काठमाडौँ । बारीमा लटरम्म फलेको तरकारी त्यही तरकारी हेर्दै मख्ख पर्छन् दैलेखका इन्द्र बोगटी । उनले फलाएको तरकारी साच्चिकै लोभ लाग्दो छ । व्यवसाहिक तरकारीमा जम्दै स्वदेशमै राज गरेका इन्द्रले आफ्नै बारीमा लोभलाग्दो तरकारी फलाएका छन् । उमेरले करिब ४० वर्ष पुगेका उनले तरकारी देखि फलफुल समेत उत्पादन विक्रि गर्ने गरेका छन् ।
दैलेखको ठाटीकाँध गाउँपालिका ३ सुइँया बिशालाका इन्द्र बोगटीले बारीभरी लटरम्म तरकारी फलाएका छन् । परिश्रमवाट परिचय बनाएका धामीगाउँका इन्द्र बोगटी गाउँमा बोगटी कान्छाका रुपमा समेत परिचित छन् । उमेरले ४० वर्ष पुगेका उनले कृषिलाई आफ्नो मुख्य पेशाका रुपमा स्वदेशमै बसेर केही गर्छु भन्ने हुटहुटी बनाएका छन् । विगतमा मज्दुरीका लागि भारतमा समेत नगएका होइनन् उनी । भारतका विभिन्न ठाउँमा करिब १६÷१७ पटकसम्म पुगेको अनुभव सुनाउँछन् ।
करिब १६÷१७ वर्ष भारतका विभिन्न ठाउँमा समय बिताएका बोगटीले अन्तः आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचले उनी नेपाल फर्किएर व्यवसायिक तरकारी खेतीमा होमिएको बताउँछन् । करिब १९ वर्षको उमेरबाट भारतमा मज्दुरी गर्न पुगेँ', उनी भन्छन्, 'भारतका विभिन्न ठाउँमा मज्दुरीका लागि समय बिताए । अर्काको देशमा र अर्काको गाली पनि खाएँ । अर्काको देशमा बसेर गाली मात्र कति सहने भन्दै आफ्नै देशमा केही गर्नुपर्छ भन्दै स्वदेश फर्केर व्यवसायिक कृषि पेशा रोजे ।’
परदेशबाट घरदेश फर्केका बोगटीले अहिले अर्काको देशमा भन्दा आफ्नै देशमा सुन फलाउन सकिने रहेछ भन्ने सोचमा पुगेका छन् । नेपाल फर्केपछि व्यवसायिक तरकारी खेतीमा होमिएका बोगटी भन्छन्, अर्काको देशमा भन्दा मेहनत गरेर आफ्नै देशमा सुन फल्ने रहेछ । व्यवसायिक तरकारी खेतीमा होमिएका बोगटीले बारीमा मौसमि तथा बेमौसमि अर्गानिक तरकारी तथा फलफुलहरु उत्पादन गर्दै आएको बताउँछन् । उनले उत्पादन गरेको तरकारी स्थानीय ठाटीकाँध बजारमा पठाउने गरेको समेत बताउँछन् ।
२०६९ सालबाट व्यवसायिक रुपमा तरकारी खेती गर्न थालेको करिब ११ वर्ष भयो । उनले तरकारी खेतीमा बन्दा गोभि काउली टमाटर, प्याज, सिमि फर्कि लगायत सिजन अनुसारको खेती लगाउने गरेको बताउँछन् । साथै उनले कुखुरा र बाख्रापालन समेत गरेका छन् ।
विभिन्न संघसस्थाहरुबाट सहयोग पाएका बोगटीलाई सोसेक नेपालले पनि सहयोग गर्दै आएको छ । मौसमी तथा विभिन्न बेमौसमी तरकारीका साथै बोगटीले च्याउ उत्पादन देखि कुखुरा पालन र बाख्रापालन समेत गर्ने गरेको बताउँछन् ।
कुखुरा र बाख्राको लागि बजार आभाव नभएता पनि मौसम अनुसार उत्पादन भएका तरकारीका लागि बजारको अभाव हुने गरेको उनको भनाई छ । मुख्य कुरा भनेको यहाँ बजारको अभाव छ, उनी भन्छन्, ‘ म जस्तै दुइचार जना अन्यको भए गाडी प्याक गरेर सामान ठाटीकाँध बजार वा सुर्खेत लैजानुहुन्थ्यो त्यो पनि छैन । जति उत्पादन गर्न सकिन्थ्यो र त्यति हुन्छ पनि तर,कृषकले पनि उत्पादन नगर्ने र बिदेशकै रसमा हुनाले समस्या भएको छ । एकजनका लागि गाडी यहाँ नआउने र सामान नै नपुग्नाले समस्या भएको हो ।’
