ललितपुर, २६ साउन । सिट बाँडफाँटका लागि बनेको पाँच दलीय सत्ता गठबन्धनको ११ सदस्यीय कार्यदलको बैठक बिहीबार दिउँसो बस्दैछ । बैठकमा दलका नेताहरुले आ–आफ्नो पार्टीका तर्फबाट सिट बाँडफाँडको मोडालिटी र आधार पेश गर्दैछन् ।
गठबन्धनमा रहेको तेस्रो ठुलो दल नेकपा एकीकृत समाजवादीले कार्यदलको आजको बैठकमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ २० देखि २५ प्रतिशत सिट दाबी गर्ने भएको छ । यो आधारमा उसले १६५ सिटमा २० प्रतिशतको हिसाव निकाल्दा हुँदा ३२ सिटमा दाबी गर्नेछ भने २५ प्रतिशत हुँदा ४२ सिटमा दाबी पेश गर्ने भएको छ । सोही अनुसार उसले प्रदेशतर्फ पनि सिटको दावी गर्ने तयारी गरेको नेताहरुको भनाइ छ ।
‘हामीसँग अहिले २४ जना संघीय सांसद छन् । प्रदेशमा ६० जना छन् यो हिसाबमा ८४ सांसद हुन्छ । यसमा केही थप हुनुपर्छ, जबकी ९० देखि सय जना हाम्रा सांसद हुनुपर्छ’ नेकपा समाजवादीका एक पदाधिकारीले भने,‘गठबन्धन गरेपछि अहिलेको यो संख्या घट्ने अवस्थामा हामी सहमति गर्दैनौं’ ।
उनले बुधबार बसेको केन्द्रीय सचिवालय बैठकमा पनि सोही अनुसार प्रस्ताव लैजाने सहमति भएको बताए । ती नेताका अनुसार प्रत्यक्ष निर्वाचित सांसद, स्थानीय तहमा निर्वाचित भएको पालिका र व्यक्तित्वको आधारमा सिट बाँडफाँड गर्नुपर्ने पार्टीको प्रस्ताव हुनेछ ।
उपमहासचिव समेत रहेका नेता जगन्नाथ खतिवडाले सिट बाँडफाँटमा पार्टीको स्पस्ट धारणा रहेको बताए । उनले भने, ‘हामी प्रतिगमनकारी शक्तिलाई पराजित गर्नदेखि यो सरकार र गठबन्धन निर्माणमा महत्वपुर्ण भुमिका खेल्ने शक्ति हौ । सोही अनुसार हाम्रो अवको चुनावका लागि हुने सिट बाँडफाँटमा हाम्रो बटमलाईन पेश हुन्छ ।’
बुधबार बसेको सचिवालय बैठकले उम्मेदवारीको मापदण्ड र छनोट विधिबारे प्रस्ताव तयार पार्ने जिम्मेवारी कार्यदलका सदस्यसमेत रहेका बेदुराम भुसाल र प्रमेश हमाललाई दिएको थियो । नेता खतिवडाले कुन कुन स्थानमा दावी गर्ने भन्ने हिसाव भइनसकेको पनि बताए । ‘कुन कुन क्षेत्र भन्ने अझै अध्ययनको विषय छ । तर त्यो हिसाव पनि जिम्मेवारी पाएका नेताहरुले तयार पार्नुभएको होला’, उनले भने, ‘विगतका निर्वाचन र परिणामलाई मुख्य आधारका रूपमा लिन सकिन्छ ।’