लितपुर, ५ भदौ । नोभेल कोरोना भाइरसका ८३८ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८३८ संक्रमित थपिएका हुन् ।जसमा २९२ महिला र ५४६ पुरुष रहेका छन् । मंगलबार हालसम्मकै एकदिनमा सर्वाधिक एक हजार १६ कोरोना संक्रमित थपिएका थिए ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा १८२, ललितपुरमा २५ र भक्तपुरमा १ जनामा संक्रमण पुष्टि भएको पनि गौतमले जानकारी दिए । देशभरका विभिन्न अस्पतालबाट २५० जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १८ हजार २१४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५९ प्रतिशत ८ रहेको छ ।
आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १३२ रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ५ लाख ७९ हजार ८९९ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन ८ हजार ५४६ जना र होम आइसोलेसनमा ३ हजार ५८६ रहेका छन् । आजसम्म देशभर १२ हजार २३४ जना क्वारेन्टिनमा रहेका छन् ।
कोरोना संक्रमितको संख्या पाँच सयभन्दा बढी भएका जिल्लाहरु मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र काठमाडौं रहेका छन् । भोजपुर, म्याग्दी, मुस्ताङ र हुम्लामा संक्रमण शून्य देखिन्छ । हालसम्म १५ जना कोरोना संक्रमित भेन्टिलेटरमा छन् । उनीहरु सबै वागमती प्रदेशका हुन् ।
शनिबार ११ हजार ४७ जनाको पीसीआर परीक्षण गर्दा ४६८ कोरोना संक्रमित थपिएका थिए । त्यसैगरी १२४ जना डिस्चार्ज भएका थिए । आइतबार देशभर गरिएको १२ हजार ३४७ पीसीआर परीक्षणमा ६४१ मा कोरोना पोजेटिभ देखिएको हो । आइतबार १३४ जना अस्पतालबाट डिस्चार्ज भएका थिए ।
११ हजार ५२ को पीसीआर परीक्षण गर्दा सोमबार ५८१ कोरोना संक्रमित थपिएका छन् भने १६० जना डिस्चार्ज भएका छन् । मंगलबार १३ हजार ४६१ को पीसीआर परीक्षण गर्दा एक हजार १६ कोरोना संक्रमित थपिएका थिए भने ८५ जना डिस्जार्ज भएका थिए ।
बुधबार गरिएको ११ हजार ५२२ जनाको पीसीआर परीक्षणमा ६८१ जनाको पोजेटिभ रिपोर्ट आएको थियो भने १२० जना डिस्चार्ज भएका छन् । बिहीबार गरिएको ११ हजार ५५ जनाको परीक्षणमा ७०७ जना पोजेटिभ रिपोर्ट आएको थियो भने २६४ जना डिस्चार्ज भएका थिए ।
हालसम्म देशभर कोरोना संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।