ललितपुर, १ साउन । नेपालमा आज बिहीवार १६७ जना व्यक्तिमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यो वृद्धिसँगै बिहीवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १७,३४४ पुगेको छ। तीमध्ये ११,२४९ जना सङ्क्रमितहरू भाइरसमुक्त भएर घर फर्किएको र ३९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।
विगत २४ घण्टामा २१३ जना निको भएर घर फर्किएको जानकारी मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएका छन्। अहिले देशभरि ६,०५६ सक्रिय सङ्क्रमित भएको उनले बताए।
गत असार १९ गते सर्वाधिक ७४० जनामा सङ्क्रमण पुष्टि भएको थियो। त्यसपछि सङ्क्रमण पुष्टि हुने मानिसको सङ्ख्या घटिरहेको छ।
बिहीवार सङ्क्रमण पुष्टि भएका विभिन्न ३१ जिल्लाका हुन्। बिहीवार सबैभन्दा बढी सङ्क्रमित देखिएका जिल्लाहरूमा धनुषा (२७ जना), नवलपरासी पूर्व (१७ जना), ओखलढुङ्गा (१५ जना), कैलाली र कञ्चनपुर (१४(१४ जना) रहेका छन्।
अरू तथ्याङ्क के छ?
विगत २४ घण्टामा पीसीआर विधिबाट ४,९८१ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ।
हालसम्म तीन लाख तीन हजार आठ सय दश जनाको पीसीआर परीक्षण गरिएको छ।
अहिले देशभरिका क्वारन्टीनमा मानिसको सङ्ख्या घटेर २३,५०० पुगेको छ। तीमध्ये सुदूरपश्चिममा सर्वाधिक छन्।
अधिकांश सङ्क्रमितहरू भारतबाट आई क्वारन्टीनमा बसेका वा तिनको संसर्गमा आएका व्यक्ति हुन्।
अहिलेसम्म कोरोनाभाइरसबाट प्रदेश नं २, प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशमा सर्वाधिक सङ्ख्यामा मानिसहरू सङ्क्रमित भएका छन्।