ललितपुर, ५ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबल गरिछाड्ने बताएका छन् । देउवाले एमसीसी संसदमा टेबल गर्न सहयोगका लागि सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह समेत गरेका छन् ।
सत्ता साझेदार माओवादी केन्द्रले यथास्थितिमा एमसीसीको विपक्षमा उभिने निर्णय लिएपछि प्रधानमन्त्री देउवाले तीन वटा विकल्पबारे प्रचण्डसँग छलफल गरेका छन् । माओवादी संसदीय दलको बैठकपछि बुधबार मध्यान्ह बालुवाटार पुगेका प्रचण्डलाई देउवाले एमसीसीमा मौन बस्न, विपक्षमा उभिन र सरकार छोड्न भए छोड्न तीन विकल्प राखेका थिए ।
देउवाले बुधबार साँझ आफू निकट मन्त्री र केही पदाधिकारीसँग प्रचण्डसँगको उक्त भेटवार्ताबारे बिफ्रिङ गरेका थिए । एमसीसी पारित गर्न साथ दिन नसक्ने भए पनि टेबल गर्ने वातावरण नबिथोल्न प्रचण्डसँग प्रधानमन्त्रीले आग्रह गरेको एक काँग्रेस नेताले बताए। ‘हामी कुनै पनि हातमा एमसीसी टेबल गराउन चाहन्छौं । त्यसका लागि प्रधानमन्त्रीज्यूले प्रचण्डजीलाई तीन विकल्प दिनु भएको छ,’ उनले भने । ती नेताका अनुसार एमसीसीको पक्षमा उभिन नसक्ने भए एमसीसी पास गर्ने दिन संसदमा उपस्थित नहुन प्रचण्डलाई देउवाले पहिलो विकल्प दिएका छन् ।
यस्तै एमसीसीको विपक्षमा मतदान गर्ने भए पनि संसदमा उपस्थिति भएर विपक्षमा मतदान गर्न प्रचण्डलाई देउवाले दिएको दोस्रो विकल्प छ । एमसीसी टेबल गर्दा सरकार छाड्नुपर्ने अवस्था हो भने सत्ता छोडेर जाने भएपनि जान देउवाले तेस्रो विकल्पमा प्रचण्डसामु राखेको तीन नेताले सुनाए ।
बिहीबार बिहानको भेटमा पनि देउवा र प्रचण्डबीच एमसीसीबारे थप छलफल भएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । ‘प्रचण्डले संसदमा टेबल गर्न दिने कुरामा सहमति जानुहुन्छ कि भन्ने प्रधानमन्त्रीजीमा अझै आशा छ,’ काँग्रेसका एक नेताले भने, ‘आज साँझ बस्ने बैठक हेरौं । त्यसपछि विभिन्न विकल्पमा राति नै छलफल अगाडि बढ्छ ।’