ललितपुर, ३० जेठ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसकी सांसदले कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवको आलोचना गरेकी छन् । कांग्रेस सांसद पार्वता डीसी चौधरीले प्रतिनिधिसभाको रोष्ट्रमबाट कृषिमन्त्री जस्ताका कारणले गर्दा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले काम गर्न नसकेको बताएकी हुन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा एमालेका सांसदहरूले मलको विषयमा छलफल गर्न ल्याएको स्थगन प्रस्तावमाथि छलफल गर्ने क्रममा कांग्रेस सांसद चौधरीले कृषिमन्त्री यादवमाथि आक्रोश व्यक्त गरेकी हुन् । ’हिजो भर्खरको बैठकमा प्रधानमन्त्रीले भन्नुभयो यो गठबन्धनको सरकार भएको हुनाले धेरै काम भनेको जति हुन पाएन । तपाईंहरूजस्तै मन्त्री भएर हाम्रो सभापतिले काम गर्न पाउनुभएको छैन, प्रधानमन्त्रीले काम गर्न सक्नुभएको छैन,’ उनले भनिन्, ’बेइज्जत त हाम्रै कांग्रेसलाई हुन्छ नि, नेतृत्वको त कांग्रेसको छ ।’
आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले गठबन्धन सरकार भएका कारण भनेजसरी काम गर्न नसकिएको अभिव्यक्ति दिएका थिए । उनले कार्यकर्ताहरूलाई धेरै मागदाबी नगर्न आग्रह गरेका थिए । सोही विषयलाई सांसद चौधरीले संसद्मा उल्लेख गरेकी हुन् ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका लागि विनियोजन गरेको बजेट तथा कार्यक्रमबारे प्रतिनिधिसभामा छलफल गर्ने क्रममा मन्त्री यादव भारत भ्रमणमा थिए । सांसदहरूले त्यहाँ मन्त्रालयका योजनाबारे प्रश्न उठाएको तर मन्त्रीले सदनलाई अपमान गरेर विदेश भ्रमणमा गएको सांसद चौधरीको भनाइ थियो । ’बजेटका विषयमा छलफल हुँदै गर्दा कृषिमन्त्री लापत्ता हुनुहुन्थ्यो, गायब हुनुहुन्थ्यो । तर, आज फेरि आउनुभएको छ । के–के प्रश्न गरियो उहाँले सुन्नुभएन । यो सदनप्रतिको अपमान हो । यस्तो बेलामा विदेश जानु ठीक होइन,’ किसानले मल नपाएको कारण बजेटमाथिको छलफल स्थगनको प्रस्ताव आएको भन्दै उनले कृषिमन्त्रीमाथि आक्रोश पोखेकी हुन् ।
सत्तारुढ गठबन्धनमा रहेका दलका नेताहरूलाई राम्रो सांसदलाई मन्त्रीमा सिफारिस गर्न र सरकार सफल बनाउन सांसद चौधरीको भनाइ थियो । ’कांग्रेसको नेतृत्व सफल पार्नका लागि गठबन्धनले पनि राम्रा मन्त्री दिनुप¥यो,’ जसपाको आलोचना गर्दै उनले भनिन्, ’जसपा केपी ओली हुँदा पनि मन्त्री हुन खुट्टो उचाल्दै जाने, अनि यता हुँदा पनि खुट्टो उचाल्दै आउने । जहाँ जाँदा पनि खुट्टो उचाल्दै जाने कस्तो मज्जाको, अरु त सांसदै होइनन् जस्तो । एउटै मान्छे जता जाँदा पनि मन्त्री भइरहने ?’
मन्त्री अरु पार्टीका भएपनि सरकार असफल भए कांग्रेसलाई नै घाटा हुने चौधरीको भनाइ थियो । ’कांग्रेसको नेतृत्वमा सरकार छ । मन्त्री तपाईं हुनुहुन्छ, हामीलाई पीडा छ । कांग्रेसको नेतृत्वले के ग¥यो भनेर हामीलाई भन्छ । गठबन्धनले राम्रा मन्त्री देओस् । काम गर्न सक्ने मन्त्री पठाउनुस्,’ उनले भनिन् ।