ललितपुर, १२ पुष । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको जाहेरी दिने किशोरीको उमेर विवाद यतिबेला सर्वाधिक चासोको विषय बनेको छ । पीडित किशोरीको तीन वटा जन्म मिति प्रकाशमा आएसँगै कुन मितिलाई आधिकारिक मानिएला भन्नेबारे चासो बढेको हो ।
स्रोतबाट प्राप्त कागजातमा सन्दीपविरुद्ध जाहेरी दिने किशोरीको उमेर विवादका सम्बन्धमा निरुपण गर्नका लागि काठमाडौं जिल्ला अदालतले माग गरेको कागजातमा किशोरीको जन्म मिति सरकारी अभिलेखमा २०६१ असार १८ गते उल्लेख रहेको पाइएको छ ।
यसअघि किशोरीको जन्ममिति २०६१ जेठ १८ गते रहेको प्रतिवादी सन्दीप लामिछाने पक्षका वकिलहरुले दावी गरेका थिए । यता वादी अर्थात् नेपाल सरकारको पक्षबाट बहस गरिरहेका अधिवक्ता र सरकारी वकिलहरुले भने किशोरीको जन्म मिति २०६२ जेठ १८ गते नै रहेको र वारदात भएको भनिएको समयमा उनी नाबालिग नै रहेको दावी गरिरहेका छन् ।
किशोरीको जन्म मिति खुल्ने विद्यालयको सर्टिफिकेट, उनले लिएको जन्मदर्ताको प्रतिलिपि र नागरिकतामा उनको जन्म मिति २०६२ साल जेठ १८ गते उल्लेख छ । यसरी तीन वटा जन्म मिति प्रकाशमा आएपछि आधिकारिक कुनलाई मान्ने भन्नेबारे प्रश्न उठेको छ ।
जन्म मिति २०६२ जेठ १८ गते मान्ने हो भने वारदात भएको भनिएको मिति २०७९ भदौ ५ गते राति र भदौ ६ गतेको बिहानसम्मको समयमा उनको उमेर १७ वर्ष मात्रै पूरा भएको हुन्छ ।
सन्दीपविरुद्ध जाहेरी दिने किशोरीले आफूमाथि २०७९ भदौ ५ गतेको रातिदेखि भदौ ६ गतेको बिहानसम्म दुईपटक जबरजस्ती करणी गरेको आरोप लगाएकी छन् ।
क्रिकेटर लामिछाने गत भदौ ६ गते साँझ केन्याविरुद्ध एकदिवसीय क्रिकेट खेल्न नौरोबी गएका थिए । त्यसको १५ दिनपछि अर्थात् २०७९ भदौ २१ गते किशोरीले महानगरीय प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जबरजस्ती करणीको जाहेरी दिएकी थिइन् ।
किशोरीको जाहेरीमा सन्दीपले आफूलाई भदौ ५ गते कतै घुम्न निस्कौँ भनेर जबरजस्ती कारमा राखेर नगरकोट लगेको र आफूलाई त्यहीँ बलात्कार गर्न खोजेको भए पनि आफूले त्यहाँ बस्न नमानेकाले ढिला गरी काठमाडौं ल्याएर आफू बस्ने गरेको होस्टल बन्द भएपछि होटलमा पु¥याएर करणी गरेको जाहेरी दिएकी थिइन् । लामिछानेले आफूमाथि डर धम्की देखाई भदौ ५ गते रातिदेखि भदौ ६ गतेको बिहानसम्म गरी दुईपटक जबरजस्ती करणी गरेको उनको आरोप छ ।
सन्दीपविरुद्ध नाबालिगलाई जबरजस्ती करणी गरेको जाहेरी परेपछि प्रहरीले सन्दीपको खोजी गरेको थियो । प्रहरीले खोजी सुरु गरेलगत्तै लामिछाने क्यारेबियन लिग छाडेर फरार भएका थिए । त्यसपछि अमेरिकामा लुकेर बसेका लामिछाने असोज २० गते आत्मसर्मपण गर्दै नेपाल आएका थिए ।
प्रहरीको हिरासतमा रहेका लामिछानेलाई कात्तिक १४ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेर बुझाइएको थियो । काठमाडौं जिल्ला अदालतमा थुनछेक बहसपछि कात्तिक १८ गते न्यायाधीश माधव घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । त्यसपछि लामिछाने थुनामै छन् ।