ललितपुर, १५ साउन । केहीसाता देखि लक्षण सहितका कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । बुधबारसम्मको तथ्यांकमा प्रदेश २ मा ३६१ महिलासहित ४ हजार ५ सय ४४ जना संक्रमित देखिएका छन् । संक्रमितमध्ये १२ जनाको मृत्यु भएको छ ।
कुल २६ हजार ४ सय ७ जनाको स्वाब संकलन गरीएको थियो । जसमध्ये २ हजार ५२१ जनाको नतिजा आउन बाँकी छ । बुधबार मात्रै सामाजिक विकास मन्त्रालयका तीनजना कर्मचारीमा समेत संक्रमण देखिएको छ ।
पहिला बिना लक्षणका संक्रमित देखिए पनि अहिले प्रदेशमा कोरोनाको लक्षणसहितका संक्रमितहरु देखिन थालेका छन् । लक्षणसहितको संक्रमण एकाएक बढ्न थालेको प्रदेश स्वास्थ्य निर्देशनालयले बताएको छ।
समुदाय स्तरमा नै संक्रमणको जोखिम बढ्न थालेपछि फेरि लकडाउनमा जानुपर्ने स्थिति आउन लागेको विज्ञले बताएका छन् । यसअघि ‘इम्यूनिटी पावर’ राम्रो रहेकाले किशोर तथा युवा उमेरका व्यक्ति संक्रमित नहुने चर्चा भए पनि अहिले जुनसुकै उमेरसमूहका व्यक्ति संक्रमित हुन थालेको विज्ञहरु बताउछन् ।
धनुषाको शहीद नगरपालिका वडा नम्बर ८, डुमरियाका ३८ वर्षीय पुरुषको कोरोना संक्रमित भएर मृत्यु भएको घटनाले यहाँ जुनसुकै उमेर समूहका व्यक्ति कोरोना संक्रमित भइरहेको देखाउँछ । ती पुरुषमा अधिक कोरोना भाइरसको मात्रा देखिएको थियो ।
प्रदेश सरकारले कोरोना भाइरस सम्बन्धी सुझाव दिन बनाएको विज्ञ समूहका चिकित्सक डा. रामकेवल दास पनि प्रदेशमा देखिएका संक्रमितमध्ये १५ देखि २० प्रतिशतमा लक्षण देखिन थालेको बताउँछन् । ‘अहिले संक्रमितको स्वरुप बदलिएको छ,’ ‘पहिला कोही बाहिरबाट संक्रमित भएर आउँथे र उनको जाँच गरी आइसोलेसनमा राखिन्थ्यो, अहिले भने समुदायस्तरमै लक्षणसहितको भाइरस देखिन थालेको छ ।’
यो समयमा गम्भीरतापूर्वक ध्यान नदिए र सावधानी नअपनाए ठूलो मूल्य चुकाउनुपर्ने देखिन्छ । यसका निम्ति तीनवटै तहको सरकारले चनाखो हुँदै तयारी गर्नुपर्ने उनको सुझाव छ ।
सर्वसाधारणले पनि आफ्नो बानी, व्यवहारमा परिवर्तन ल्याउनु जरुरी छ । “अन्यथा कोरोना संक्रमणले समुदाय स्तरमा नै भयावह स्थिति सिर्जना हुनसक्छ ।”
समुदायस्तरमा फैलिएको संक्रमणलाई रोक्नु जरुरी रहेको विज्ञहरु बताउँछन् । यसलाई नियन्त्रण गर्न सबैभन्दा पहिला परीक्षणको दायरा बढाउन उनीहरु सल्लाह दिन्छन् ।
‘परीक्षणको दायरा बढाऔं, संक्रमित देखिनेवित्तिकै उनलाई आइसोलेसनमा राखेर उनको सम्पर्कमा आएकाको खोजी गरी जाँच गरौं र संक्रमित भएको ठाउँलाई सिल गरौं,’ ‘यसरी गर्दा संक्रमणलाई नियन्त्रण गर्न सकिन्छ ।’
र याे पनि
- “इनफ इज इनफ”का अभियन्ता पुकार बम प्रहरी नियन्त्रणमा
- काठमाडौंमा १५ सहित थपिए २१० जना कोरोना संक्रमित
- ‘दुई साताभित्रै कोरोनाको भ्याक्सिन ल्याउने तयारी’
- सुनको भाउ अहिलेसम्मकै महँगो
- ओलीलाई प्रधानमन्त्रीबाट हटाए दुर्घटना हुन्छः सीपी गजुरेल