काठमाडौँ । दैलेखको गुराँस गाउँपालिकामा जनचेतनामूलक सडक नाटक 'म को हुँ ?' प्रदर्शन गरिएको छ ।
सेभ द चिल्ड्रेनको साझेदारी गुराँस गाउँपालिकाको समन्वय सोसेक नेपालद्धारा गुराँस गाउँपालिकामा संचालित यौनिक तथा लैंङ्गिक अल्पसंख्यक बालबालिका र युवाहरुको अधिकार संरक्षण र समावेशिता प्रवद्र्धन सम्बन्धि परियोजना अन्तर्गत उक्त सडक नाटक प्रर्दशन गरिएको हो ।
सडक नाटकको आयोजना मालिका बालक्लव गुराँस -८ धरमपोखराले गरेको थियो भने लेखन तथा निर्देशन पिपल्स एक्सेस नेपालले गरेको बताइएकोे छ ।
जनचेतनामूलक 'म को हुँ ?' भन्ने सडक नाटक प्रर्दशन मार्फत समुदायमा रहेको यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको बारेमा रहेको गलत धारणालाई लाई स्पष्ट पार्नको लागि जनचेतना जगाउनु रहेको मालिका बालक्लवका सचिव अस्मिता खड्काले बताइन् ।
समुदायमा रहेको यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका लागि समुदाय तथा परिवारमा सामाजिक स्वीकृतीको बातावरण तयार गर्नु हो', उनले भनिन्, 'आफ्नो समुदायमा उनीहरुलाई सुरक्षित महशुस गराउनु र यौन अभिमुखिकरण, लैङ्गिक पहिचान, लैङ्गिक प्रस्तुती र यौन विशेषताको बारेमा ज्ञान अभिवृृद्धि गर्नु यस नाटकको उद्देश्य हो ।’
नेपालको संविधानमा यौनिकतथा लैङ्गिक अल्पसंख्यकको अधिकार सम्बोधन गरिसकेको भएतापनि यौनिकतथा लैङ्गिक अल्पसंख्यकको अधिकार समेट्नको लागि कुनै छुट्टै कानुन, ऐन, नीति तथा कार्यविधि नबन्दा समस्या भएको यौनिक तथा लैंङ्गिक अल्पसंख्यक बालबालिका र युवाहरुको अधिकार संरक्षण र समावेशिता प्रवद्र्धन सम्बन्धि परियोजना संयोजक प्रभा डाँगी बताउँछन् ।
विभिन्न समयमा भएका सर्वोच्च अदालतका फैसला, कानुनमा समेटिएका विषयहरु कार्यान्वयनमा समस्या हुनु, राष्ट्रिय तथा स्थानीय पाठ्यक्रममा स्पष्ट रुपमा नसमेटिनु जस्ता चुनौती अझै पनि रहेका छन्', उनले भनिन्, ‘यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरुलाई परिवार तथा समुदायमा स्वीकार नगर्ने, घृणाको दृष्टिकोणले हेर्ने तथा विभिन्न लाञ्छना लगाउने जस्ता समस्याहरुले यस्ता व्यक्तिहरु आफ्नो लैङ्गिक पहिचानलाई लुकाएर दोहोरो जिवन जिउन बाध्य छन् ।’
यौनिक तथा लैङ्गिक अल्पसंख्यकको अधिकार संरक्षण र समावेशिता अभिवृद्धि गर्नको लागि यस्ता जनचेतनामूलक विभिन्न कार्यक्रम गर्नुपर्ने परियोजना संयोजक डाँगीले बताइन् । जनचेतनामूलक सडक नाटक म को हो प्रदर्शन करिव १५० जना दर्शकहरु रहेका थिए ।
'म को हो ?' सडक नाटक प्रर्दशनको दृश्य देखेपछि यौनिक तथा लैङ्गिक अल्पसंख्यकप्रति भएका गलत धारणा स्पष्ट भएको सहभागीहरुले बताएका छन् ।