नेपालमानै पसिना बगाए नेपालमा नै गर्न सकिने भएता पनि नेपालमा केही गर्न सकिदैन भनेर बिदेश जानेहरु देखेर बोगटी भने खिन्न छन् । अहिले त नेपालमा निराशा देख्दै देशनै बिदेशमा गइसक्यो, उनी भन्छन्, ‘देश बिदेश गइसक्यो । मलाई नै कसैले गाली गरिरहेका होलान कि बिदेश जान छोडेर यस्तो ठाउँमा किन बसिरहेका होला भनेर तर, मेरो बुझाई अर्काको गुलाम बन्न हुँदैन । आफ्नै देशमा केही गर्ने हो भने आफ्नैमा सुन फल्छ भन्ने भनाई छ ।’
आफ्नै देशमा केही गर्छु भनेर दिरात पसिना बगाएको कृषकलाई राज्यले भने अनदेखा गरेको उनको गुनासो छ । म नेपालमै केही गर्छु भनेर यही बसेको छु,उनी भन्छन्, ‘मलाई यहि पुगेको छ म किन बिदेश जाउँ भनेर यतै दिनरात मेहनत गरिरहेको छु तर, पौरख र देश बिकासमा लागेका युवा र कृषकलाई राज्यले पनि अनदेखा गरेको छ ।’
कहिलेकाहीँ शक्ति र पहुँचमा भएकाहरुले अनुदान र सम्मान पाउँदा र कृषिमा लागेकाहरुले केही नपाउदा उनी पनि खिन्नता महशुस गर्छन ।
११ वर्षे लामो कृषि यात्रामा बोगटीले न त सम्मान पाए नत अनुदान नै पाएको बताउँछन् । पार्टिको झोलामा कागतका खोस्टा बोक्दै कृषि फर्म र अनुदान झोलामै बोकेर झोलामै सिमित राख्ने झोले कार्यकर्ताका लागि अनुदान भए पनि आफूहरुका लागि नभएको उनको गुनासो छ । इमान्दार कृषकलाई राज्यले विभेद गरेको उनी बताउँछन् । जो किसान केही गर्छु भनेर अगाडी बढ्छ उस्लाई राज्यको सहयोग हुँदैन, उनले भने, ‘तर, जो झोला बोकेर पार्टिका विभिन्न कार्यक्रममा बोलाएका ठाउँमा पुग्ने पार्टि कार्यकर्ता नक्कली कृषक मालामाल भएका छन् ।’
केही नगर्नेहरुले पालिका देखि जिल्लाहुँदै विभिन्न संघ सस्था सबैको सहयोग पाएका छन् । जो दिनरात नभनी लागेका मरिमेटी लागेका हुन्छौँ उनीहरुका लागि नत अनुदान नत सम्मान नै भएको उनको गुनासो रहेको छ ।
कैयन दृश्यहरु उनले देखेका छन् । उनले देखेका अधिकांस दृश्यहरुमा कोदालो नचिन्नेले राहत, अनुदान, र सम्मान पाइसके । जिल्ला भरि उत्कृष्ट किसान भइसके । कृषि गरेर कोदालोमै परानी फाल्नेहरु अहिलेसम्म राज्यका अगाडी किसान हुन सकेका छैनौँ,उनी भन्छन्, ‘अहिले सबै पावर पहुँचमै चलेको देखियो कृषकको काम छैन जस्तो लाग्छ । त्यसै कारण किसान पलायन भइरहकेका छन् ।’
'पढ्दा पढ्दै जनयुद्धको त्रासले विद्यालय छोडेँ'
जनयुद्ध शसक्त रुपमा चलिरहेको थियो । इन्द्रलाई पनि पार्टिमा लाग्न बारम्बार दबाव आइरहन्थ्यो । घरमा बुबाआमालाई पनि ठुलो डर थियो । कतै माओवादीले लगिपोहाल्छन्की भनेर । विद्यालमया जादा नत पढ्न पाइन्थ्यो नत राम्रोसँग चैनको स्वास फेर्न पाइन्थ्यो । माओवादीकै कारण पढ्न नपाएर २०५९ सालमा विद्यालय छोड्न बाध्य भएको इन्द्र बताउँछन् ।
उनको घरको आर्थिक अवस्था निकै कमजोर थियो । विद्यालय छाडेर केही वर्ष घरमै बसेर कृषि पेशा पनि नगरेका होइनन् । सानै उमेर घरको आर्थिक अवस्था कमजोर र लगानी गर्न सक्ने आर्थिक नहुदा कृषि पेशामा पनि अगाडी बढ्न सकेनन् ।
