ललितपुर, १० फागुन । ओमानमा जारी आईसीसी टी–२० विश्वकप क्वालिफायरमा नेपालले आज यूनाइटेड अरब इमिरेट्स (यूएई)सँग महत्वपूर्ण खेल खेल्दैछ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज यूएईसँग आज अपराह्न पौने चार बजे त्यस्तो खेल खेल्दैछ जुन खेल जितेमा नेपाल अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा स्थान बनाउने छ । यदि पराजित भएमा नेपालले विश्वकप पुग्नका लागि अझै केही वर्ष पर्खनु पर्नेछ ।
नेपालले ग्लोबल क्वालिफायर–‘ए’को समूह ‘बी’मा अहिलेसम्म तीन खेल खेल्दा शतप्रतिशत जितसहित सेमिफाइनलमा स्थान बनाएको हो । सेमिफाइनल पुग्न यी तीन खेल जति महत्वपूर्ण थिए त्योभन्दा महत्वपूर्ण खेल नेपालका लागि यूएईविरुद्ध हुनेछ ।
युएईलाई पन्छाए विश्वकपमा नेपाल
नेपाल समूह ‘बी’ मा सबै तीन खेल जितेर समूह विजेता बन्दै सेमिफाइनल पुगेको हो । उता यूएई सुरुको दुई खेल जितेर अन्तिम खेलमा बहराइनसँग पराजित भएको थियो । तैपनि समूह ‘ए’ को उपविजेताको रुपमा सेमिफाइनल पुग्यो ।
आजै अर्को सेमिफाइनल खेल पनि हुनेछ जहाँ समूह ‘ए’ को विजेता आयरल्याण्डले समूह ‘बी’ को उपविजेता घरेलु टोली ओमानसँग खेल्नेछ ।
यी दुवै सेमिफाइनलका विजेता टी–२० विश्वकपमा पुग्नेछन् । रमाइलो के छ भने आयरल्याण्ड र ओमानले २०२१ मा यूएई र ओमानमा भएको टी–२० विश्वकप खेलेका थिए । यसबाट एक टोली मात्र विश्वकपमा पुग्नेछ ।
आयरल्याण्ड विजयी भए लगातार सातौं पटक विश्वकप पुग्नेछ भने ओमान विजयी भए लगातार तेस्रो पटक विश्वकप खेल्नेछ ।
अर्कोतर्फ नेपाल र यूएईले पछिल्लो विश्वकप खेलेका थिएनन् । यसबाट जित्ने टिमले भने आठ वर्षपछि टी–२० विश्वकपमा स्थान बनाउने छ ।
नेपाल र यूएईले सन् २०१४ मा बंगलादेशमा पहिलो पटक विश्वकप खेलेका थिए । त्यसपछिका दुई संस्करणमा भने यी दुवै टोली छनोट हुन सकेनन् ।
यूएई पछिल्लो पटक टी–२० विश्वकपको ग्लोबल क्वालिफायर खेले पनि छनोट हुन सकेको थिएन । नेपाल भने एसियन रिजनबाट अघि बढ्न सकेन । यसपटक दुवै टिम आईसीसी टी–२० वरीयतामा माथिल्लो स्थानमा रहेकाले सिधै ग्लोबल क्वालिफायरमा पुगेका हुन् ।
अहिले भइरहेको ग्लोबल क्वालिफायरअघि तयारी स्वरुप खेलिएको चार देशीय सिरिजमा नेपाल र यूएई पछिल्लो पटक खेलेका थिए । जसमा यूएईसँग नेपाल २५ रनले पराजित भएको थियो ।
अहिले सेमिफाइनल खेल्न लागेका चारै टोलीले त्यो सिरिज खेलेका थियो । जसमा नेपालले ओमानलाई पराजित गर्दा आयरल्याण्ड र यूएईसँग पराजित भएको थियो । यूएईले भने नेपाल र आयरल्याण्डलाई हराउँदा ओमानसँग पराजित भएको थियो ।
तर त्यस सिरिजपछि क्वालिफायरमा भने नेपालले उत्कृष्ट प्रदर्शन गर्दै अपराजित छ । नेपालले समूह चरणमा ओमानलाई ३९ रनले, फिलिपिन्सलाई १३६ रनले र क्यानडालाई ८ विकेटले पराजित गरिसकेको छ । ओमानले नेपालसँग हार्दा क्यानडा र फिलिपिन्सलाई हरायो ।
अर्को समूहमा यूएईले आयरल्याण्ड र जर्मनीलाई हरायो भने बहराइनसँग पराजित भयो । आयरल्याण्डले यूएईसँग हारेपछि बहराइन र जर्मनीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । अब यिनै चार टिममध्ये सेमिफाइनल जित्ने दुई टोलीले फाइनल पुग्दै विश्वकपको लागि अष्ट्रेलिया प्रस्थान गर्ने छन् ।