ललितपुर, २५ साउन । वितेको २४ घण्टामा नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको र ३८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङ मार्फत जानकारी दिएको छ ।
त्यस्तै आज काठमाडौं उपत्यकामा ९२ जनामा संक्रमण पुष्टि भएको छ ।जस अनुसार काठमाडौंमा ९० जना, ललितपुरमा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाउको छ ।
यो वृद्धिसँगै कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ७५ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २२,९७२ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले ६,५४४ जनामा सक्रिय सङ्क्रमण छ भने १६,३५३ जना भाइरसमुक्त भएका छन्।
शनिवार तीन जनाको मृत्यु भएको थियो भने बिहीवार र शुक्रवार पाँच–पाँच जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो। विगत २४ घण्टामा ८,५१५ जनाबाट सङ्कलित नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
सो अवधिमा ४० जना रोगमुक्त प्रमाणित भएका थिए।अहिले देशभरि क्वारन्टीनमा ११,०३८ जना छन्।अहिले गण्डकी र प्रदेश नं १ मा क्वारन्टीनमा हुनेको सङ्ख्या सर्वाधिक छ।
जुम्लामा छ महिने बालक सङ्क्रमित
जुम्लामा एक बालकसहित थप छ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ।
सङ्क्रमित बालक छ महिनाको भएको र अन्य तीन जना सुत्केरी महिला भएको प्रतिष्ठानका डा. धिरज गुरुङले जानकारी दिए।
योसँगै जुम्लामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ८२ जना पुगेको छ।
प्रतिष्ठानको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सङ्क्रमण पुष्टि भएको हो।
जुम्लाको तिला गाउँपालिका वडा नम्बर ५ र जुम्ला सदरमुकाम खलंगामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि हुनेहरुको सङ्ख्या बढ्दै गएको हुनाले आइतवार दिउँसो ३ बजेबाट अर्को सूचना नहुन्जेल सम्मको लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाका अनुसार औषधि पसल र आकस्मिक स्वास्थ्य सेवा बाहेकका सबै सेवाहरु पूर्णरूपमा बन्द गरिएको छ।
र याे पनि हेराैं