देशमा जनयुद्ध चर्किरहेको थियो । माओवादीहरु विद्यालयहरु हुँदै गाउँगाउँमा पुगेका थिए । विद्यालयमा पुगेर युवाहरुलाई जनयुद्धमा लाग्न दबाब दिइरहन्थे । कतै छोरालाई माओवादीले लैजान्छकि भनेर आमाबाको पीर र आफ्नो भविष्यको चिन्ताले विद्यालय छोडेर केही समय घरमा बस्दै १९ वर्षको उमेरमा परदेश हिडेको उनी स्मरण गर्छन ।
आर्थिक जोहो गर्नका लागि १९ वर्षको उमेरमा मुग्लान् पसे । घरको आर्थिक अवस्था कमजोर भएकै कारण म विद्यालय छोडेर परदेश मुग्लान् हिडे,उनले भने, ‘गुग्लान्बाट जाने आउने क्रम चलिरह्यो । जिम्मेवारी थपिदै गयो । बिहे गरे । बच्चा बच्ची भए । झन झन जिम्मेवारीले च्याप्दै गयो । मुग्लान् जाने क्रम पनि चलिनै रह्यो । करिब १६ पटक भारतका विभिन्न ठाउँमा पुगेर आफ्नो जवानी उतै बिताएको उनी स्मरण गर्छन् ।
अन्तः आर्थिक अवस्थामा कुनै सुधार नआएपछि केही आर्थिक जुटाएर स्वदेश फर्केर आफ्नै व्यवसाय सुरु गरेको उनी बताउँछन् । लामो समय गुग्लानी भइयो, धेरै पैसा कमाएर धनि भन्ने सोचले भारतमै जवानी बित्यो,’उनले भने, आफ्नै देशमा उद्यम व्यवसाय गरे धनि हुने रहेछ भन्ने अहिले बुझेको छु । त्यसैले अहिले आफ्नै देशमा व्यवसाय गरेर आफ्नै परिवारसँग रमाएर, मिठोमसिनो गाँस खाएर वार्षिक १० देखि १२ लाखसम्म आम्दानी गर्दै आएको छु ।’
वार्षिक ११ लाख आम्दानी
२०६९ सालबाट सामान्य रुपमा तरकारी, फलफूल व्यवसाय लगायत कुखुरापालन व्यवसाय सुरु गरेका बोगटीले पछिल्लो समय मनग्य आम्दानी गर्दै आएको उनी सुनाउँछन् । सामान्य रुपबाट सुरु गरेको व्यवसायले अहिले घरखर्च लगायत सबै चलाएर वार्षिक ११ लाख सम्म आम्दानी गर्ने गरेको बोगटी बताउँछन् ।
सामान्य रुपमा तरकारी खेती सुरु गरेका उनले व्यवसायबाट राम्रै आम्दानी हुन थालेपछि उनी आफै दंग छन् । पहिले बुबा गाउँ गएका बेला घरमा खानको लागि तरकारी फलफुलको बिउ बोकेर आउनुभएको थियो,उनले भने, त्यही बिउलाई बारीमा लगायपछि तरकारी र फलफुल राम्रो भएपछि त्यहीबाट सामान्य रुपमा तरकारी खेती गर्न सुरु भएको हो ।’
सामान्य तरकारी खेतीबाट व्यवसायिक तरकारी खेतीमा हाम फलेका इन्द्र बोगटीले करिब दश रोपनी जग्गामा गरेको व्यवसायिक कृषिबाट मनग्य आम्दानी गर्दै आएका छन् भने घर खर्च चलाएर समेत वार्षिक ११ लाख आम्दानी गर्दै आएको उनी बताउँछन् ।
आफूले गरेको व्यवसायबाट राम्रै आम्दानी हुन थालेपछि उनको जोश दिन दुइगुना रात चौगुना भनेझैँ मेहनत बढाउदै लगेका छन् । विभिन्न संघसंस्थाबाट साथ पनि पाए । अहिले उनी जिल्लाकै उत्कृष्ट कृषकका रुपमा परिचित छन । अहिले गाउँमा उनलाई सबैले बोगटी कान्छाका रुपमा समेत चिन्दछन् र उनी परिचित छन् ।
सामान्य रुपमा व्यवसाय सुरु गरेका उनले २०७५ बाट कृषि फर्म समेत दर्ता गरिसकेका छन् । श्री लक्ष्मण कृषि फलफुल तथा पशुपंक्षि फर्ममा अहिले आठसय बढी कुखुरा, र बाख्रा समेत पालेका र सुर्खेत पठाउने तयारी रहेको उनी बताउँछन् । घर परिवारको राम्रो सहयोग पाएका उनले लोकल कुखुरा समेत पालेको बताउँछन् ।
करिब पाँच रोपनी जग्गामा सुन्तला खेती गरेका छन् भने पाँच रोपनी जग्गामा तरकारी खेती, कुखुरापालन र बाख्रापालन गरेको उनी बताउँछन् । उनको छ जनाको परिवार रहेको छ । उनको परिवारमा उनको आमा तीनवटा छोरा र दुइ दम्पतीसहित ६ जनाको परिवार रहेको छ ।