ललितपुर, २९ मंसिर । कतारमा जारी फिफा विश्वकप २०२२ मा फाइनल समिकरण पुरा भएको छ । हालसम्म ६४ मध्ये ६२ खेल सकिएका छन् । ४ राष्ट्र (क्रोएसिया, अर्जेन्टिना, फ्रान्स र मोरक्को) ले अबका बाँकी चार खेल खेल्नेछन् ।
नेपाली समय अनुसार आइतबार राति ८ः४५ बजे लुसेल रंगशालामा फ्रान्स र अर्जेन्टिनाले उपाधिका लागि खेल्नेछन् । यस्तै तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया शुक्रबार राति खलिफा इन्टरनेशनल स्टेडियमा खेल्नेछन् । यो सँगै फ्रान्स र अर्जेन्टिनामध्ये एकले उपाधि जित्ने पक्का छ ।
यस्तै प्रतियोगिताभर सर्वाधिक गोल गर्ने खेलाडीलाई फिफाले गोल्डेन बुट अवार्ड प्रदान गर्दै आएको छ । यसपालि फाइनलमा पुगेका फ्रान्स र अर्जेन्टिनाका खेलाडीनै गोल्डेन बुट र गोल्डेन बलको दौडमा अगाडि देखिएका छन् ।
फ्रान्सका केलियन एम्बाप्पेले लगातार दोस्रो खेलमा गोल गर्न नसक्दा कतारमा जारी फिफा विश्वकप –२०२२ मा गोल्डेन बुटको दौडमा सुरूदेखिनै अगाडि रहेका उनलाई अर्जेन्टिनाका कप्तान लिओनल मेसीले उछिनेका छन् ।
गोल्डेन बुटमा अर्जेन्टिनी कप्तान लिओनेल मेसीसँगै फ्रान्सका युवा फरवार्ड केलियन एम्बाप्पे बीच प्रतिस्पर्धा छ। दुवै खेलाडीले समान ५–५ गोल गरेका छन् । असिस्टको आधारमा लिओनेल मेसी शीर्षस्थानमा छन् ।
फिफाको नियम अनुसार गोल्डेन बुट विजेताको निर्धारणमा दुई वा सो भन्दा बढी खेलाडीको समान गोल भएको अवस्थामा असिस्ट संख्या गणना हुनेछ । असिस्ट पनि बराबरी भए कम मिनेट खेल्ने खेलाडीले गोल्डेन बुट पाउनेछन्। हाल मेसीको ३ असिस्ट र एम्बाप्पेको २ असिस्ट छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले प्राप्त गर्ने गोल्डेन बलमा खेलाडीको सबै प्रदर्शन हेरिन्छ । यसमा खेलाडीले आफ्नो टोलीका लागि गरेको योगदान मापन गरिन्छ । हालको अवस्थामा मेसी नै गोल्डेन बलको पनि दावेदार छन् ।
मेसी सर्वाधिक असिस्टको सूचीमा पनि फ्रान्सका ग्रिजमनसँग बराबरीमा छन् । मेसी र ग्रिजमनले समान ३–३ असिस्ट दिएका छन् ।