काठमाडौँ । रुकुम पश्चिमका बमबहादुर विक (बमकाजी शिर्पाली)ले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्बर १० अर्माडाँडाका शिर्पालीले जेठ ६ गते बिहान ५ः५७ मा सगरमाथाको सफल आरोहण गरेका हुन् । उनी निजामती कर्मचारी हुन । शिर्पाली हाल काभ्रेको खानीखोला गाउँपालिकामा कार्यरत रहेका छन् ।
शिर्पालीले केही समय अघि मात्र दक्षिण अमेरिकाको सर्वोच्च शिखर एकान्कागुवाको सफल आरोहण गरेका थिए । यो हिमाल आरोहण गर्ने उनी पहिलो नेपाली निजामती कर्मचारी समेत हुन् । त्यस्तै उनले अन्य विभिन्न हिमालको आरोहण गरिसकेका छन् ।
‘हामी पनि सक्छौँ’ भन्ने मूल उद्देश्यका साथ आफूले सगरमाथाको आरोहण गरेको उनले बताए । ‘सामाजिक, आर्थिक, राजनीतिक तथा धार्मिक रूपमा पछाडि परेको वा पारिएको समुदायको एक पात्रको रूपमा मैले प्रतिनिधित्व गर्दै सगरमाथाको आरोहण गरेको छु', उनले भने, 'संविधानले नै जातीय रूपमा छुवाछुतलाई जघन्य अपराधको रूपमा स्वीकार गरेको परिप्रेक्ष्यमा सबै धर्म, जातजाति, वर्ग, लिङ्ग तथा समुदाय समान हुन भन्ने यो राष्ट्रव्यापी सन्देश हो ।’
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने चुनौतीपूर्ण, जोखिम, साहसिक सँगै गौरवमय इतिहासका साथ अविस्मरणीय यात्रा गर्ने कठिन पूर्ण प्रयासले सार्थकता पाएकोमा आफै दङ्ग भएको उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । साथै उनले आफ्नो सगरमाथा आरोहणमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद समेत ज्ञापन गरेका छन् ।
कोरोना नआएको भए उनले पहिले नै सगरमाथा आरोहण गरिसक्थे । सन् २०१९ कै सिजनमा सगरमाथा आरोहण गर्ने सबै तयारी पुरा भइसकेको अवस्थामा कोरोना भाइरसका कारण आरोहण बन्द गरिएपछि उनको त्यति बेला सगरमाथाको चुचुरोमा पुग्ने सपना पुरा हुन सकेको थिएन ।
त्यो १० दिनको ट्रेकिङ ..
शिर्पालीले यसअघि मनास्लु हिमाल र लोवुचे पिकको सफल आरोहण गरिसकेका छन् । २०७६ को भदौ ९ गते मनास्लुको आरोहण गरेका शिर्पालीले २०७८ मा लोवुचे पिकमा पुगेका थिए ।
शिर्पालीले आफूमा हिमाल आरोहणको भोग सन् २०१८ देखि जागेको बताए । १० दिनको अन्नपूर्ण हिमशृङ्खलाको बेस क्याम्पसम्मको ट्रेकिङले आफूभित्र हिमाल आरोहणको भोग जगाएको उनले सुनाए । अन्नपूर्ण बेस क्याम्पबाट फर्किएपछि आफूभित्र हिमालप्रतिको माया एकदमै बढेको र आरोहणको भोक जागेको उनी बताउँछन् ।
त्यसपछि आफूले आरोहण सुरु गरेको र अहिले आएर विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्न सफल भएकोमा उनले खुसी व्यक्त गरे । उनले आगामी दिनमा पनि आरोहणलाई जारी राख्ने योजना रहेको बताए ।