काठमाडौँ । शुक्लाफाँटा नगरपालिका–११ देखतभुलीकी प्रेमा राना लालझाडी गाउँपालिका–२ स्थित सिद्धबैजनाथ माध्यमिक विद्यालयमा पढाउँछिन् ।
विद्यालय जान उनले स्थानीय दोदा नदीमा रहेको काठे पुल तर्नैपर्छ र त्यसवापत पैसा पनि तिर्नैपर्छ ।
कञ्चनपुरको लालझाडी गाउँपालिकाका बासिन्दा यसरी नै दोदा नदी तर्न काठको फड्के प्रयोगबापत शुल्क तिर्नुपर्ने बाध्यतामा छन् ।
नदी वारपार गर्न पक्की पुल नहुँदा स्थानीय काठको अस्थायी पुलबाट शुल्क तिरेर ओहोरदोहोर गर्ने गरेका छन् ।
‘वर्षौँदेखि नदी तर्न काठे पुलकै प्रयोग गर्दै आएका छौँ । यो पुल पनि अब जीर्ण बन्दै गएको छ,’ स्थानीय शिक्षक राना भन्छिन् ।
वर्षौँदेखि काठे पुलको भरमा रहेका लालझाडीवासी बर्खामा ट्युबमार्फत जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । पक्की पुल निर्माण गर्ने जनप्रतिनिधिको बाचा पनि लामो समयदेखि अधुरै भएको स्थानीयको गुनासो छ ।
स्थानीयले काठे पुल प्रयोग गरेबापत साइकलको १० र मोटरसाइकलको २० रुपैयाँ शुल्क तिर्ने गरेका छन् । नदीमा व्यक्तिगत लगानीमा स्थानीय मङ्गलबहादुर चौधरीले काठको फड्के बनाएका छन् ।
सालको काठको फलेक जोडेर बनाइएको अस्थायी पुल जीर्ण बन्दै गएको स्थानीय कृष्ण राना बताउँछन् । ‘पुलका टेको मक्किएका छन् । दुर्घटनाको खतरा उत्तिकै बढेको छ,’ उनी भन्छन् ।
बर्खामा बाढी आउने हुनाले जिल्लाको दुर्गम क्षेत्रअन्तर्गत पर्ने लालझाडीसँगको सम्पर्कबिच्छेद हुने गरेको छ । बर्खामा उर्लिएर आउने दोदा नदीले यहाँका स्थानीयलाई दुःख दिने गरेको छ ।
यति हुँदापनि स्थानीय जनप्रतिनिधिले यो खोलामा पक्की पुल निर्माणको कुनै पहल गरेका छैनन् । यहाँबाट प्रतिनिधित्व गर्ने संघीय र प्रदेश सांसदले समेत पुल निर्माणमा वास्ता नगरेपछि स्थानीय लामो समयदेखि खोला तर्न शुल्क तिर्नुपर्ने वाध्यतामा छन् ।
जम्मा ४६ करोड रुपैयाँको बजेट भएको लालझाडी गाउँपालिकासँग आफैँले रकम खर्च गरेर पुल बनाउने क्षमता नभएको र माथिल्ला सरकारले सहयोग नगरेका कारण वडा नम्बर २ का स्थानीयले यात्राका क्रममा सास्ती खेप्नुपरेको गाउँपालिका अध्यक्ष निर्मल राना बताउँछन् ।