काठमाडौँ । दैलेखको ठाटीकाँध गाउपालिका वडा नं -६ का लवराज थापाको नेपालमा भविष्य छैन सोच थियो । जिन्दगि बदल्न र पैसा कमाउन बिदेश जानुपर्छ भन्ने उहाँको सोच थियो । त्यही शिलशिलामा काठमाण्डौमा बसेर कोरिया जाने तयारी गरिरहनुभएको थियो ।
करिब एक वर्ष तयारी गर्नुभयो । पढाईमा त्यति धेरै अब्बल नभएका थापाले कोरिया भाषा परिक्षामा सोचेजस्तो नतिजा आएन । त्यसपछि उहाँलाई युरोपको माल्टा जाने रहर जाग्यो । लामो समय सम्म पनि माल्टाको भिसा आएन् । बिदेशको भिसा नआएपछि झनै मन आत्तिन थाल्यो । घरको एक्लो सन्तान भएकाले पनि जिम्मेवारी धेरै थियो । दिनरात गन्दै बिदेशको भिसा नआएपछि उहाँले बाटो मोड्नुभयो ।
बाटो मोडेर बिदेश लगानी गर्ने पैसा स्वदेशमै लगानी गर्ने उहाँमा नयाँ सोच पलायो । नेपालमा निराशै निराशा भएका बेला पनि नेपालमा लगानी गर्ने बाताबरण थिएन ।
त्यही पनि पहिलो पटक व्यवसायमा हात हालेका लबराजलाई व्यवसाय सम्बन्धि कुनै अनुभव थिएन । जस्ले गर्दा उहाँ चिन्तित हुनुहुन्थ्यो । व्यवसाय गर्ने सोच बनाइरहँदा सिन्धुपालचोकका कुखुरा व्यवसायि कृष्णा खड्का सँग भेट भयो । दुई जनाले साझेदारीमा कुखुरा फर्म सञ्चालन गर्ने सहमति पश्चात् व्यवसाय सुरु गरेको लबराज थापा बताउनुहुन्छ । बिदेशको सपना देखेको मैले नेपालमा सम्भावना छैन भन्ने लाग्थ्यो, उहाँले भन्नुभयो, 'विदेश जान पासपोर्ट र पैसा बोकेर हिडेको थिएँ विदेश जानका लागि तयार गरेको सबै पैसा कुखुरा फर्ममा लगानी गरे ।'
त्यतिखेर कोरोना भाइरसको ठुलो त्रास थियो । जतासुकै कोरोना फैलियो । कुखुरामा देखिएको रोगले फर्म घाटामा गयो । त्यसपछि उहाँ आफ्नै गाउँ ठाटीकाँध फर्किनुभयो ।
गाडी भाडा समेत अरुसँग जोहो गरेर घर फर्किएका लवराजसँग व्यवसाय गर्ने आँट थियो पैसा थिएन् । केही पैसा विदेश जाने तयारीमा खर्च गर्नुभयो। केही पैसा कुखुरा व्यवसायमा खर्च भयो । केही नगरी एकछिन पनि बस्न नसक्ने लवराजलाई पैसाको अभावले गर्दा व्यवसाय सुरु गर्न आँट पुगेको थिएन । कहाँ जाउँ के गरुँ भन्दै आत्तिएका लबराजले सहकार्य परियोजनाले युवा उद्यमीहरुलाई सहयोग गर्ने कार्यक्रमबारे सुचना पाउनुहुन्छ ।
गाउँमै बसेर केही गर्न चाहने युवाहरुको लागि सोसेक नेपालद्धारा ठाटीकाँधमा संचालित सहकार्य परियोजनासँग युवा उद्यमीहरुलाई सहयोग गर्ने कार्यक्रम थियो । उहाँ त्यहि कार्यक्रममा छनौट हुनुभयो । संस्थाले उहाँलाई अण्डा उत्पादनका लागि २ सय चल्ला उपलब्ध गरायो । अण्डा उत्पादनका लागि ६ महिना सम्म उहाँले कडा परिश्रम गर्नुभयो ।
