एजेन्सी, २० भदौ । क्यानडामा छुरा प्रहारबाट कम्तिमा १० जनाको मृत्यु भएको छ । मध्य सास्काचेवान प्रान्तमा भएको घटनामा १५ जना घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उत्तर पूर्वमा रहेको आदिवासी क्षेत्र जेम्स स्मिथ क्री नेसन र नजिकैको वेल्डनसहित १३ विभिन्न स्थानहरूमा अन्धाधुन्ध छुरा आक्रमण भएको हो ।
३१ वर्षीय ड्यामियन स्यान्डरसन र ३० वर्षीय माइन्लस स्यान्डरसन छुरा प्रहारको घटनाका संलग्न रहेको प्रहरीले आशंका गरेको बिबिसीले जनाएको छ ।
घटनाका दुवै शंकास्पद आरोपी फरार रहेको प्रहरीले जनाएको छ । फरार अभियुक्त हतियारधारी रहनुका साथै निकै खतरनाक रहेको क्यानेडियन प्रहरीले जनाएको छ ।
प्रहरीले आरोपितलाई पक्राउ गर्नका लागि सर्च अभियान तिब्र पारेको छ । घटना भएको क्षेत्रका बासिन्दालाई प्रहरीले सुरक्षा सतर्कता अपनाउन भन्दै घर भित्रै रहन आग्रह गरेको छ ।
‘सुरक्षित स्थान नछोड्नुहोस्। अरूलाई आफ्नो निवासमा ल्यानुअघि सावधानी अपनाउनुहोस्’, रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसीएमपी) सास्काचेवानले भनेका छन् ।
छुट्टा छुट्टै स्थानमा सुरक्षा चेकपोइन्ट स्थापना गरेर प्रहरीले खोजी अभियान तिब्र पारेको छ । जेम्स स्मिथ क्री नेसनमा आपतकाल घोषणा गरिएको छ ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आक्रमणलाई ‘भयानक र हृदयविदारक’ भनेका छन् । ‘म यस हमलामा आफ्ना प्रियजन गुमाएका र घाइते भएकाहरूप्रति चिन्तित छु’, प्रधानमन्त्री ट्रुडोले भनेका छन् ।
आइतबार साँझ प्रहरीले पत्रकार सम्मेलन गरी यस हमलामा घाइतेको संख्या धेरै हुनसक्ने बताएको छ । परिवारका सदस्य आफैंले घाइतेलाई अस्पतालमा भर्ना गरेको पाइएकाले सबैले तत्काल प्रहरीलाई खबर गर्न आग्रहसमेत गरिएको छ ।