ललितपुर, २४ असार । नोभेल कोरोना भाइरसका २५५ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २५५ संक्रमित थपिएका हुन् । मंगलबार देशभर २०४ कोरोना भाइरस संक्रमित फेला परेका थिए ।त्यस्तै काठमाडौंमा १६ जना र ललितपुरमा ७ जना थपिएका छन् ।
कुल कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ । देशभरका ७७ वटै जिल्लामा कोरोना भारसको संक्रमण फैलिएको छ । हालसम्म देशभरबाट ७ हजार ७५२ जनाको उपचारपछि डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा २५३ कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।
पीसीआर परीक्षणको दर हेर्दा नेपाल अफगानिस्तान, बंगलादेश, पाकिस्तान, श्रीलंका र भारतभन्दा अगाडि रहेको छ । कोरोना संक्रमणबाट प्रत्येक १० लाखमा हुने मृत्युदर पनि नेपालमा बंगलादेश, भारत, अफगानिस्तान, श्रीलंकाभन्दा कम रहेको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हालसम्म ४७ दशमलव २ प्रतिशत संक्रमितको संक्रमणमुक्त भएर घर फर्किएका छन् । हालसम्म देशभरका क्वरेन्टिनमा २५ हजार २० जना रहेका छन् भने ८ हजार ६३६ जना कोरोना संक्रमित आइसोलेसनमा छन् ।
हालसम्म देशभर दुई लाख ६१ हजार ८६१ जनाको पीसीआर परीक्षण गरिएको छ । त्यसैगरी तीन लाख १२ हजार ४०२ जनाको आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ६९६ पीसीआर परीक्षण गरिएको छ ।