उहाँको दैनिकी कुखुराको हेरचाहबाट सुरु हुन्थ्यो । अण्डाबाट राम्रै आम्दानी गर्न सफल भएका लवराजले बोइलर व्यवसाय र बँगुर पालन पनि शुरुवात गरेको बताउनुहुन्छ ।
अहिले लबराजसँग ७ सय भन्दा बढी बोइलर छन् । सामान्यतया बोइलर ३ केजी सम्मका बेच्ने गरिन्छ तर पनि ८ देखि १० केजी सम्मका हुने गर्दछन् । बोइलर जति धेरै ठुलो भयो ग्राहकले त्यति रुचाउने भएको हुदाँ लामो समयसम्म पाल्ने गरेको उहाँ बताउँनुहुन्छ ।
केही नयाँ गर्नुपर्छ भन्ने हुटहुटि भएका लबराजलाई नयाँ प्रविधिमा पनि त्यतिकै रुची छ । परम्परागत तरिकाले भन्दा आधुनिक तरिकाले व्यवसाय गर्ने सोच भएको उहाँ बताउनुहुन्छ । कुखुरा फर्ममा आफैले निर्माण गरेको आधुनिक स्वचालित प्रविधि निर्माण गरेको बताउनुहुन्छ । जसरी क्रेसरले बालुवा र गिट्टी एकै पटक अलग अलग गर्दछ त्यसैगरी अण्डा, पानी, दाना सबै एकै पटक अलग/अलग व्यवस्थापन गर्न सजिलो हुने गरी प्रविधिको विकास गर्दैछु', उहाँले भन्नुभयो, 'अहिले हामीसँग प्रविधि नहुँदा श्रम बढी लाग्ने र श्रम बढी हुदाँ महंगोमा उत्पादन हुने समस्या रहेको छ ।'
मेरा सफलता अनि असफलताका आफ्नै कथाहरु छन्', उहाँ भन्नुहुन्छ, 'आफ्नै कथा अरुलाई सुनाउन पाउँदा आफैलाई खुशी लाग्दो रहेछ । मेरो जिन्दगीका सफलता अनि असफलताहरुको कसैको जिन्दगीका लागि सिकाई हुन सक्दछन् ।'
उमेरले २४ वर्ष पुग्नुभएको थापाको श्रीमती र एक छोरी छन् । आफूसँग केही गर्नुपर्छ भन्ने हुटहुटि थियो र त आज सफल हुँदै गइरहेको छु', उहाँ भन्नुहुन्छ, 'मसँग पहाडलाई अलि पर सम्म धकेल्ने शाहस छ तर, सहयोग अरुको पनि चाहिन्छ ।'
बिदेश जाने सपना बोकेका लबराजले बिदेशमा बगाउने पसिना स्वदेशमै बगाउदा स्वदेशमै मनग्य आम्दानी गर्दै आउनुभएको छ । पहिले स्वदेशमा गरेपनि केही हुँदैन भन्ने हुन्थ्यो', उहाँ भन्नुहुन्छ, 'पहिलो कुरा मेहनत र आफूलाई विश्वास गर्दै म सक्छु भन्ने भावनाका साथ मेहनत गरे सफलतामा पुगिने उहाँ बताउनुहुन्छ । स्देशमै मेहनत गर्दै परिवारसँग रमाउदै व्यवसाय गर्दै आउनुभएको थापाले वार्षिक ७ देखि ८ लाखसम्म आम्दानी गर्दै आउनुभएको बताउनुहुन्छ ।'
कुखुराको आधुनिक खोर र प्रविधिको प्रयोगमा संस्थाहरुले सहयोग गरेको भए गाउँमै रोजगारीको श्रृजना गर्न सकिने उहाँ बताउनुहुन्छ ।