयमा होस वा नभएको । गर्भवति भएको अवस्थामा मदिरा सेवन गर्दा १८ वर्षिया बाङ्गे शाहीले जाजरकोट बस्ति बसेको बेला अत्यधिक मदिरा सेवन गरेर लडेर ढुंङ्गामा ठोक्किदा सात महिनाको गर्भ गर्भपतन भएको सोसेक नेपालद्धारा राउटे समुदायमा संचालित राउटे परियोजनामा कार्यरत जोडि शिक्षक लाल बहादुर खत्री बताउँछन् ।
अज्ञानतासँग रमाइरहेको यो समुदाय स्वास्थ्य, शिक्षा लागायतका कुराहरु व्यर्थ रुपमा बुझ्छन् । पछिल्लो समय राउटे समदायमा जन्मदर घट्दो र मृत्यूदर बढ्दोअवस्थामा रहेको छ । २१ जेडि मध्य २०८० मा समुदायमा चारवटा शिशु जन्मे पनि त्यस यता समुदायमा एउटा मात्र शिशु जन्मेको छ ।
अन्य समुदायका महिलाहरु गर्भ जाँच गर्नका लागि स्वास्थ्य संस्था पुग्छन् । औषधी प्रयोग गर्छन । तर राउटे समुदायका महिलाहरु गर्भवति भएका बेला गर्भजाँचको लागि नत स्वास्थ्य संस्था नै जान्छन् । नत औषधी नै प्रयोग गर्न सहज मान्दछन् । गर्भवस्थामा प्रसस्त मात्रमा पोषिला खाने कुरा खानुपर्ने हो । तर, पोषिला खानेकुरा खानुको साटो घरेलु मदिरा सेवन गरेको पाइन्छ । सरकारले यसतर्फ ध्यान दिन जरुरी छ ।