ललितपुर, २९ भदौ । चिकित्सक डा. सुधांशु केसीले त्रिपुरेश्वर चोकको फोटो राख्दै मंगलबार अपराह्न ट्वीटरमा भद्रतापूर्वक कटाक्ष गरेर लेखे, ‘वीर हस्पिटल जान पर्नेलाई टिचिङ हस्पिटल जा भनेर बाटो छेकेर बसेका कर्मठ ट्राफिक सर्मिसहरू ।’
अर्का ट्वीटर प्रयोगकर्ता सुरज रेग्मीको प्रतिक्रिया छ, ‘यो मन्त्री, प्रधानमन्त्री, सभामुख, विपक्षी नेतासेता अनि संसद् भवन सबैलाई बाहिरी चक्रपथ बनाएर त्योभन्दा बाहिर लगेर राख्नुप¥यो, स्वतन्त्रवालाको दुई नम्बर नारा यही हुनुप¥यो ।’
नेपालको चारदिने भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको सवारी व्यवस्थापन गर्ने नाममा प्रहरी र प्रशासनले सोमबारदेखि नै काठमाडौंका व्यस्त सडक खाली गराएर नागरिकको दैनिकी अस्तव्यस्त पारेका छन । त्यसैको प्रतिक्रिया डा. केसीले सामाजिक सञ्जालमा दिएका हुन ।
ली विमानस्थल ओर्लिएपछि सवारी अवधिभर प्रहरीले सिनामंगलबाट तीनकुने, नयाँ बानेश्वर, माइतीघर, थापाथली–त्रिपुरेश्वर–कालीमाटी हुँदै होटल सोल्टीसम्मको व्यस्त सडक खाली गरायो ।
लीले सोमबार साँझ नै सभामुख अग्निप्रसाद सापकोटासँग संसद् भवनमा भेट गरे । त्यस क्रममा पनि निर्धारित रुटको आवागमन अस्तव्यस्त बन्यो । लीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग सिंहदरबारमा शिष्टाचार भेट गरे । त्यस अवधिमा पनि नागरिकले उसैगरी सास्ती भोगे । बुधबार बिहान ९ देखि ११ बजेसम्म वसन्तपुर र भक्तपुर दरबार क्षेत्रको अवलोकनपछि दिउँसो ३ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा भेट गर्ने कार्यक्रम छ । त्यस अवधिमा पनि ली हिँड्ने सडकमा कसैले आवागमन गर्न पाउने छैनन ।
लेखक खगेन्द्र संग्रौलाले मंगलबार ट्वीटरमा लेखेका छन्, ‘कोही विदेशी भीआईपी पाहुना आउँदा सिंगो राजधानीको दिनचर्या, यातायात, आइजाइ, कामकाज, चैन अस्तव्यस्त पारिनु कूटनीतिक आवश्यकता हो कि दासवत् चाकरी ? उही तहको नेपाली भीआईपी चीन जाँदा प्रत्युत्तरमा बेइजिङको यसरी नै दुर्गति हुन्छ ?’ मिटरब्याजपीडितमाथि प्रहरीले लाठी बर्साएर भीआईपीका लागि बाटो खाली गराएको सम्बन्धमा संग्रौलाको ट्वीट ‘कोट’ गर्दै अर्का लेखक सञ्जीव उप्रेती महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘के नेपाल सानो छ ?’ निबन्धको प्रसंग जोड्दै प्रश्न गर्छन्, ‘सरकारले विदेशी पाहुनालाई देखाउन खोजिरहेको नेपाल ‘सुन्दर, शान्त र विशाल छ’ भनेर यस्ता फोटाले न सुन्दरता देखाइरहेछन्, न शान्ति । अनि शासकहरूको मन मुसाको भन्दा सानो भएपछि देश कसरी विशाल हुन्छ ?’
आइतबार गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समिति बैठकले लीको भ्रमण अवधिभर आवागमन र बस्ने स्थानको सुरक्षामा कुनै कमजोरी हुन नदिन चारवटै सुरक्षा निकायलाई निर्देशन दिएको थियो । त्यसपछि प्रहरीले लीको सवारी रुटका दुवै लेन खाली गर्नुका साथै निवास तथा भेटघाट स्थलमा सुरक्षा कडाइ गरेको छ । दुवै लेन खाली गर्दा सवारी अस्तव्यस्तता बढेको छ । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेल सवारी जाम र चाप अहिलेको मात्रै समस्या नभएको तर्क गर्छन । विदेशी पाहुनाको आगमन तथा नेपालबाट विदेशमा हुने अतिविशिष्टका औपचारिक÷राजकीय भ्रमणका बेला विशिष्ट किसिमको सुरक्षा प्रबन्ध मिलाइने गरिएको पनि उनले बताए । ‘यस्तो बेला सुरक्षा संवेदनशीलतासँग जोडेर पनि सडकमा बाहिरी पक्षको उपस्थितिलाई कम गर्नुपर्ने हुन सक्छ, त्यसलाई नै मध्यनजर गरेर चिनियाँ जनकंग्रेसका अध्यक्षको भ्रमणमा विशिष्ट किसिमको सुरक्षा प्रबन्ध मिलाइएको हो,’ उनले भने ।
जामका कारण सर्वसाधारणबाट आएका असन्तुष्टिप्रति सरकार जानकार रहेको भन्दै प्रवक्ता पोखरेलले त्यसलाई मध्यनजर गरेर भीआईपी सवारभन्दा अर्को लेन खुलाउने र भीआईपी हिँडिसकेपछि त्यो बाटो पनि नरोकी तत्कालै खुलाउने व्यवस्था मिलाउन प्रहरी र प्रशासनलाई निर्देशन दिइएको बताए । तर, प्रहरीले त्यसप्रति खासै ध्यान नदिएर बाटै खाली गराउने नीति अख्तियार गरेको देखिन्छ । लीको मंगलबार प्रधानमन्त्री देउवासँगको भेटमा सोल्टी होटलदेखि सिंहदरबार पुग्दा र भेटघाट सकेर फर्किंदा सडकका दुवै लेन बन्द गराएर सुरक्षाकर्मी परिचालन गरिएको थियो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख डीआईजी मीरा चौधरीले ‘विशेष कारणबश केही दिन तोकिएका रुटको सवारी आवागमन प्रभावित हुने’ जानकारी आफूहरूले समयमै सडक प्रयोगकर्तालाई गराइएको बताइन । प्रहरी महानिरीक्षकको सचिवालयका एसएसपी दानबहादुर कार्कीले सुरक्षा संवेदनशीलताकै कारण सडक खाली गराएर विदेशी पाहुनाको आवागमन व्यवस्थापन गरिएको बताए । नदी करिडोर र भित्री सडक व्यवस्थित बनाउन सके भीआईपीको सवारीका बेला आवागमन व्यवस्थित गर्न सहज हुने उनको भनाइ छ ।
केही वर्षअघि सरकारले अतिविशिष्ट व्यक्तिको उपत्यकाबाहिर र विदेश भ्रमण हुँदा तथा विदेशी अतिविशिष्ट पाहुना आउँदा हेलिकोप्टरबाटै विमानस्थलदेखि निवाससम्म र तोकिएका कार्यक्रम स्थलसम्म जानेआउने व्यवस्था गर्नेबारे आन्तरिक छलफल गरेको थियो । तर, त्यसमा सरकारले थप बहस नै गरेन । कान्तिपुरबाट साभार