ललितपुर, २१ चैत । नेपाल, पपुवा न्युगिनी (पिएनजी) र मलेसियाबीचको त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र पिएनजी उपाधिका लागि मध्यान्ह १२ः३० बजे भिड्दैछन् ।
नेपालले एक वर्षको बीचमा घरेलु मैदानमा दोस्रो पटक सिरिजको उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेको हो ।
गत वर्ष नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीचको सिरिजको उपाधि नेपालले जितेको थियो । गत वर्षको उपाधिसँगै नेपालले ११ वर्षपछि घरेलु मैदानमा उपाधि जित्न सफल भएको थियो ।
यसपटक पनि नेपालले उपाधिका लागि प्रतिस्पर्धा गर्ने कप्तान सन्दीप लामिछानेले बताएका छन् । नेपालले लिग चरणका चारै खेलमा जित निकालेको थियो । मलेसिया र पिएनजी दुवै टिमलाई पराजित गर्दा नेपाल उत्कृष्ट फर्ममा देखिएको थियो ।
टी–२० अन्तर्राष्ट्रियमा नेपाल र पिएनजीबीच अहिलेसम्म तीन पटक प्रतिस्पर्धा भएको छ । तीन मध्ये नेपालले दुई खेलमा जित निकालेको छ ।
सन् २०१५ भएको पहिलो प्रतिस्पर्धामा नेपाल पराजित भएको थियो। विश्वकप छनोटको खेलमा पिएनजीले नेपाललाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो ।
त्यसपछि नेपाल र पिएनजीबीच गत साता दुई भिडन्त भयो । त्रिवि मैदानमा त्रिकोणात्मक सिरिजअन्तर्गतको दुवै खेलमा नेपालले जित निकाल्यो ।
पहिलो खेलमा नेपाल १५ रनले विजयी हुँदा दोस्रो खेलमा नेपालले ३७ रनको जित निकालेको थियो ।