काठमाडौँ । नेपालका विविध जातजाति र समुदायबारे अध्ययन–अनुसन्धान गरेर ख्याति कमाएका डोरबहादुर विष्ट नेपालकै बौद्धिक व्यक्तित्वमा गनिन्छन् । उनी मानवशास्त्री र साहित्यकारका रूपमा समेत चर्चित छन्।
२१औँ किम्फको दोस्रो दिन नेपाली मानवशास्त्रका संस्थापक प्राध्यापक उनै डोरबहादुर विष्टबारे बनेको वृत्तचित्र प्रदर्शन भयो। सचिन घिमिरे र गौरव केसीद्वारा निर्देशित ७९ मिनेटको वृत्तचित्रमा डोरबहादुरको बौद्धिक योगदान र निजी जीवनका विविध पाटा उजागर गरिएका छन्।
प्राज्ञिक कर्मसँगै सामाजिक रूपान्तरणमा समेत झुकाव भएका डोरबहादुर ०५२ पुस २७ देखि रहस्यमयी रूपमा बेपत्ता छन्। जुम्लाबाट नेपालगन्ज उडेर यात्रा गरेको खबरयता आजपर्यन्त उनी अलप छन्।
जीवित छँदा डोरबहादुर बेलाबखत भन्थे रे, ‘म अलप हुन चाहन्छु।’ निर्देशक सचिन घिमिरेका अनुसार उनको यही भनाइलाई फिल्मको नाम दिइएको हो।
जुम्लाको चौधाबिसा गाउँमा गएर त्यहाँका मानिसको जीवनस्तर उकास्न उनले महत्त्वपूर्ण काम गरेका थिए। उनको त्यही योगदानका कारण आज पनि डोरबहादुर जुम्लावासीका मनमा वास गरिरहेका छन्। यस वृत्तचित्रमा जुम्लावासीले उनलाई सम्झेर भावुक भएका कैयौँ सन्दर्भ आएका छन्।
फिल्ममा उनका परिवारका सदस्यबाहेक केही विदेशी अनुसन्धाताहरूले समेत डोरबहादुरको आनीबानी, बौद्धिकता र निजी जीवनबारे प्रकाश पारेका छन् । डोरबहादुरलिखित फ्याटलिज्म एन्ड डेभलपेन्ट र पिपुल अफ नेपाल नेपाली र विदेशी अध्येतामाझसमेत चर्चित छन्।
यसअघि नेपाल र नेपालबाहिरका महोत्सवहरूमा समेत प्रदर्शन भई रुचाइएको म अलप हुन चाहन्छु हेर्न राष्ट्रिय सभागृहमा उल्लेख्य संख्यामा फिल्मकर्मी तथा दर्शक उपस्थित थिए।