काठमाण्डौँ । महिनावारी हुने बेलामा धेरै पेट दुख्ने गर्छ। महिनावारीबारे आवश्यक ज्ञान नहुँदा किशोरीले असजिलो महशुस गर्नुका साथै अप्ठ्यारो अवस्थाको समेत सामना गर्नुपरेको हुन्छ।
प्रायः किशोरीहरूमा १३/१४ वर्षदेखि १७/१८ वर्षसम्मको समयमा महिनावारी नियमित हुने गरेको पाइँदैन। महिनावारीको समयमा कहिले कसैलाई धेरै रक्तस्राव भइरहेको हुन्छ भने कसैलाई कम रक्तस्राव हुने गर्छ। तर, यो सामान्य प्रक्रिया हो। झण्डै चालिस प्रतिशत किशोरीमा यस्तो समस्या देखापर्छ।
सुरूमा महिनावारी हुने बेलामा किशोरी अवस्थामा डिम्बाशयदेखि मष्तिस्कसम्मको पहुँच पूर्णरूपमा विकास भएको हुँदैन। त्यसले गर्दा महिनावारीका बेला विभिन्न समस्या आउने गर्छ। यदि महिनावारी लामो समयसम्म भएन अथवा लगातार पाँच दिनभन्दा बढी रक्तस्राव भयो भने त्यस्तो अवस्थामा स्वास्थ्य परीक्षण गर्न जरूरी हुन्छ।
यस्तो बेलामा थाइराइडको समस्या छ कि छैन भनेर आवश्यक परीक्षण गराउनुपर्दछ। कुनै किशोरी धेरै रक्तस्राव भयो भनेर आउँछन् त्यस्तो बेलामा उनीहरूको हेमोग्लोबिन अर्थात् शरीरमा रगतको मात्रा कम भइसकेको हुन्छ। यस्तो हुनुको कारण उनीहरूसँग यसको आवश्यक ज्ञान र बुझाइ कमजोर भएर नै हो।
कतिपय ग्रामीण भेग र स्वास्थ्य सेवामा सहजै पहुँच नभएको ठाँउमा विशेषज्ञ चिकित्सक नभए पनि उपलव्ध स्वास्थ्यकर्मीसँग आफ्नो समस्याबारे परामर्श गरी स्वास्थ्य परीक्षण गराउन सकिन्छ।
यदि ४र५ दिनभन्दा बढी समयदेखि लगातार रक्तस्राव भइरहेको छ, दैनिक ३,४ वटाभन्दा बढी प्याड प्रयोग गर्नु परेको छ र आफ्नो नियमित काममा समस्या भएको छ भने यस्तो बेलामा तुरुन्तै विशेषज्ञ चिकित्सक कहाँ पुगेर स्वास्थ्य परीक्षण गराइ आवश्यक परामर्श लिनु जरूरी हुन्छ।
किशोरी अवस्थामा महिनावारीका बेला धेरै रक्तस्राव हुने समस्याबारे पर्याप्त ध्यान नदिए शरीरमा हेमोग्लोबिनको मात्रा कम भइ समग्र शारीरिक तथा मानसिक विकासमा समेत असर पर्छ। यसले गर्दा दिर्घकालमा विभिन्न स्वास्थ्य समस्यासमेत निम्तिन सक्ने जोखिम हुन्छ।
पेट किन दुख्छ ?
– महिनावारी हुँदा पेट दुख्ने समस्या धेरैजसो महिलामा देखिने गरेको छ।
– महिनावारी हुँदा पेट दुख्नुको विशेषगरी दुई वटा कारणहरु हुन्छन्।
– केही महिलामा दुखाईको यकिन कारण पत्ता लगाउन सकिँदैन।
– शरीरमा भएको बनावट र खराबीका कारण, पाठेघरमा मासु तथा ट्युमर पलाउँदा पेट दुख्न सक्छ।
– कुन किसिमको दुखाई हो, त्यो समस्याको कारण पत्ता लगाएर उपचार गर्नुपर्छ।
महिनावारीमा हुने कस्तो खालको पेट दुखाई सामान्य र कस्तो असामान्य हो ?
– कुनैपनि महिलालाई महिनावारी भएकै कारणले दैनिक काम गर्न समस्या भयो भने असामान्य पेट दुखाई भनेर बुझ्न सकिन्छ।
– सामान्य खालको पेट दुखाई प्रायःजसो सबै महिलालाई हुने गर्छ।
महिनावारीमा हुने पेट दुखाई कम गर्न विभिन्न किसिमका औषधिको सेवन गर्ने चलन पनि छ। यो कत्तिको ठिक हो ?
– कुन औषधि कति मात्रामा खाँदैछौं भन्ने कुराले पनि धेरै फरक पार्छ।
– मिर्गौलालाई असर गर्ने खालको ‘पेन किलर’ कम प्रयोग गर्न हामी सल्लाह दिन्छौं।
– महिनवारी हुँदा धेरै नै पेट दुख्छ भने औषधि खाएर बस्नु भन्दा पनि चिकित्सकको परामर्शमा जानुपर्छ।
यस किसिमले आफूखुशी औषधिको सेवन गरिरहँदा भविष्यमा कस्तो खालको समस्या निम्त्याउन सक्छ ?
– दुखाई कम गर्न सेवन गरिने पेन किलरले शरीरमा धेरै नै असर गर्छ।
– कुन पेन किलर, के कुराको लागि, कति मात्रामा खाने भन्नेमा भर पर्छ।
– आफूखुशी सेवन गरिने औषधिले गम्भीर खालको ग्याष्ट्रिकदेखि अल्सर हुन सक्छ भने मिर्गौला फेल हुने सम्भावना हुन्छ।
महिनावारीमा हुने पेट दुखाई कम गर्न कस्तो किसिमको खानपान र व्यवहार हुनुपर्छ ?
– खानपानले यसमा खासै फरक पार्दैन।
– सबैभन्दा महत्वपूर्ण विषय भनेको महिनावारीमा हुने पेट दुखाई कस्तो किसिमको हो भन्ने बुझ्नुपर्छ।
– एकदम धेरै दुखाई भएको छ भने चिकित्सकको सल्लाह अनुसार औषधिको सेवन गर्न सकिन्छ।
– खानपान र रहन सहनमा परिवर्तन गर्दैमा दुखाई कम हुन्छ भन्ने हुँदैन।
दुखाइ कम गर्ने घरेलु उपाय ?
– तातोपानी पिउने
– पेट दुखेको ठाउँमा हट वाटर ब्यागले सेक्ने
– दुखेको ठाउँमा हलुका मालिस गर्दा दुखाइ कम हुन्छ
– तातो पानीले नुहाउँदा पनि पीडा कम गर्न मद्दत पुग्छ
– तातो र झोलिलो खानुपर्छ